२१ असोज, रुपन्देही । जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसदहरुले नै प्रदेश–५ को नामा करण गर्दा ‘थरुहट –अवध –मगरात’ नामको प्रस्ताव विरुद्ध मतदान गरेका छन् ।
हिजो (मंगलबार) प्रदेश–५ को नाम र राजधानीको विषयमा प्रदेश सभा मा मतदान हुँदा जसपाका ६ सांसद मध्ये दुई जनाले थरुहट –अवध –मगरातको विपक्षमा मतदान गरेका हुन् ।
८७ सांसद रहेको प्रदेशसभामा मंगलबार ८२ जना सहभागी थिए । कुर्सी टेबल तोडफोड गर्ने कांग्रेसका ५ जना सांसद कारबाहीमा परी अनुपस्थित थिए ।
प्रदेशको नाम लुम्बिनीमा ७८ मत खस्यो भने थरुहट–अवध–मगरातमा चार मत खस्यो । त्यसमा सहसराम यादव, पुरमती ढेगा, विजय यादव, सुमन रायमाझीले ‘थरुहट – अवध –मगरात’ नामको प्रस्तावमा मतदान गरे । तर जसपाकै सांसद द्धय सन्तोष पाण्डे र कल्पना पाण्डेले भने लुम्विनी प्रदेशको विपक्षमा मतदान गरे ।
उनीहरुले लुम्बिनी प्रदेशको पक्षमा मत हाले । लुम्बिनी प्रदेश महेन्द्र कालिन नाम रहेको भन्दै जसपाले पहिल्यै देखि अस्विकार गर्दै आएको थियो ।
जसपाको प्रदेश–५ को संसदीय दलको बैठकले प्रदेशको नाम ‘थरुहट–अवध–मगरात’ र राजधानी दाङको भालुवाङको पक्षमा मतदान गर्ने निर्णय गरेको थियो ।
संसदीय दलका नेता सहसराम यादवले ६ जनै सांसदहरुलाई उक्त निर्णयसहित पक्षमा मतदानका लागि पत्र नै बुझाएका थिए ।
मंगलबारको मतदानबाट प्रदेश–५ को नाम लुम्बिनी प्रदेश र राजधानी भालुवाङ कायम भएको छ । प्रदेशसभामा राजधानी भालुवाङको पक्षमा ६९ मत परेको थियो, बुटवलको पक्षमा १३ मत परेको थियो ।
जसपाका सांसदहरुले राजधानीको पक्षमा पार्टी लाइनकै प्रस्तावमा मत हाले पनि प्रदेशको नामको विषयमा भने क्रश भोट गरेका हुन् ।
क्रश भोट गर्नेमध्ये सन्तोष पाण्डे जसपाको प्रदेश ५ को प्रमुख सचेतक हुन् । उनी पूर्व ससफो हुन् । अर्की सांसद कल्पना पाण्डे पूर्व राजपा हुन् ।
प्रदेश–५ का जसपाका नेता नविन सुनुवारले यस विषयलाई लिएर आजै संसदीय दलको बैठक बस्ने बताएका छन् ।
उनले पार्टीको नीति विरुद्ध जाने सरिता गिरीलाई पार्टीले कारबाही गर्छ भने सन्तोष पाण्डे र कल्पना पाण्डेलाई किन कारबाही नगर्ने ? भनी प्रश्न गरे ।
सन्तोष पाण्डेलाई यसअघि पनि पार्टीले स्पष्टिकरण सोधिसकेको छ ।