०२भदौ,दमक/ झापाको दमकमा आज थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा सबै पुरुष छन् ।
दमकस्थित दाहाल प्रतिष्ठानमा रहेको क्वारेन्टाइनमा बस्दै आएका ४ जना र समुदायमा रहेका ३ जनामा संक्रमण पुष्टि भएको नगरपालिकाका स्वास्थ्य कर्मचारी तथा क्वारेन्टाइन व्यवस्थापन समितिका सदस्य कुबेर भट्टराईले जानकारी दिए ।
ट्राभल हिष्ट्री नभएका दमक ५ का पुरुषमा समेत संक्रमण देखिएको बताइएको छ । उनीहरुको स्वाव गत साउन ३० गते संकलन गरेर पठाइएको थियो । यसअघि हिजो दमकमा ६ र त्यस अघि ७ जनामा एकैपटक संक्रमण देखिएपछि दमकबासी चिन्तित बन्दै आएका छन् । यससंगै दमकमा संक्रमितको संख्या २८ पुगेको छ भने १४ जना उपचार पछि निको भएर घर फर्किएका छन् ।
समुदायमा संक्रमण फैलिएपछि नगरपालिकाले ६ भदौ सम्मका लागि लकडाउन घोषणा गरेको छ । संक्रमण बढ्दै गएकाले लकडाउन थप लम्बिन सक्ने अनुमान गरिएको छ ।