२०गते,दमक/जनता समाजवादी युवा संघ प्रदेश नं १ ले सोमबार झापाको दमक स्थित कन्काई पार्टी प्यालेसमा पार्टी प्रवेश तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा ५ सय जना बढी झापा, इलाम, मोरङ, सुनसरी,पाँचथर का विभिन्न राजनीतिक दलका नेता तथा सामाजिक संघ–संस्थाका प्रतिनिधिहरु जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।
उक्त कार्यक्रममा राप्रपाका नेता लक्ष्मीप्रसाद लावती,नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाका पूर्व अध्यक्ष पवन चाम्लिङ, किरात याक्थुङ चुम्लुङका कोषाध्यक्ष चन्द्रकला सुब्बा, इलाम गजुरमुखी निमाविका प्रधानाध्यापक टंक योङहाङ, नेविसंघका पूर्व नेता फडिन्द्र भण्डारी सहित ५०० जना भन्दा बढी कार्यकर्ताहरु जसपामा प्रवेश गरेका छन् ।
जसपाका वरिष्ठ नेता राजेन्द्र महतो, केन्द्रीय कार्यकारिणी समिति सदस्य युवराज कार्की, केन्द्रीय सदस्य खगेन्द्र माखिम र भुराज राईले उनीहरुलाई पार्टीमा स्वागत गरेका छन् ।
जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक कू गरेकाले पहिचानवादी शक्ति वैकल्पिक रुपमा सडकमा उत्रिनु पर्ने बताएका छन् ।
उनले प्रधानमन्त्री ओलीले राजनीति होेइन हास्य कलाकारको रुपमा विश्व प्रतियोगितामा नेपालको तर्फबाट भाग लिनुपर्ने बताएका छन् ।वरिष्ठ नेता महतोले नेकपा र काङ्ग्रेसको राजनीतिक एजेण्डा सबै समाप्त भइसकेको भन्दै अब हिमाल ,पहाड तराइका जनताहरु एक भएर धर्म निरोपेक्षता ,संघीयता र गणतन्त्रलाई संस्थागत गर्न सबै लाग्नु पर्नेमा जोड दिएका छन् ।
उनले ‘यो लिम्बुवान भुमिमा उभिएर यसरी बोल्न पाउँदा आफुलाइ गर्व महसुस’भएको समेत बताए।
जनता समाजवादी युवा संघ प्रदेश नं १ का अध्यक्ष रोशन लिम्बुको अध्यक्षतामा भएको उक्त कार्यक्रममा वरिष्ठ नेता महतो, केन्द्रीय कार्यकारिणी समिति सदस्य कार्की, केन्द्रीय सदस्य भुराज राई, खगेन्द्र माखिम, राधा थापा, फक्ताङलुङ योङहाङ, महेश राना मगर, दिपेन वाला राई, महेन्द्र कटुवाल लगायत नेताहरुले बोलेका थिए ।
कार्यक्रमको सञ्चालन संघका उपाध्यक्ष तोया न्यौपानेले गरेका थिए ।