१७ साउन,दमक/१४ औं महाधिवेशनको तयारीमा रहेको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको महाधिवेशनको रापले स्थानीयस्तरमा पनि प्रभाव पार्न थालेको छ ।
कांग्रेसको आगामी गाउँ/नगर अधिवेशन, क्षेत्रीय अधिवेशन जिल्ला अधिवेशन र प्रदेशको अधिवेशन चरणबद्ध रुपमा हुँदै यहि फागुनमा केन्द्रिय महाधिवेशन हुने कार्यतालिका प्रकाशित भएसंगै स्थानीयस्तरमा समेत कांग्रेस भित्र गुटबन्दी शुरु भएको छ ।
दमक नगरमा एकै गुट भित्र पनि उपगुटहरु रहेको संकेत देखिएको छ । विशेष रुपमा कांग्रेस दमकको नेतृत्वका लागि विभिन्न गुट सिर्जना भएका कार्यकर्ताहरुमाझ सन्देश गएको छ ।
हाल कांग्रेसको नेतृत्वमा रहेको कृष्ण प्रसाद सिटौला गुट भित्र अर्को उपगुट सिर्जना भएको महसुस कार्यकर्ताहरुले गरिरहेका छन् । यस अघिको अधिवेशनमा सिटौला समुहले कांग्रेस दमकको सभापति, सचिव सहित अधिकांश पद जितेको थियो । अहिले सोही समुह अर्को उपसमुहमा देखिएको छ ।
कांग्रेस दमक नगर सभापतिमा निर्वाचित भएका रोशन विष्ट र सचिवमा निर्वाचित प्रकाश प्रसाइँ दुवै जना आगामी अधिवेशनमा सभापतिका दाबेदारका रुपमा उभिएका छन भने विष्टसंग चुनावी प्रतिस्पर्धाको सामना गरेका पर्शुराम रिजालले पनि सभापतिका लागि आफ्ना नेता कार्यकर्ता तथा शुुभचिन्तकहरुमाझ दाबी पेश गरिरहेका छन् । रिजाललाई यस अघि पार्टी सभापति शेरबहादुर देउवा पक्षका उम्मेद्वारका रुपमा हेरिएको थियो ।
यसपटक पनि उनको सक्रियतासंगै सभापतिमा उनलाई बलियो उम्मेद्वारका रुपमा हेरिन थालेको छ । अघिल्लो अधिवेशनमा सिटौला समुहमा रहेर निर्वाचित भएका सभापति विष्ट र सचिव प्रसाइँ दुवै जनाले सभापतिमा यसपटक दाबी गरेपछि सो समुहमा फुट सिर्जना भई सिटौला गुटको उपगुट समेत भएको विश्लेषण गरिएको छ । विष्टलाई नगरमा पार्टीको स्तर बढाउनुको सट्टा घटाएको आरोप छ भने प्रसाइँ दमकमा स्थानीय व्यवसायीहरुमाझ लोकप्रिय पात्र हुन । पार्टी भित्र भन्दा पनि बाहिर हुने अन्य निर्वाचनका मामिलामा उनलाई अनुभवी र निर्णायक व्यक्तित्वका रुपमा चिनिन्छ ।
यि गुट र उपगुटका बीचमा कांग्रेसका बैचारिक कार्यकर्ताका रुपमा चिनिएका श्याम आचार्यले पनि गुटबन्दी अन्त्यका लागि भन्दै मध्यमार्गी समुह निर्माण गर्दै आफ्नो उम्मेद्वारीको दाबी कार्यकर्ताहरु माझ पेश गरिरहेका छन् ।