१३ असोज, काठमाडौं । भारतीय उद्योगी अनिल अम्बानी कुनै समय विश्वका धनी ६ व्यक्तिको सूचीमा पर्थे । तर अनिल धिरुभाइ अम्बानी ग्रुप (एडीएजी) का अध्यक्ष उनी अहिले टाट पल्टिएका छन् ।
शुक्रबार बेलायतको अदालतलाई भर्चुअल बयान दिएका उनले आफ्नो औसत सम्पत्ति शून्यमा आएको बताएका छन् ।
आफूसँग भएको सबै गहनासमेत कानुनी शुल्कको लागि बेचेको र अब एउटा कार मात्र बाँकी रहेको बताएका छन् । उनले आफू एक सरल व्यक्ति भएको पनि उल्लेख गरेका छन् ।
टाइम्स अफ इन्डियाको रिपोर्टलाई आधार मान्ने हो भने उनले सन् २०२० को जनवरीदेखि जुनसम्मको अवधिमा नौ करोड ९० लाखमा आफूसँग भएको सबै गहना बिक्री गरेका थिए । उनले सञ्चार माध्यममा आएको जस्तो आफ्नो विलासी जीवनशैली नरहेको बताए ।
तीन चिनियाँ बैंकले अम्बानीमाथि मुद्दा दायर गरेका थिए । मे २२ मा बेलायतको अदालतले अनिललाई ७१ करोड ६० लाख डलर चिनियाँ कम्पनीहरुलाई ऋण बुझाउन निर्देशन दिएको थियो । थप सात लाख ५० हजार डलर कानुनी शुल्कको रुपमा बुझाउन निर्देशन दिइएको थियो ।
आफू जमानी बसेर लिएको ऋण तिर्न नसकेपछि अनिल अम्बानीले अहिले मुद्दा खेप्नुपरेको हो । अम्बानीले भनेका छन्, ‘मेरो खर्च न्यूनतम छ र त्यो खर्च मेरी पत्नीले परिवारलाई दिँदै आएकी छन् ।’
उनले आफ्नो आम्दानीको अन्य स्रोत पनि नरहेको र अब थप खर्च बेहोर्नुपरेको खण्डमा अदालतबाट थप सम्पत्ति बिक्रीको अनुमति लिनुपर्ने अवस्था रहेको उल्लेख गरेका छन् ।