१९असोज,बिराटनगर/प्रदेश १ का मुख्यमन्त्री शेरधन राई अधिकतम सहमतिका आधारमा प्रदेशको नाम टुंगो लगाइने बताउँछन् । सरकारले सबैसँग छलफल गर्ने बताउँदै उनले संवादकै माध्ययमबाट निकास खोजिने बताए ।
‘कोरोना महामारीका कारण बजेट अधिवेशनमा नाम टुंगो लगाउन सकेनौं’ मुख्यमन्त्री राईले भने ‘नामका विषयमा पटक पटक छलफल भएका छन् । आउने अधिवेशनको सुरुवातमै नामको विषय टुंगो लाग्छ ।’
नामको विषय टुंगो लगाउन संघीय सरकारको सहयोग आवश्यक नरहेको उनले बताए । ‘संविधानले नाम र स्थायी राजधानी तोक्ने अधिकार प्रदेशलाई दिएको छ’ मुख्यमन्त्री राईले भने, ‘हामी आफैं छलफलका माध्यमबाट नामको टुंगो लगाउछौं, संघीय सरकारको सहयोग आवश्यक पर्दैन ।’ नामका विषयमा संघीय सरकारलाई प्रदेशले सहयोगका लागि अनुरोध नगरेको उनले बताए ।
प्रदेश १ को अधिवेशन अन्योलमा छ । प्रदेश सभा रहेको भवन साँघुरो भएकोले प्रदेशसभा सचिवालयले नयाँ प्रदेशसभाको अस्थायी संरचना निर्माण गर्दैछ ।
भवन नयाँ बन्ने भएका कारण तत्काल पुरानो भवनमा अधिवेशन सञ्चालनको सम्भावना छैन । पुस–माघभित्र संरचना निर्माण सम्पन्न हुने भएकाले त्यसपछि मात्रै अधिवेशन सञ्चालन हुने प्रदेशसभा स्रोत बताउँछन् ।
१ असोजमा प्रदेशसभा भवनको शिलान्यास गर्दै प्रदेश सभामुख प्रदीपकुमार भण्डारीले नयाँ भवनमा आउँदो अधिवेशन सञ्चालन हुने बताएका थिए । मुख्यमन्त्री राईले पनि अवस्था अनकुल भएपछि अधिवेशन आह्वान गरिने बताए ।