दमक । झापाको दमकस्थित ७ नं. वडामा सञ्चालित विष्णु ट्रेडर्सका सञ्चालक विष्णु साहले खुलेआम कालोबजारी गर्दा पनि प्रशासनले नजरअन्दाज गरिरहेको छ ।
पहिलो लकडाउनको बेला कृतिम अभाव देखाउँदै कालोबजारी गरेको आरोपमा पटकपटक उजुरी परेपछि उनलाई बल्लतल्ल नगरपालिकाले कारबाही गरेको जनायो । तर, के कस्तो कारबाही गरियो, त्यो भने नगरपालिकाले सार्वजनिक गर्न चाहेने ।
अहिले चाडबाडका बेला खासगरी तिहारको मौका छोपी खुलेआम कालोबजारी गरिरहँदा पनि सम्बन्धित निकाय मौन हुनु अचम्म छ । एउटै सामानमा मान्छे हेरेर फरक फरक मूल्य तोक्ने गरेको छ । पहिलेदेखि नै मूल्यमा एकरुपना नभएको स्थानीय उपभोक्ताको भनाई छ ।
एउटा कटौरा लिएर बसपार्कको चेपमा किराना पसल गर्दै आएको विष्णुको हैसियत कसरी आकासियो स्थानीय सबैले बुझेका छन् । स्थानीय प्रशासनलाई हातमा लिएपछि कालोबजारी, कृतिम अभाव जसो गर्न पनि उसले छुट पाएको स्थानीयको आरोप छ । भर्खरै मात्र उसले दमक ७ मा आलिसान महल खरिद गरेर त्यसैमा व्यवसाय सञ्चालन गर्दै आएको छ ।
पसलमा न त उपभोक्ता मूल्य सूची राखिएको छ, न त बिक्री गरिने सामग्रीको मूल्यमा नै एकरुपता छ । चाडबाडको समय र भिडभाडको समयमा विष्णु ट्रेडर्स नाम गरेको फर्म दर्ता गरेर व्यापार गर्दै आएको विष्णु साहले म्याद नाघेका गुणस्तरहीन सामग्रीहरु मिसावट गरेर खुलेआम बिक्री गरिरहेको देख्दा देख्दै अनदेखा गर्ने स्थानीय निकायप्रति आम सर्वसाधारण सशंकित देखिएका छन् ।
‘पसलमा सामग्री किन्न जानुस्, पहिले तपाईंको अनुहार हेर्छ अनि मूल्य तोक्छ, दशैं तिहारको बेला त भिड पनि कम छैन, एउटा समानमा घटाएजस्तो गर्छ, अर्को सामानमा मूल्य बढी लिएको पत्तै नहुँदो रहेछ’ –दमक ६ का उपभोक्ता निमेश रिमालले बताए ।
एक उपभोक्ताले तौलमा पनि तलमाथि गर्ने गरेको गुनासो गरेका छन् । विष्णु ट्रेडर्समा खाद्य वस्तुमा लेवल नटाँसिएको, खाद्य वस्तुको तौल, परिमाण उल्लेख नहुने गरेको पाइएको छ । उपभोक्ता संरक्षण ऐनमा यस्ता कालोबजारी गरी उपभोक्ता ठगी गर्नेलाई तत्काल कारबाही गर्न सक्ने व्यवस्था भए पनि निजलाई संरक्षण दिएर राख्नु बुझिनसक्नु भएको छ ।