लिम्बू जातिहरुको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङलाई अतिक्रमण गरी पाथिभरा नामाकरण गरेको भन्दै जनता समाजवादी पार्टी नेपाल विरोध गरेको छ ।
जसपा नेपाल प्रदेश समितिका अध्यक्ष प्रवीण चाम्लिङले बुधबार विज्ञप्ति जारी गर्दै मुक्कुमलुङलाई मौलिक मुन्धुमी आधारमै नामाकरण गर्न माग गरेका छन। यसअघि खुवालुङमा क्रेन लगाउने प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति उपर समेत कडा टिप्पणी गरेको जसपा नेपाल १नं.प्रदेश ले मुक्कुमलुङको पुरानो नाम परिवर्तन गरी पाथिभरा राखिएकोमा आन्दोलनको संकेत दिएको हो ।
पाथिभरा दर्शन केबुलकार प्रा.लि. ले आउँदो वैशाख ११ गते केबुलकार सेवाको शिलान्यास प्रधानमन्त्री केपी शर्मा ओलीबाट गराउन लागेको समाचार आए लगत्तै जसपा नेपाल प्रदेश समितिले यस्तो धारणा प्रस्तुत गरेको हो ।
मुक्कुमलुङको अस्तित्व समाप्त पार्ने गम्भीर षड्यन्त्र भइरहेको भन्दै विज्ञप्तिमा लिम्बू जातिको मुन्धुम र संस्कृतिसँग जोडिएको यस्ता पुरातात्विक र ऐतिहासिक सम्पदालाई राज्यले संरक्षण गर्नुपर्नेमा उल्टै नामेट पार्न खोज्नु निन्दनीय कार्य भएको उल्लेख गरेका छन ।
मुक्कुमलुङमाथिको प्रहार कालान्तरमा लिम्बू समुदायलाई निमिट्यान्न पार्न रचिएको चक्रव्यूह भएको जसपाको ठहर छ ।
जारी विज्ञप्तिमा भनिएको छ –‘कथित पाथिभरा नाम, पाथिभरा क्षेत्र विकास समिति गठन आदेश २०५३, सो आदेशबाट गठित पाथिभरा विकास समिति समेत तत्काल खारेज गरेर लिम्बू समुदायका मुन्धुमविद्, लिम्बू (याक्थुङ)संस्कृति विज्ञहरु, सरोकारवालाहरु को सहभागिता र नेतृत्वमा ‘मुक्कुमलुङ संरक्षण तथा विकास समिति’ गठन गरी मुक्कुमलुङको मुन्धुमी मौलिकताको जगेर्ना गर्न र मुक्कुमलुङ्गको विकासका कार्यहरु अघि बढाउन नेपाल सरकार,१नं. प्रदेश सरकार र स्थानीय तहहरु समक्ष माग गर्दछौं ।’
लिम्बू समुदायको धर्म, संस्कृति, ऐतिहासिकता आधुनिक नेपाल निर्माण हुनु भन्दा अघिदेखिको भएको ठहर गर्दै जसपा नेपालले लिम्बुवान भूमि र लिम्बू समुदायसँग जोडिएका हरेक पक्षहरुको उचित संरक्षण गर्ने जिम्मेवारी नेपाल सरकारको भएको जसपाको बिज्ञाप्तीमा उल्लेख गरिएको छ ।
ताप्लेजुङ जिल्लास्थित फुङलिङ नगरपालिका वडा नम्बर १० र ११, फक्ताङलुङ गाउँपालिका वडा नम्बर ३ र ५ तथा सिरिजङ्गा गाउँपालिका वडा नम्बर ३ को केन्द्रविन्दुमा अवस्थित मुक्कमुलुङलाई लिम्बू सदमुदायले सेमुक्तिकोक् र सेमुक्तुबुङ पनि भन्ने गर्दछन् ।
मुक्कुमलुङलाई लिम्बू समुदायले शक्तिको प्रतीक मान्दछन् भने युमा माङ्ले पदार्पण गरेको हुनाले यो ठाउँ पवित्र भएको विश्वास गर्दछन् ।