२०७७ कार्तिक ०८, शनिबार
Close
गोठगाउँमा आइसोलेसन वार्ड तयार

आइसीयु र भेन्टिलेटरका लागि पहल गरिने

खेमचन्द्र अधिकारी आइतबार, चैत्र ०९, २०७६    १७:०२:०८

विराटचोकः कोरोनाको सङ्क्रमण विश्वव्यापी रुपमा फैलिइरहेको हुनाले नेपालमा पनि सङ्क्रमण फैलिए उपचारमा सहज होस् भनी मोरङको सुन्दरहरैंचा नगरपालिकाको गोठगाउँमा आइसोलेसन वार्ड तयार गरिएको छ ।
पूर्वाञ्चल विश्वविद्यालयको गोठगाउँमा रहेको शिक्षण अस्पतालमा १८ बेडको आइसोलेसन वार्ड तयार भएको हो । सो आइसोलेसन वार्डमा ४५ जना जनशक्ति परिचालन हुने अस्पतालका निर्देशक डा. विपेश आचार्यले बताए ।


सो आइसोलेसन वार्डको आइतबार सुन्दरहरैंचा नगरपालिकाका मेयर शिवप्रसाद ढकाल, उपमेयर धनमाया तामाङ, निमित्त कार्यकारी अधिकृत दामोदर चापागाईं, वडा नम्बर ७ का अध्यक्ष चैतन्यप्रसाद सिटौला, सुरक्षाकर्मी तथा पत्रकारले अनुगमन गरेका थिए । जनप्रतिनिधि, सुरक्षाकर्मी र सञ्चारकर्मीलाई आइसोलेसन वार्डको तयारीको बारेमा जानकारी दिन कार्यक्रम आयोजना गरिएको आचार्यले बताए ।
अस्पतालले निर्माण गरेको नवनिर्मित ओपिडी भवनलाई आइसोलेसनको रुपमा प्रयोग गर्न लागिएको हो । सो भवनमा एक जना बिरामीका लागि एउटामात्रै कोठा प्रयोग हुने गरी आइसोलेसन वार्ड बनाउन लागिएको र आइतबारसम्ममा सबै तयारी सकिने आचार्यले बताए । त्यस्तै, थप सङ्क्रमितका लागि एउटै हलमा सरकारी मापदण्ड पूरा गरी आइसोलेसन बेड बनाउन सकिने पनि उनले बताए ।
थप जनशक्ति तथा उपकरण उपलब्ध भएमा आइसीयु र भेन्टिलेटर पनि सञ्चालन गर्न सकिने बताइएको छ । ‘हामी आईसियु र भेन्टिलेटरसहितको उपचार पनि दिन सक्छौं’, निर्देशक डा. आचार्यले भने, ‘तर त्यसका लागि दक्ष जनशक्ति र उपकरण भने अहिले हामीसँग उपलब्ध छैन ।’ सरकारले जनशक्ति र उपकरण उपलब्ध गराएमा सो सेवा पनि उपलब्ध हुने उनले प्रष्ट्याए ।


पूर्वाञ्चल विश्वविद्यालयका डिन डा. शैलेषमणि पोखरेलले अस्पतालमा आउने बिरामीको यात्राको अवस्थाको बारेमा जानकारी लिएर आइसोलेसनमा राखिने बताए । ‘हामी बिरामीको ट्राभल हिस्ट्री हेर्छौं । स्थानीयभन्दा बाहिरी देशबाट आएको व्यक्तिमा सङ्क्रमणको बढी सम्भावना भएकाले ट्राभल हिस्ट्री हेर्न लागिएको हो’, उनले भने, ‘त्यसपछि उच्च ज्वरो, सुख्खा खोकी र श्वासप्रश्वासमा भएको समस्यालाई आधार मानी आइसोलेसनमा राख्ने कि नराख्ने भन्ने निर्णय हुन्छ ।’
कार्यक्रममा सुन्दरहरैंचा नगरपालिकाका मेयर शिवप्रसाद ढकालले भौतिक पूर्वाधार, उपकरण तथा जनशक्ति थप्न नगरपालिकाले सहयोग गर्ने बताए । ‘भौतिक संरचना निर्माण, आवश्यक उपकरण खरीद तथा जनशक्तिको परिचालनमा नगरले सक्दो सहयोग गर्नेछ,’ मेयर ढकालले भने, ‘नगरपालिका र विश्वविद्यालयको आपसी समन्वयमा आइसोलेसन सेवा सञ्चालन हुनेछ ।’ आईसीयु र भेन्टिलेटरका लागि चाहिने आवश्यक सामग्री खरीदका लागि आवश्यक प्रक्रिया अघि बढाउन र सहयोग गर्न नगर सधैँ तत्पर हुने उनको भनाइ थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com