०९मंसिर,उर्लाबारी/ शहरी विकाश मन्त्री कृष्णगोपाल श्रेष्ठले उर्लाबारी नगरपालिका मेयर खड्ग फागोलाई आगामी स्थानीय तहको निर्वाचनमा सूर्य चिन्हबाट मेयर पदमा उठ्न आग्रह गर्नुभएको छ ।
आज दिउँसो उर्लाबारी नगरपालिकाले आयोजना गरेको स्वागत कार्यक्रममा मन्त्री श्रेष्ठले राजनीति ब्यक्तिगत स्वार्थमा भन्दा पनि जनताको हितमा हुनुपर्नेमा जोड दिनुभयो । उहाँले उर्लाबारी नगरपालिकाको मेयर आगामी निर्वाचनबाट पनि यूवा नै निर्वाचित हुनुपर्ने बताउँदै वर्तमान मेयर फागोलाई सूर्य चिन्हबाट चुनावमा उठ्न आग्रह गर्नुभएको हो । मेयर फागो हाल नेपाली काँग्रेसबाट निर्वाचित मेयर हुनुहुन्छ ।
राजनीति जनताका लागि गर्ने हो भन्दै मन्त्री श्रेष्ठले काङ्ग्रेस प्रजातन्त्रको विचार लिएर अघि बढेपनि सर्वोच्च नेता गणेशमान सिंहले अन्तिममा निधन हुने बेलामा पार्टीको झण्डा नओढाउनु भनेको स्मरण गराउनुभयो । उहाँले कुनै पनि पार्टीबाट निर्वाचित भईसकेपछि जनताको हितमा काम गर्नुपर्ने बताउनुभयो ।
देश विकाश गर्ने अहिलेको समयमा कुर्सी जोगाउने खेलमा कोही पनि लाग्न नहुने बताउनुभयो । सो अवसरमा नगरपालिकाका मेयर फागोले उर्लाबारीको ढल निकाश, अव्यवस्थित बसोबास लगायतका समस्याका विषयमा मन्त्री श्रेष्ठलाई ज्ञापन पत्र बुझाउनुभएको थियो । सो अवसरमा मन्त्री श्रेष्ठलाई उर्लाबारी ८ मा सन्थाल बस्ती निर्माणका लागि पनि आग्रह गरिएको थियो ।