असोज २०,बुटवल/प्रदेश नम्बर ५ मा कुर्सी, टेबुल र माइक तोडफोड गरेका सांसदलाई कारवाही गर्न नेपाली कांग्रेसभित्र माग छ।
प्रदेशको स्थायी राजधानी सार्ने विषयमा सोमबारको बैठकमा नारा बाजी गर्दै रोष्टम घेराउ भइरहेका बेला कांग्रेसका तीन सांसदले कुर्सी उचालेर तोडफोड गरेका थिए।
संसदको गरिमा र मर्यादा कायम राख्न आफैं रोष्टम घेर्न पुगेका कांग्रेस सांसदले संसदीय मर्यादाविपरीत तोडफोड गरेपछि तीव्र आलोचना भइरहेको छ।
कांग्रेसले संसद तोडफोडमा उत्रिए का सांसदहरूलाई अनुशासन को कारवाही गर्ने तयारी गरेको छ। अनुशासन समिति स्रोतले दिएको जानकारीअनुसार तोडफोडमा उत्रने सांसदले संसदीय गरिमा विपरीत काम गरेकोले कारवाही गरिन्छ।
कांग्रेस सांसदहरू वसिउद्दिन खाँ, अष्टभुजा पाठक र वैजनाथ कलवारले संसद बैठक चलिरहेका बेला कुर्सी उचालेर तोडफोड गरेका थिए।
कुर्सी तोडफोड कांग्रेसको नीति र संस्कृति विपरीत रहेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए। पार्टीको संस्कृति उलंघनको स्वायत्तता कोही पनि सांसदलाई नदिइएको उनको भनाइ छ।
‘प्रदेश ५ को संसदमा तीन सांसदले गरेको कुर्सी तोडफोड नेपाली कांग्रेसको नीति र संस्कृति विपरीत छ,’ शर्माले भनेका छन्, ‘रोष्टम भाँच्नेदेखि संसदीय पद्धति नै नास्छौं भन्ने कम्युनिस्ट पार्टीहरुलाई समेत रुपान्तरण गर्ने प्रशिक्षक रहेको दलका सांसदलाई पार्टीको संस्कृति उलंघनको स्वायत्तता विल्कुलै दिइएको छैनl’
शर्माले संसदीय व्यवस्था कांग्रेसका लागि रोजाइको पद्दती भएको पनि बताएका छन्।
‘संसदीय ब्यवस्था कम्युनिष्टका लागि बाध्यताको, कांग्रेसका लागि रोजाइको पद्धति होl परिमार्जित र सुसंस्कृत बनाउँदै अघि बढ्ने कर्तव्य पनि हाम्रै हो,’ शर्माले भने, ‘अरुका गल्तीमा सच्याउँदै बढ्न प्रेरित गर्ने कांग्रेस आफ्नाको `छिटपुट´ भनेर छोप्दैन। कठोरतापूर्वक सच्याएर बढ्ने सामर्थ्य राख्नेछौं।’
कांग्रेस केन्द्रीय सदस्य गगन थापाले संसदीय मर्यादा र प्रतिष्ठाविपरीत प्रदेश ५ मा कांग्रेस सांसदबाट व्यवहार भएको बताएका छन्।
‘प्रदेश ५ को संसदभित्र प्रतिपक्षबाट भएको व्यवहार संसदीय मर्यादा र प्रतिष्ठा विपरीत छ। संसदमा आफ्नो फरक मत राख्ने र सरकारको विरोध गर्ने अनेकन तरिका छन्। यस्तो तरिका संसद भित्र पूर्णत अवाञ्छनीय छ,’ उनले भनेका छन्, ‘हामीले यो घटनामा आत्मालोचना गर्दै गल्ती गर्नेलाई कारबाही पनि गर्नै पर्छ।’
प्रतिपक्षले सरकारको जस्तोसुकै नाजायज हठका विरुद्ध आवाज उठाउन पाउने पनि थापाले बताए।
‘आवाज उठाउने तरिका संसदीय अभ्यास भित्रै छ। प्रतिपक्षको भूमिका के-कस्तो हुने भन्नेमा हामीले आफ्ना नेता कार्यकर्तालाई सिकाउन नसकेकै हो,’ थापाको भनाइ छ।
प्रतिपक्षले आवेगमा विवेक गुमाउँदा सरकारको असंसदीय तथा निन्दनीय व्यवहारका विरुद्ध बोल्ने नैतिक बल पनि गुमाउनु पर्ने थापाले बताए।
‘नत्र मन्त्रीको “घिसारेर निकालि हाल्” को प्रतिकार यति कमजोर हुँदैन थियो। आवेग र आवेशमा गरिएको व्यवहारले प्रतिपक्षकै मुद्दालाई कमजोर पार्छ भन्ने कुरा बुझौँ,’ थापाले भने।