२८मंसिर,मोरङ/नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा एकता र निर्माणको प्रक्रिया टुङ्गो नलाग्दै एकतामा गम्भीर दरार आउन लागेपछि चौतर्फी एकताको पक्षमा जनमत बन्दै गएको छ भने एकताविरोधी हर्कत नगर्न खबरदारी समेत हुन थालेको छ । यहिँ सिलसिलामा ‘पार्टी एकताका लागि युवा अभियान’ संस्थागत अभिमतका साथ युवा संघ नेपाल, प्रदेश नं. १ ले मोरङको दुलारीमा एउटा भव्य कार्यक्रममार्फत खबरदारी–सभा सम्पन्न गरेको छ ।
कार्यक्रमलाई प्रमुख अतिथिका रूपमा उपस्थित नेकपा केन्द्रीय सदस्य, काभ्रेली जनतामाझ सर्वाधिक रूचाइएका नेता, संघीय सांसद एवं पूर्व सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाले सम्बोधन गर्नुभएको थियो। सार्वजनिक जीवन बाँचेका मानिसले मुलुकले कार्यान्वयनमा ल्याएको संविधान र ऐन–कानुनसम्मत् प्रश्न उठेपछि निष्ठा र इमानका साथ सत्य निरूपण नभएसम्म सार्वजनिक आचरण, पद, मर्यादा र जिम्मेवारीबाट अलग्यै रहनुपर्ने पाठ आफूबाट सिक्न सकिने दावा गर्दै अरूलाई नीति, विधि र पद्दतिबारे उपदेश गर्नेहरूले आफूहरूलाई त्यस दायरामा उभ्याउन सक्नुपर्ने बताउनुभयो ।
उहाँले सार्वभौम अधिकारसम्पन्न कार्यकर्ताको साझा मञ्चबाट निर्वाचित पार्टी अध्यक्ष केपी शर्मा ओलीले कसैको लहडमा आएर राजीनामा दिन नहुने, दिए गलत नजिर बस्ने र चित्त नबुझ्नासाथ फेरी अर्को हिउँद नलाग्दै अर्को नेतालाई अध्यक्ष हुने रहर जाग्ने र यसका लागि मोर्चाबन्दी हुने बताउँदै पार्टी एकताका सूत्राधार साविक एमाले अध्यक्ष ओलीविरूद्ध अर्का अध्यक्ष प्रचण्डले हुण्डार सिर्जना गर्न नहुने विषय प्रसङ्गअन्तर्गत एउटा नजिर राख्दै एमालेको ८ औँ राष्ट्रिय महाधिवेशनमा नेता झलनाथ खनालसँग पराजित नेता ओली र नेता माधवकुमार नेपाल मिलेको भए महाधिवेशनपछि निर्वाचित कमिटीको अध्यक्ष झलनाथ खनाललाई पनि फाल्न सकिन्थ्यो ! यसो गर्नु उचित थियो त ? प्रश्न गर्दै लोकतन्त्र भनेको जीत–हारबीचको साझा र सुन्दर अभिमत हो । जिते सहर्ष स्वीकार्ने अनि हारे कुण्ठा पोखेर सडकमा छताछुल्ल हुन नहुने बताउनुभयो । पूर्वमन्त्री बास्कोटाले भरखरै मिक्लाजुङमा मारिएका शिक्षकको नाउँमा दुई अक्षर खर्च गर्न नसक्ने कस्तो मानसिकता भन्दै यसले न आफ्नो नेतृत्वको सरकारले गरेका राम्रा कामहरू देख्न सक्छ, न विकास–निर्माणका साझा एजेण्डामा आधारित छलफल बहस चलाउन सक्छ भनेर मुलुकको राजनीतिक स्थायित्व र सामाजिक–आर्थिक समृद्धिको नेतृत्व गर्न नेतासमक्ष आफ्ना राय सुझाउनुभयो ।
राजनीतिक परिवर्तनपछि प्राप्त अवसरलाई व्यवस्थापन गर्न अब ७० वर्ष नाघेको नेतृत्वले जिम्मेवारी नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्ने र आसन्न महाधिवेशनबाट कसैलाई पनि २ कार्यकाल मात्र चुनाव लड्न दिइनुपर्ने कानुनी व्यवस्था अनिवार्य गर्नुपर्ने विषयमा जोड दिँदै गर्दा राजनीतिक इमान र निष्ठामा उभिएकालाई कसैले गद्दार भन्छ भने सुन्नुपर्छ र सहनुपर्छ किन भने कम्युनिष्ट आन्दोलनको जग बसाल्ने पुष्पलाललाई पनि धेरैले गद्दार भनेका थिए भनेर लालबुझक्कडप्रति कडा व्यङ्ग्य सहित सिद्धान्तको रूपमा सर्वस्वीकार्य जनताको बहुदलीय जनवादको राजनीतिक बैचारिक स्प्रिटमा प्रतिवाद गर्नुभएको थियो ।
युवा संघ नेपालका सहसंयोजक रमेश पौडेलले युवाहरूलाई आफ्नै सहयोद्धाविरूद्ध गलहत्याउने शैलीमा नाङ्गो–उदाङ्गो ढङ्गले आक्रमक हुने र सडकमा सिने बोकेर यसलाई ब्युँताउने सपना सम्हालेर राजतन्त्रको नामको भ्रमको खेती गर्ने दुबै प्रकृतिका पात्र र प्रवृत्तिबाट चनाखो हुन निर्देशन गर्नुहुँदै राजनीतिक नेतृत्वमा राजनीतिक मदमुद्दाहरू मात्र आउनुपर्ने तर अदालतमा दर्ता हुनुपर्ने प्रकृतिका आरोपहरू समेत पार्टीमा प्रस्ताव हुन आएकोले यस्ता विषयहरूले स्थान पाउन नहुने बताउनुभयो । युवाहरू परिर्वतनका बाहक संवाहक मात्र होइन, कुशल व्यवस्थापक समेत हुन् भन्दै सम्भावित खतराप्रति जिम्मेवारीबोधका साथ सचेत रहन आग्रह गर्नुहुँदै एक थरी नेतृत्वलाई सौन्यवादी मानसिकता र अर्का थरी नेतृत्वलाई अनुचित कुण्ठा र भडास पोख्नबाट मुक्त हुन अनुरोध गर्नुभयो ।
कम्युनिष्ट आन्दोलन विघटनको डिलनजिकै लैजान खोज्दै हुनुहुन्छ, अब कि सच्चिनुस् कि सक्किनुस् भन्दै उहाँले आफ्नै नेतृत्वका कारणले गर्दा प्रतिपक्षमा रहेको राजनीतिक शक्ति र सडकमा यदाकदा देखिएको राजावादी शक्तिलाई पनि सजिलो भएको तर्क अघि सार्नुभयो । युवाहरू इमान, निष्ठा, सदाचार र सादगीपूर्ण जीवनशैलीका पर्याय बन्नुपर्ने दृष्टान्तहरू पेश गर्नुहुँदै युवानेता पौडेलले नेकपा नेतृत्वको तीनैवटा तहगत सरकारले गरेका राम्रा कामहरूलाई लिएर पालिका–पालिका तहसम्म सार्वजनिक महत्वका साथ बहस चलाउनुपर्ने र थप उपलब्धीका लागि पार्टी एकताबद्ध र राजनीतिक बैचारिक हिसावले सुदृढ रहनुपर्ने विषयलाई विलम्ब नगरी लानपर्ने बताउनुभयो ।
कम्युनिष्ट पार्टी निर्माणमा पहिलोपुस्ताका संगठक एवं मदन भण्डारी फाउण्डेसन, १ नं. प्रदेश अध्यक्ष गोपाल गुरागाईंले कार्यक्रममार्फत ऐक्यबद्धता जनाउनुहुँदै जनताको बहुदलीय जनवाद निर्माणको सन्दर्भमा मर्मस्पशी अभिव्यक्ति सहित सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा प्रदेशका १४ वटै जिल्लाबाट ३ हजारभन्दा बढी सङ्ख्यामा युवाहरूले आफ्नो सक्रिय सहभागिता जनाएका थिए । युवा आन्दोलनमा उज्ज्वल नक्षत्रका रूपमा हेरिएका बच्चन बहादुर सिंह, पर्शुराम बस्नेत, राजु कार्की, उर्मिला सुनुवार, रोशन बस्नेत, भास्कर खनाल, नृपेन्द्र महतलगायत युवा नेतृत्वले खबरदारी–सभालाई सम्बोधन गर्नुभएको थियो ।
विभाजन र विखण्डनकारीहरू कोठे भेटघाटमार्फत नेकपा सक्ने अभियानमा लागेको बेला पार्टी एकताको पक्षमा आवश्यक छलफल सहित बृहत्त कम्युनिष्ट आन्दोलन निर्माणका लागि हाकाहाकी बहस–विमर्श गर्ने उद्देश्यका साथ यो सभाको आयोजन गरिएको उद्घोष गर्नुहुँदै मोरङमा स्थापित युवा नेता रविन थापाले कार्यक्रमको अध्यक्षता गर्नुभएको थियो भने नेता नवीन पौडेलले बडा रोचक र घोचक बान्कीमा सञ्चालन गर्नुभएको थियो ।