२०७७ आश्विन १२, सोमबार
Close
रेडियो झापा 100.7 MHz. शनिबार, माघ १८, २०७६    ५:०२:४०

प्रदेश १ मा छोटो एवं मध्यम दूरीमा सञ्चालनमा रहेका सार्वजनिक यात्रुबहाक सवारी साधनमा ‘टाइम कार्ड’ सिस्टम लागू गरिएको छ । झापा, मोरङ र सुनसरीका राजमार्गलाई लक्षित गर्दै तीव्र गति रोक्न र दुर्घटना न्यूनीकरणको मुख्य उदेश्य राखेर यातायात व्यवसायीसँगकै समन्वयमा ट्राफिक प्रहरीले पहिलो पटक तराईका तीन जिल्लामा एकै पटक ‘टाइम कार्ड’ प्रणाली लागू गरेको हो । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाको काँकडभिट्टादेखि सुनसरीको कोशी व्यारेजसम्म र कोशी राजमार्ग अन्तर्गत विराटनगरदेखि धरानसम्म गुड्ने सार्वजनिक यात्रुबहाक सवारी साधनले यो नियम मान्नु पर्ने छ ।

प्रदेश १ प्रहरी प्रमुख डीआईजी ठाकुरप्रसाद ज्ञवालीले मोरङको सुन्दरहरैंचा नगरपालिका–७ गछियामा औपचारिक रुपमा यसको शुभारम्भ गरे । प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी भीमबहादुर दाहालले विशेष गरेर सबै भन्दा बढी दुर्घटना भएको पाइएपछि राजमार्ग केन्द्रीत गरेर नयाँ निमय लगाइएको बताए । प्रदेश १ मा चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा भएका चार सय ४७ वटा दुर्घटनामा एक सय ७७ जनाको मृत्यु भएको छ । त्यस मध्ये एक सय नौ जनाको मृत्यु राजमार्गमा भएको दुर्घटनाबाट भएको एसपी दाहालले बताए । उनकाअनुसार बढ्दो दुर्घटना, सवारी साधनको तीव्र गति र राजमार्गको अस्तव्यस्ततालाई नियमन गर्न तथा अनुशासीत बनाउन ‘टाइम कार्ड’ प्रणाली प्रभावकारी बन्ने अपेक्षा गरिएको छ ।

यात्रु उठाउन होडबाजी र अस्वस्थ्य प्रतिस्पर्धा गर्दै राजमार्गमा सवारी साधन तीव्र गतिमा कुदाइँदा दुर्घटना बढिरहेको पाइयो,’ दाहालले भने, ‘एकले अर्कोलाई उछिन्न र तीव्र गतिमा कुदाउन नपाइने नियमको अब कडाईका साथ अनुगमन गरेर कारबाही अघि बढाइने छ ।’ यात्रु चढाउने होडबाजीका कारण एक सवारीले अर्कोलाई ‘ओभरटेक’ गर्दा र तीव्र गतिमा सवारी साधन कुदाउँदा सडकमा दुर्घटना धेरै भइरहेको उनले बताए । किलोमिटरको आधारमा ‘टाइम कार्ड’ लागू गरिएसँगै अब ट्राफिक प्रहरीले तोकेको र कार्डमा उल्लेख भएको समयमा यात्रुबहाक सवारी साधन गन्तब्यमा पुग्नु पर्ने हुन्छ । तोकेको समय भन्दा अगाडि नै पुग्नेले कारवाहीको भागिदार बन्नु पर्ने दाहालले बताए । उनकाअनुसार अबको एक सातासम्म यस विषयमा चालकलाई विशेष प्रशिक्षण दिने र जानकारी गराउने कार्यक्रम छ ।

पहिलो पटक सम्झाई बुझाई गरिने र दोस्रो पटक पनि तोकेको समय भन्दा छिटो पुगेमा एक हजार पाँच सय रुपैयाँसम्म जरिवाना गरिने एसपी दाहालले बताए । पटक–पटक दोहो¥या थप कारबाही हुने छ । विशेष गरेर यो नियम कार्यान्वयन भए नभएको बारेमा कडाईका साथ अनुगमन गर्न ट्राफिक प्रहरी परिचालन गरेर १३ ठाउँमा टाइमकार्ड चेकजाँच स्थल स्थापना गरिएको छ । झापाको काँकडभिट्टा, बिर्तामोड, दमक, ताराबारी, मोरङको बेलबारी, गछिया, कंचनबारी, विराटनगर बसपार्क, सुनसरीस्थित धरानको तीनकुने, इटहरीको कलंकी मोड, पकली, कोसी कटान र भण्टाबारीलाई चेकजाँच स्थल कायम गरिएको र यी स्थानबाट नियमित चेकजाँच हुने जानकारी एसपी दाहालले दिए ।

उनकाअनुसार ‘टाइम कार्ड’ लागू भएका सवारी साधनले एक किलोमिटर दूरी पार गर्न अब न्यूनतम एक मिनेट ४८ सेकेन्ड समय लगाउनु पर्नेछ । यही अनुपातलाई आधार मानेर काँकडभिट्टाबाट बिर्तामोडसम्म पुग्न आधा घण्टा समय छुट्याइएको उनले बताए । यस अघि तीव्र गति, यात्रु उठाउने होड र अस्वस्थ्य प्रतिस्पर्धाका कारण एक किलोमिटर दूरी पार गर्न एक मिनेट पनि नलगाउने गरेको ट्राफिकको अध्ययनले देखाएको छ । सबै सवारीका साधनका चालकका हातमा थमाइएको ‘टाइम कार्ड’ हेण्डबुक आकारको छ । चालकले प्रत्येक चेक प्वाइन्टमा गाडी रोकेर उक्त हेण्डबुकमा आफ्नो समय दर्ता गराउनु पर्ने प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका डीएसपी लक्ष्मीराज अधिकारीले बताए । ‘एउटा ‘टाईम कार्ड’ बुक एक जना चालकले १२ दिनसम्म प्रयोग गर्न सक्छन्,’ अधिकारीले भने, ‘त्यो भरिएपछि हेण्डबुक आकारको नयाँ ‘टाईम कार्ड’को व्यवस्था गरिने छ ।’

ट्राफिक प्रहरीले ‘टाइम कार्ड’मा छुटेको स्थान, पुग्ने स्थान, पुगेको समय र दस्तखत र छापसमेत लगाउने मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक रोकशकुमार पोदारले बताए । उनले नियम अनुसार सवारी साधन चलेनचलेको चेकजाँच गर्न ट्राफिकको विशेष टोली रहने बताए । सुनौलो पूर्व नेपाल यातायात प्राली विराटनगरका कोषाध्यक्ष राजु धमलाले ट्राफिक प्रहरीसँग समन्वय गरेर लागू गरिएको ‘टाईम कार्ड’ले तीव्र गति र राजमार्गमा बढ्दो सवारी दुर्घटना न्यूनीकरणमा मद्धत पुग्ने अपेक्षा गरिएको बताए । ‘दुर्घटनाका विषयमा यातायात व्यवसायी पनि चिन्तित थिए,’ उनले भने, ‘त्यही भएर दुर्घटनाबाट हुने मानविय एवं भौतिक क्षति न्यूनीकरण गर्ने उपाय अबलम्बन गरिएको हो ।’

टिपर आतंक रोक्नलाई २०७५ चैतबाट टिपरमा पनि ‘टाइम कार्ड’ लागू गरिएको थियो । टिपरमा प्रभावकारी बनेपछि ‘टाइम कार्ड’ सार्वजनिक यात्रुबहाक सवारी साधनमा पनि लगाइएको एसपी दाहालले बताए । प्रदेश १ मा बस, मिनी बस र माइक्रो गरेर छ हजारको हाराहारीमा सार्वजनिक यात्रुबहाक सवारी साधन रहेको ट्राफिक प्रहरीले जनाएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com