०९असोज,काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले यदाकदा विद्युत् आपूर्तिमा आउने अवरोधलाई जोडेर ‘अब लोडसेडिङ हुन थाल्यो’ भन्ने जस्ता अफवाह सुनिन थालेको बताएको छ। मर्मत सम्भार गर्दा आपूर्तिमा समस्या आएको बताउँदै प्राधिकरणले लोडसेडिङ सुरु भएको कुरामा कुनै सत्यता नभएको दाबी गर्दे त्यस्तो अवस्था नरहेको व्यहोरा सरोकारवामामा अनुरोध गरेको छ ।
प्राधिकरणले भनेको छ, “प्राधिकरण आम उपभोक्तामा थप भरपर्दो र नियमित विद्युत् सेवा उपलब्ध गराउन प्रतिबद्ध छ ।” निवर्तमान प्रबन्ध निर्देशक कुलमान घिसिङ प्राधिकरणमा कार्यकाल सकेर बिदा भएसँगै समयसमयमा बत्ती जान थालेको छ । त्यसलाई प्राधिकरणमा सफल कार्यकाल सकेर बिदा भएका घिसिङसँग जोडिने गरेको छ ।
प्राधिकरणले भनेको छ, “प्रसारण एवं वितरण लाइनको सञ्चालन तथा विद्युत् आपूर्तिको निरन्तरता, विद्युत महसुल र भुक्तानी सम्बन्धमा उपभोक्ता महानुभावले हालैको समयमा देखाउनुभएको चासो र चिन्ताको सम्बन्धमा प्राधिकरण सजग छ ।” विद्युत्को प्रशारण तथा वितरण संरचना जमिनमाथि (ओभर हेड) बाट गएकाले प्रतिकूल मौसम का कारण कुनै कुनै स्थानमा विद्युतीय प्रणालीमा समस्या आउने गरेको प्रधिकरणको स्पष्टोक्ति छ ।
नियमित रुपमा गर्नुपर्ने मर्मत सम्भार तथा प्रणाली सुधारको कार्य गर्नु पर्दा विद्युत् आपूर्ति विच्छेद गर्नुपर्ने भएकाले यस्तो अवस्थामा विद्युत् आपूर्तिमा निर्धारित समयसम्म अवरुद्ध हुने प्राधिकरणले बताएको छ । उसले भनेको छ, ” यस्ता समस्याहरुको निराकरण तथा सुधार गर्दै नियमित विद्युत् आपूर्ति गर्न प्राधिकरण प्रतिबद्ध छ ।”