त्रिभुवन विश्वविद्यालय (त्रिवि) वार्ता समिति र आन्दोलनरत नेपाल विद्यार्थी संघ त्रिवी समिति बीच २३ बुँदे सहमति भएको छ ।
त्रिवि वार्ता समितिका तर्फबाट गंगाबहादुर मगर र नेविसंघका तर्फबाट सम्झना केसी, जगदिश भट्ट, हरि आचार्य र श्याम चन्द्र अधिकारी बीच विहीबार सहमति भएको हो ।
उनीहरुबीच कोभिड १९ का कारण स्थगित भएका त्रिवीका परीक्षाहरु आगामी मंसिर तेस्रो सातदेखि सुरु हुने गरी असोज २५ गतेभित्र परीक्षाको तालिका प्रकाशन गर्ने सहमति भएको छ ।
यस्तै टियू भिजन २०३० को कार्यान्वयनमा अग्रसरता लिँदै त्रिविका शैक्षिक प्राज्ञिक एवम् भौतिक सुरधारमा जोड दिने विषयमा पनि सहमति भएको छ ।
त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले नियम लत्याएर समाजशास्त्र केन्द्रीय विभागको प्रमुखमा सह–प्राध्यापक युवराज लुइँटेल र भाषाविज्ञान केन्द्रीय विभागमा प्रा.डा. बलराम प्रसाईंलाई गरेको नियुक्ति सच्याउन राजी भएको छ ।
यता नेविसंघ त्रिवी समितिले पनि त्रिविका पदाधिकारी निषेध लगायतका सम्पूर्ण आन्दोलन फिर्ता लिएको छ। प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको भातृ संस्था नेविसंघले पछिल्लो सयम विभिन्न माग राखेर प्रदर्शन गर्दै आएको थियो ।