१३पुष,दमक/नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले कुनै पनि
हालतमा प्रधानमन्त्री केपी ओलीले संविधानविपरीत विघठन गरेको संसद् पुनर्स्थापना गरेरै छाड्ने बताएका हुन् ।
प्रधानमन्त्री ओलीको गृहनगरमा नेपाली कांग्रेस क्षेत्र नम्बर ५ ले आयोजना गरेको विरोध सभामा बोल्दै नेता रिजालले लोकतन्त्रमा विश्वास गर्नेले पुनर्स्थापनाको पक्षमा उभिनुपर्ने बताए ।
उनले भने, ‘ओलीको आँगनमा आएर भन्दै छु, यो असंवैधानिक कदमलाई हामी पल्टाएर छाड्छौँ । संसद् पुनर्स्थापना गर्छौँ । देशलाई ठीक बाटोमा लिएर हिँड्छौँ । ओलीलाई बिदा गर्छौँ ।’
‘कतिपयले ओलीले सबैतिर मिलाएका छन् । सर्वोच्च अदालतले पनि न्याय दिँदैन भन्ने गरेका छन् । तर, म भन्छु अदालतले न्याय दिन्छ । राजा ज्ञानेन्द्रले असंवैधानिक कदम चाल्दै शाही आयोग बनाएर शेरबहादुर देउवा र प्रकाशमान सिंहलाई जेल हालेका थिए । सर्वोच्चले यो राजाको असंवैधानिक कदम हो भन्दै न्याय दियो,’ उनी भन्छन्, ‘अदालतले न्याय दिनुअघि हामी जनता माझ आवाज बुलन्द बनाउन आएका हौँ । अदालत संविधान मर्न थाल्यो, संविधान जोगाऊ । संविधान जोगाउने जिम्मा तपाईंहरूको छ भन्न हामी आएका हौँ ।’
उनले संसद्को पुनर्स्थापनका लागि देशभर सशक्त आन्दोलनको निर्माण गर्ने बताए । ‘संसद्को पुनर्स्थापना हुनुपर्छ । त्यसका लागि सशक्त विरोध गरौँ,’ उनले भने ।
नेता रिजालले बालुवाटारमा गफ दिएर देश नचल्ने बताए । उनले अहिलेको अवस्था आउनुमा पुष्पकमल दाहाल प्रचण्डलगायत नेकपा नेताको पनि हात रहेको बताए ।
‘कार्यकारी राष्ट्रपति चाहियो भन्ने प्रचण्डहरूले एकपटक सोच्नुपऱ्याे । संसद्प्रति उत्तरदायी प्रधानमन्त्री हुँदा त यो अवस्था आएको छ । कार्यकारी राष्ट्रपति हुँदा के हुन्छ ?’ उनले भने, ‘प्रधानमन्त्री भन्दै छन्– चुनाव दिएर आएँ संविधान मान्नुपर्दैन, अदालत मान्नुपर्दैन, लोकसेवा, निजामती कर्मचारी मान्नुपर्दैन । पत्रकारहरूलाई धम्क्याउन पाउँछु भन्दै हिँडेका छन् ।’
‘हाम्रो कुनै व्यक्तिमाथिको रिस हाेइन । म ओलीको विरोध गर्न उनको गृहनगर आएको हाेइन । कम्युनिस्ट पार्टीका नेताहरू आज जुनसुकै कित्तामा हुनुहोला । गएको तीन वर्षमा के गर्नुभयो ?’ उनले भने, ‘प्रचण्डजी ओलीले यत्रो दुःख दिए तपाईंले तीन वर्षमा के गर्नुभयो ? तपाईंहरूले यो तीन वर्ष सत्ताको लडाइँभन्दा अर्को तरिकाले हेर्नुभएन।’