१९ साउन,दमक/ झापाको दमकमा कोरोना परिक्षणको दायरा बढाइएको छ । यस अघि सम्म क्वारेन्टीनमा रहेकाहरुको मात्रै स्वाव संकलन गरेर पीसिआर बिधिबाट परिक्षण गरिँदै आएकोमा पछिल्लो पटक अग्रभागमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी, एम्बुलेन्स चालक , संक्रमितको कन्ट्रयाक ट्रेसिङमा परेका समुदायका अन्य सर्वसाधारणको समेत स्वाव संकलन गरी परिक्षणका लागि पठाइएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश तिम्सिनाले जानकारी दिए । उनले हाल सम्म ९४२ जनाको पीसिआर परिक्षण गरिएको बताए ।
तिम्सिनाले भने– हामी परिक्षणको दायरा अझै बढाउँदैछौं, हिजोमात्रै पनि बैठक बसेर परिक्षणको दायरा बढाउनेदेखि बजारमा निगरानी बढाएर सतर्कताका लागि आवश्यक थप सक्रिय भुमिका निभाउने हामीले निर्णय लिएका छौं ।
पछिल्लो पटक भारतबाट भर्खरै आएकी दमक क्याम्पसमोडकी एक महिलामा कोरोना पोजिटिभ देखिएपछि दमकमा सन्त्रास बढेको थियो । उनमा कोरोना पोजिटिभ देखिएपछि उनको सम्पर्कमा रहेका अन्य सर्वसाधारणको समेत नमुना संकलन गरेर परिक्षणका लागि पठाइएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
दमक नगरपालिकाको स्वास्थ्य शाखाका कर्मचारी तथा क्वारेन्टीन व्यवस्थापन समिति सदस्य समेत रहेका कुवेर भट्टराईका अनुसार पछिल्लो समय पीसिआर परिक्षणका लागि ६३ जनाको नमुना संकलन गरि पठाइएकोमा भोली सम्ममा सबैको रिपोर्ट आईसक्ने अनुमान गरिएको छ ।
अहिले सम्म दमकमा १२ जनामा कोरोना संक्रमण पुष्टि भईसकेको भट्टराईले जनाए । ति मध्ये ५ जना महिला छन् । दमकमा महिला पुरुषका लागि अलग अलग क्वारेन्टीनको व्यवस्था गरिएको नगर उपप्रमुख गीता अधिकारीले जनाएकी छिन् । दमकमा सबैभन्दा पहिला महिला र पुरुषका लागि अलग अलग क्वारेन्टीन व्यवस्थापन गरिएको हो । अहिले दमकको निर्माणाधिन विज्ञान पार्कमा राखिएको क्वारेन्टीमा ३ महिला छन् । भने दाहाल प्रतिष्ठानमा रहेको क्वारेन्टीनमा २० पुरुष छन् । त्यस्तै होटल क्वारेन्टीननमा एक महिला र ८ पुरुष छन् ।
अहिले सम्म पीसिआर गरिएका महिलाको संख्या २७७ र पुरुष ६६५ जना रहेका छन् । संक्रमण पुष्टि भएका १२ मध्ये १० जना उपचारपछि घर फर्किएका र अन्य २ जना समेत एक÷ दुई दिन भित्रैमा पूर्ण उपचार पछि घर फर्किने अवस्थामा रहेका बताइएको छ ।