२१असोज, झापा । पूर्व सङ्घीय समाजवादी फोरम निकट समाजवादी युवा फोरम झापा र नयाँ शक्ति निकट युवा शक्ति नेपाल झापा ले असोज २२ गते (भोली) हुने भनिएको झापा जिल्ला व्यापी मोटर साइकल र्यालीमा आफूहरु को संलग्नता नरहने जनाएको छ ।
आज दमकमा समाजवादी युवा फोरम झापा र युवा शक्ति नेपाल झापाले संयुक्त पत्रकार सम्मेलन नै गरेर युवा संगठनका नाउँमा कुनै गतिविधि नगर्न भनेको हो ।
झापा जिल्लामा युवा संगठनको समायोजन नभएको जिकिर गर्दै दुई संगठनले जारी गरेको प्रेस विग्यप्तिमा भनिएको छ–‘पार्टी मातहतका आधिकारिक युवा संगठनहरुको विधिवत समायोजन कार्य सम्पन्न नभएको अवस्थामा हाल जनता समाजवादी पार्टी निकट युवा संगठनको नाममा गलत र असांगठानिक गतिविधि भैरहेको सन्दर्भमा हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ ।’
समाजवादी युवा संघ प्रदेश–१ समितिको नाममा आफूहरु विरुद्ध अराजनीतिक र असांगठानिक विज्ञप्ति वाजीमा सत्यता नरहेको समाजवादी युवा फोरम झापा अध्यक्ष खेम दाहाल र युवा शक्ति नेपाल झापाका उपाध्यक्ष प्रज्वल भण्डारीबाट जारी संयुक्त विज्ञाप्तिमा उल्लेख गरिएको छ ।
विज्ञप्तिमा जनता समाजवादी पार्टी निकट युवा संगठनका गतिविधि गर्नु अघि पूर्व ससफो र नयाँ शक्ति निकट युवा संगठनहरु बीच विधिवत र समायोजन निर्देशिका बमोजिम संगठन समायोजन प्रकृया सम्पन्न गर्न समाजवादी युवा संघ प्रदेश समिति, केन्द्रीय समिति र पार्टी निकट समितिहरुलाई आह्वान गरिएको छ ।
यश संगै जसपा निकट युवा संगठनमा उत्पन्न विवादले केपी ओली सरकारको भ्रष्ट गतिविधि विरुद्ध जिल्लामा आह्वान गरिएको मोटरसाइकल र्याली विवादित बनेको छ ।