२१ साउन, दमक/ समुदायमै कोरोना संक्रमण फैलिएपछि सुनसरी जिल्ला सुरक्षा समितिको आज बसेको बैठकले पाँच दिन सम्म जिल्ला भर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ ।
प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको केहिबेर अघि बसेको बैठकको निर्णय अनुसार आज मध्यराती १२ बजेदेखि श्रावण २६ गते सम्म जिल्लामा निषेधाज्ञा जारी हुनेछ । निषेधाज्ञा जारी भएको अवस्थामा तोकिएको क्षेत्रमा मानिसहरुको आवागमनमा पूर्णतया रोक लाग्ने गर्छ ।
सुनसरीको इटहरी, इनरुवा, बराहक्षेत्र लगायतका ठाउँमा कोरोना परिक्षणका लागि स्वाव संकलन गरी परिक्षण गर्दा आज पोजिटिभ नतिजा देखिएकाले उच्च सावधानी अपनाउँदै सुरक्षा समितिको बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको जिल्ला प्रहरी प्रमुख एसपी कमल थापाले जानकारी दिए । संक्रमक रोग ऐन २०२० बमोजिम जिल्लाभर मानिसको आवागमन नियन्त्रण गर्न निषेधित क्षेत्र घोषणा गर्ने निर्णय गरिएको जनाइएको छ ।