२३कात्तिक,कमल/समाजवादी पार्टी झापाका अध्यक्ष एवं युवा नेता दीपेनवाला राईलाई पितृशोक परेको छ । ९९ बर्षको उमेरमा राईका पिता धनवल राईको देहान्त भएको हो । कमल ६ स्थित नीजि निवासमा नै उनको देहान्त भएको हो ।
यस्तो छ उनको जीवन बृतान्त
भारतीय सेनामा भर्ति, हुने र मनग्यै आम्दानी गर्ने ठूलै रहर थियो । १९७९ सालमा पाँचथरको रानीटार ८ बाँसबोटेमा जन्मेका उनी जवान हुँदा गाँउमा भारतीय सेनामा जाने युवाहरुको ताँती नै लाग्थ्यो ।
तर कतिपय युवा चाँहि तत्कालीन जहानिया राणा शासनका विरुद्ध गोल बद्ध हुँदै थिए । त्यसबेला राणा शाषक र उनीहरुका क्रुरताका विरुद्ध थाहै नपाई धनवल राई तत्कालीन मुक्ति सेनामा आवद्ध भए ।
आफ्ना नेता बिपी कोईरालालाई भेट्न उनी भारतको बनारस सम्म पुगे । बिपीबाट पाएको निर्देशन बमोजिम नै उनीहरु गाँउका युवाहरुलाई संगठित गर्थे र हतियार चलाउन सिक्थे ।
निभ्ने बेला चम्केको दियालो जस्तै थियो राणा शाषकहरुको दमन गाँउ गाँउमा । त्यसबेला उनी चाँहि भारतीय सेनामा भर्ति हुन भारत जाँदै थिए । तर एकजना नेताले उहाँलाई बाटै बाट फर्काए र मुक्तिसेनाको सदस्य बनाए ।
तत्कालीन मुक्ति सेनाले राणा शाषन विरुद्ध सशस्त्र आन्दोलन नै शुरु गरेको थियो । आधुनिक हतियारको पनि बन्दो बस्ति गरिएको थियो । त्यहि मुक्तिसेनामा लागेर २००७ सालमा ईलाम सदरमुकाम कब्जा गरेको उनलाई अझै सम्झना छ ।
२०१७ सालमा जननिर्वाचित सरकारलाई अपधस्त गरी राजा महेन्द्रले पञ्चायती व्यवस्था शुरु गरे पछि खुबै चर्कियो आन्दोलन । २०१८ सालको आन्दोलन गरे पछि नेपालमा बसी नसक्नु भयो, मुक्ति सेनाका सदस्यहरुलाई । त्यसैले उनी भारतको दार्जीलिङ तर्फ प्रवास पसे २०१८ सालमा ।
जवानीको १ चरण प्रवास तिरै बित्यो । जिउ ज्यानै बाजी लगाएर मुक्ती सेनामा भर्ना भएको धनबलको मन सधै पराई मुलुकमा अडिएन । मुक्ति सेनाको खोजी गर्ने क्रम अलि घटे पछि २०४१ साल तिर फेरि उनी आफ्नो परिवार सहित झापा तिर हानिए ।
तीनदशकभन्दा बढि हिउद बर्खा झापाको साविक लखनपुर–३ (हाल कमल ६) मा बित्यो। आँखाले ऊ बेला आफूले सोचे जस्तो मुक्ति अझै नआएको उनको गुनासो थियो ।
राणाहरुको क्रुरताको अन्त्य गरी जनतालाई अधिकार सम्पन्न बनाउन २००७ सालमा मुक्ति सेनामा लागेर आन्दोलन गर्दा भूमिगत नाम ज्ञानबहादुर भएका धनबल राईलाई राणा शासन, पञ्चायत शासन जस्ता एक तन्त्रीय शासन व्यवस्थामा परिवर्तन देख्न पाउँदा भने सन्तोक लागेको थियो ।