२४कात्तिक,धरान / नेकपा (माओवादी केन्द्र)पुनः निर्माण गर्ने भन्दै केन्द्रिय समिति राजनीतिक परिषद,पदाधिकारी एवं प्रदेश समितिहरु र जिल्ला समितिहरु सबै भंग गरिएको छ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष गोपाल किराँतीले कार्तिक २४ गते एक बिज्ञप्ति जारी गर्दै सबै समिति भंग गरिको जनाएको छन।पार्टी पुनःनिर्माण अभियानमा डट्न असाधारण विज्ञप्ति जारी गरिएको भन्दै वाईसीएल, जनवर्गीय संगठनहरु, राष्ट्रिय पहिचान मोर्चा र विभागहरुबारे आवश्यक थप गृहकार्य गरी निर्णय लिइने निर्णय गरेको उल्लेख छ।बिज्ञप्तिमा पार्टी पुनः निर्माणको अभियानको लागि अध्यक्ष गोपाल किराँती नै रहेको पनि बिज्ञप्तिमा उल्लेख छ।
पार्टी पुनःनिर्माण अभियानमा डट्न असाधारण विज्ञप्ति जारी गरिएको गोपाल किराँतीले जानकारी गराएका हुन।
माओवादी आन्दोलनको विचार, भावना र ऐतिहासिक विरासतको निरन्तरता दिँदै महान् जनविद्रोहको रणनीतिमा केन्द्रित हुन् नेकपा (माओवादी केन्द्र) पुनर्गठन गरिएको हो ।
यसबीच नयाँ विचार, कार्यदिशा र राजनीतिक कार्यक्रम निर्माणमा आधारभूत सफलता हासिल समेत गरिएको हो । परन्तु,अधिकांश कमरेडहरुको दृढ प्रयत्नका बावजुद देशभक्ति पूर्ण राष्ट्रिय स्वाधीनता, पहिचान आधारित जनवाद र समाजवादी सुविधाको जनजीविका सुनिश्चित गर्ने आन्दोलनमा पार्टी केन्द्रीय समिति अपेक्षित खरो उत्रन सकेन। सर्वहारा चरित्रको संगठन निर्माण र स्थानीय जन सम्बन्ध सुदृढीकरण कार्यमा केन्द्रीय समितिका गम्भीर समस्याहरु देखा परे।
अतः पार्टी केन्द्रीय कार्यालयको निर्णयमा वृहत् स्तरमा पार्टी पुनर्निर्माण अभियान सञ्चालन गरी सर्वहारा वर्गको नेतृत्वमा श्रमिक वर्ग, जाति, क्षेत्र, महिला र देश भक्तहरुको सुदृढ पार्टी बनाएर छाड्ने संकल्प सहित पार्टी सदस्य कमरेडहरु र सुभेच्छुक सबैमा जानकारी एवं अनुरोधका लागि यो विज्ञप्ति जारी गरेको छु ।
निर्णय
१. पार्टीको केन्द्रीय समिति, राजनीतिक परिषद्, पदाधिकारी एवं प्रदेश समितिहरु र जिल्ला समितिहरु यसै विज्ञप्तिमार्फत भंग गरिएको र संगठित पार्टी सदस्यहरु पार्टी अभियान सदस्यमा रुपान्तरिक भएको अनुरोध गर्दछु। आवश्यक गृहकार्य गरी प्रदेश पार्टी र आवश्यक जिल्ला अभियान संयोजक तोकिने छ ।
२. वाईसीएल, जनवर्गीय संगठनहरु, राष्ट्रिय पहिचान मोर्चा र विभागहरुबारे आवश्यक गृहकार्य गरी निर्णय लिइने छ ।
३. आगामी मंसिर ८ गते बस्ने भनिएको केन्द्रीय समितिको बैठक स्वतः रद्ध भएको छ ।
४. पार्टी सदस्य तथा सुभेच्छुकहरुको भावनाको उच्च सम्मान गर्दै केन्द्रीय कार्यालयको हैसियतमा पार्टी पुनर्निर्माण अभियानको अध्यक्ष क.गोपाल किराती रहेको अनुरोध गर्दछु ।
उपरोक्त असाधारण निर्णय कार्यान्वयन तथा स्थानीय तहबाटै पार्टी पुनर्निर्माण अभियान सञ्चालन गरी देश। भक्त समाजवादी आन्दोलन तयारीमा दृढता पूर्वक सहयोग गर्न पार्टी कमरेडहरु र समर्थक जन समुदायमा गम्भीर आह्वान गर्दछु ।
लाल सलाम सहित !
गोपाल किराँती
अध्यक्ष, नेकपा (माओवादी केन्द्र)
पार्टी पुनर्निर्माण अभियान