२०७७ कार्तिक ०८, शनिबार
Close
रेडियो झापा 100.7 MHz. बुधबार, साउन १४, २०७७    ८:१७:२७

प्रदीप नेपाल

मैले कहिल्यै बाह्मणवाद भन्ने शब्दलाई मन पराइनँ । यद्यपि म कहिल्यै बाहुन पनि रहिनँ । बाहुनको पुत्र हुनुबाहेक मेरो केही पनि आचरण बाहुनसँग मिलेन । मेरो न्वारान भयो जो सबै जातिको हुन्छ तर मेरो व्रतबन्ध पनि भएन । व्रतबन्ध, जनै लगाउने र चुल्होमा चढ्ने अधिकार हो । ब्राह्मण हुनका लागि यी अनिवार्य शर्त हुन् । बाँकी रह्यो बिहे । बिहेले त मलाई किराँती पो बनाइदियो । तपाईंहरू सबैलाई थाहै होला, बाहुनको छोराले जुन जातकी छोरी बिहे गर्छ ऊ स्वतः त्यही जातमा झरिहाल्छ । विजातीय कन्या बिहे गर्ने ब्राह्मणपुत्रले पत्नीलाई तानेर आफ्नो जातमा ल्याउन सक्दैन । त्यसैले मैलै धेरै पहिले लेखेको थिएँ, भविष्यमा अल्पोन्मुख जातिमा बाहुन जाति पर्नेछ ।
कार्लमाक्र्सतिर जान्नँ म अब । नेपालको माक्र्सवाद भनेकै जनताको बहुदलीय जनवाद हो । किनभने बहुदलीय जनवादले मात्रै स्वतन्त्रतासम्बन्धी माक्र्सीय मान्यताको प्रतिनिधित्व गर्न सकेको छ । माक्र्सवाद–लेनिनवाद भन्नु गलत हो । यी दुईले बिल्कुल विरोधी दिशाको प्रतिनिधित्व गर्दछन् । माक्र्सवादले सार्वत्रिक स्वतन्त्रताको माग गर्दछ भने लेनिनवादले सर्वहारा वर्गको अधिनायकत्वको पक्षपोषण गर्छ । कम्युनिस्ट पार्टी पुँजीवादीभन्दा हरक्षेत्रमा अगुवा भएन भने नागरिकले किन पुँजीवादलाई नमस्ते भनेर बिदा दिन्छन् ? नामको मात्र भए पनि पुँजीवादले प्रजातन्त्रको भ्रम त दिएको छ । माक्र्सवादले त्योभन्दा माथिल्लो अवस्थाको वास्तविक प्रजातन्त्र दिनुपर्छ भन्ने मान्यता राख्छ ।
माक्र्सवाद जनताको राजनीतिक, सामाजिक, आर्थिक उत्थानको पक्षमा हुन्छ । माक्र्सवाद–लेनिनवाद मान्नेहरू मनोकेन्द्रित हुन्छन् । जनता, उनीहरूका लागि भोटे राजनीतिका प्रतिनिधि मात्र हुन्छन् । भोटे राजनीतिमा साना मान्छे ठूला हुन्छन्, ठूला र ज्ञानी मानिस साना हुन्छन् । भोटे राजनीतिमा सधैँ अल्पमतको शासन हुन्छ र बहुमत शासित भएर पेलिन्छ । आक्कलझुक्कल दुईतिहाइ हुन्छ । अहिले तपाईंहरू त्यो दुईतिहाइको नौटङ्की पनि हेरिरहनुभएको छ । जनताले दिएको दुईतिहाइलाई एक दर्जन नेताले समाप्त गर्ने तयारी गरिरहेका छन् । यस्तो पनि राजनीति हुन्छ ? छ्या !
अहिले मेरो निष्कर्ष हो– ब्राह्मणवाद भनेको सामन्तवादको फोहोरी अनुहार भएको सन्तान रहेछ । र, मेरो विश्वास के बनेको छ भने ब्राह्मणवाद भनेको बाहुनवाद होइन रहेछ । जो जो सामन्तवादका पक्षधर छन्, तिनीहरू सबै ब्राह्मणवादी हुँदारहेछन् । यो गाली पूजापाठ गरी बस्ने बाहुनलाई होइन, आफूलाई सबैभन्दा उच्च ठान्ने कुलीनतन्त्रलाई भनिँदोरहेछ ।
त्यसैले ब्राह्मणवाद बाँचुञ्जेलसम्म नेपालमा समाजवादको त कल्पनै नगरौँ, पुँजीवाद पनि नआउने रहेछ । हजारौँ कार्यकर्ता, लाखौँ शुभचिन्तक पिरिएर के हुँदोरहेछ र ! ब्राह्मणवादी मानिसहरू कम्युनिस्ट पार्टीको नेता भएपछि ‘सामन्तवाद, साम्राज्यवाद – मुर्दावाद’ भन्ने नाराको औचित्य नै सकिँदोरहेछ ।
साथीहरू समाजवादको सपनाबाट बाहिर निस्कनुस् । उसै पनि हामी नेपाली, नेपालबाहिर गर्वका साथ शौचालय सफा गर्ने तर नेपालभित्र गोबर छुन लाज वा घीन मान्ने प्राणी हौँ । कृषिकर्म हाम्रो नेपालमा तुच्छ व्यवसाय हो तर पनि नेपाल कृषिप्रधान देश हो रे ! दक्षिण एसियामा सबैभन्दा कम राष्ट्रिय आय भएको देशमा सात सय सांसद, नौमहिने, सातमहिने मन्त्री र प्रधानमन्त्री, सबै सांसदलाई चार करोड रुपियाँभन्दा मनखुसी खर्च गर्ने सुविधा ! यस्तो पनि हुन्छ समाजवाद उन्मुख प्रजातन्त्र ? यो त बलियो उदारवादको नेपाली सन्तान मात्र हो ।
नेपालमा वास्तविक प्रजातन्त्र आउन मात्रै इमानदार जनता, नेता, प्रशासक, मन्त्री, न्यायाधीश जन्मिनुपर्छ । नेता मात्र इमानदार भएर हुँदैन मत हाल्ने नागरिक पनि इमानदार हुनुपर्छ । अर्थात् आजका मानिसहरूको सत्ता रहुञ्जेल समाजवाद केवल सपना मात्र हुनेछ । अहिले सब कुरा बिकाउ छ नेपालमा । मान्छे, कर्मचारी, प्रधानमन्त्री, अभियोग लागे पनि सत्य के हो भने, अदालत, स्वास्थ र शिक्षा सबैको दाम छ यहाँ । सबैभन्दा फोहोर त के छ भने माक्र्सवाद नपढेका मान्छे कम्युनिस्ट पार्टीका नेता छन् । कुन स्कुलको दाम कति हो सोध्नुपर्छ । अस्पतालमा रोग होइन, पैसाको एक्सरे हुन्छ । ठूला उद्योगी व्यवसायी कर छल्छन् । राजनीति गर्नेहरू निष्ठालाई नोटको गड्डीमा बेच्छन् ।
अनि कुरो चाहिँ समाजवादी प्रजातन्त्रको ! सङ्घीय लोकतान्त्रिक गणतन्त्रको ! अध्ययनशीलहरूका लागि लाजको पसारो ।
साँच्चै राजनीति गर्ने हो भने सबैभन्दा पहिले आफूप्रति इमानदार हुनुुस् । पुँजीवादभित्रै पनि इमानदारहरू छन् । राष्ट्रपति इभो मोरालेस आफ्नो पुरानो घरमा बसेर क्रान्तिले ध्वस्त बनाएको पेरुमा शासन गर्छन् । नेदरल्यान्डका प्रधानमन्त्री साइकलमा अफिस आवतजावत गर्छन् । फिनल्यान्डकी शिक्षामन्त्रीलाई मैले साइकलमै भेटेको हुँ । पछिल्लो समयमा बाराक ओबामा नायक भएका छन् जनताको जीवन बिताउने कुरामा । नेपाल गरिबबाट एक डिल माथि उक्लियो रे अन्तर्राष्ट्रिय संस्थाहरूको मूल्याङ्कनमा । त्यस्तो कसरी हुनसक्छ ? मान्छे खान नपाएर मरिरहेकै छन् । सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीको खुट्टामा जुत्ता छैन । यथार्थ के हो भने करोडपति अर्बपति भएका छन् । अर्बपतिहरू खर्बपति हुने दौडमा लागेका छन् । जनता गरिबीबाट एक डिल माथि होइन, एक डिल तल झरेका छन् । नोकरशाह र दलाल पुँजीपतिको समूह एक होइन, एकैपटक दुई डिलमाथि उक्लिएको छ । कम्युनिस्ट पार्टीको शासन भएको मुलुक भए पनि नेपालको वास्तविक सत्ता दलाल नोकरशाहको नियन्त्रणमा छ ।
धनीले किन राजनीति गर्दैनन् नेपालमा ? किनभने सत्ता उसैको दैलामा उभिइरहेको हुन्छ हात पसारेर । केही पैसा राज्य सञ्चालकहरूतिर फ्यालेर सत्ताको सर्वोच्च आसनमा बसेर अथवा नेपाल सरकारको टाउकोमा टेकेर मस्ती गर्न पाइन्छ भने किन खर्च गरीगरी पार्टी बनाउने ? किन केही मान्छेलाई पारिश्रमिक दिएर वर्ष दिन पाल्ने ?
नेपालको मध्यमवर्ग सबैभन्दा गएगुज्रेको छ । अवसरवादको नमुना । रातैपिच्छे पार्टी फेर्ने महामहिमहरू मन्त्रीभन्दा तलको जागिर खान मान्दैनन् । तपाईंहरू आफैँ खोज्नुहोस्, बग्रेल्ती पाइन्छन् । आजको काँग्रेस भोलिको कम्युनिस्ट, आजको कम्युनिस्ट भोलिको मधेसवादी । पर्सि त्यही व्यक्ति राजावादी । अनि निकोर्सि लाजै नमानी काँग्रेस या कम्युनिस्ट ! यस्तो पनि हुन्छ सङ्घीय लोकतान्त्रिक प्रणालीमा ? कम्तीमा मध्यमवर्गको मानिसले त सिद्धान्त पढेको हुनुपर्छ नि ! पदको लोभमा आफ्नो सिद्धान्त छाडेर अर्को पार्टीमा हामफाल्ने मान्छेले कसरी जनताको सेवा गर्छ ? पार्टी त उसको निजी लाभका लागि मात्रै हुन्छ ।
जबसम्म नेपालको राजनीति मध्यमवर्गीय बुद्धिजीवीको नियन्त्रणमा हुन्छ, आधारभूत रूपमा त्यो ब्राह्मणवादी हुन्छ । अरू सबै उसको कृपामा बस्नुपर्ने हुन्छ । ब्राह्मणवादको सुन्दर चित्रण कविशिरोमणि लेखनाथ पौड्यालले सुन्दर शब्दमा यसरी गर्नुभएको छ यसरी– धनको पछि लाग्ने मानिसहरूको ताल देखेर ‘चिता खित्का छोडी अभयसित हाँस्यो मरीमरी’ ! अहिलेका नेपालका सबै पार्टीका नेताहरूको हालत ठ्याक्कै यस्तै छ । गणतन्त्र उनीहरूलाई, उनीहरूका भाइ भैयाद, ज्वाइँ छोरा,छोरीलाई आएको छ । उनीहरूको जीवनमा पनि क्रान्तिकारी छलाङ आएको छ तर जनताले कुनै सम्मानको जीवन पाएका छैनन् ।
४० वर्ष पहिले गाउने गरेको गीत– मानिस छुत र अछुत हुन्छ म मान्दै मान्दिनँ …।
उहिले सामन्तवादको बिगबिगी रहेको समानताको गीत अहिले ५० वर्षपछिको लोकतान्त्रिक गणतन्त्रमा पनि सान्दर्भिक हुन्छ भने सत्ता परिवर्तन हुुनुको के अर्थ रहन्छ ? उहिले नेकपा (माले) मा कम्तीमा पनि वर्षको एकपटक आफ्नो वर्गविश्लेषण गथ्र्याैं र जनताबाट फरक नहुन आफ्नो लवाइखुवाइ उनीहरूकै जस्तो हुनुपर्छ भन्थ्यौँ । डी क्लास (तल्लो वर्गमा झर्न पाउनु) हुने कुरामा हामी खुसी हुन्थ्यौं । त्यतिबेलाको एउटा महत्वपूर्ण तह अहिले ब्राह्मणवादी भएको छ । राजनीतिको टाउकामा बसेको त्यो ब्राह्मणवादलाई डी क्लास नगरुन्जेल हामीले समाजवादको चर्चा नगरे हुन्छ ।

स्रोत: गोर्खापत्र

(लेखक नेकपाका नेता हुनुहुन्छ ।)

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: radiojhapaa@gmail.com
Address: Damak -11 Jhapa
Website: http://www.radiojhapa.com