२०७८ कार्तिक ०८, सोमबार
Close
गणेश शिवाकोटी शुक्रबार, बैशाख ०३, २०७८    १४:३८:३६

 

दीपक खड्का, अध्यक्ष, पहिलो पाइला नेपाल, दमक शाखा, सचिव, लायन्स क्लव अफ दमक लखनपुर

मानिस आधुनिक विश्वमा प्रवेश गरे पनि मानवीयता अझै हराएको छैन । त्यही मानवीय भावनालाई कायम राख्न अहिले विभिन्न युवा क्लब, सामाजिक संघ संस्थाको माध्यमबाट आफूलाई सामाजिक कार्यतर्फ सक्रिय बनाईराखेका छन् । तिनै समाजसेवीको अनेक प्रयासबाट समाजमा थुप्रै उदाहरणीय विकास निर्माणका काम भइराखेका छन् । त्यसैले भनिन्छ समाजमा रहेर समाजको हितका लागि निस्वार्थ काम गर्नु नै समाजसेवा हो । जहाँ कुनै नाफा–घाटाको उद्देश्य नराखी व्यक्तिगत अथवा सामाजिक रूपमा समाज कल्याणको काम गरिन्छ । यस्तै पहिलो पाइला नेपाल, दमक शाखाका अध्यक्ष दीपक खड्का समाजसेवाको पर्याय बन्नुभएको छ । खड्का, पहिलो पाइला नेपालका अतिरिक्त लाइन्स क्लव अफ दमक लखनपुरका सचिव, हिमालयन टाइगरलगायत विभिन्न संस्थाहरुमा आवद्ध हुनुहुन्छ ।
गरिब, दुःखी, असहायलाई गोजीबाट पैसा बाँड्दै गर्दा आफैँलाई रित्याएको कुरा पनि उहँँले कुराकानीका क्रममा बताउनु भयो । समाजमा यस्ता गैर नाफामूलक सयकडौं संस्था छन्, तर नाम मात्रका । कुनै कामको प्रपोजल तयार पारेर केही रकम ल्याएर बाँडी खाने संस्थाहरु पनि प्रशस्त छन् । शिक्षा, स्वास्थ्य, सरसफाईजस्ता विभिन्न क्षेत्रमा सक्रिय पहिलो पाइला नेपाल दमक शाखाका अध्यक्ष दीपक खड्कासँग सनसनी साप्ताहिकका लागि सम्पादक गणेश शिवाकोटीले गरेको कुराकानीको सारसंक्षेप प्रस्तुत छ ।

पहिलो पाइला नेपाल नामक संस्था कस्तो संस्था हो ?
– यो विशुद्ध समाजसेवामा सक्रिय संस्था हो । समाजका दीनदुःखीहरुको सेवा गर्नुका साथै सामुदायिक शिक्षा, स्वास्थ्य, वातावरणमा यो संस्था क्रियाशील छ ।
नाम चाहिँ सामाजिक संस्था काम चाहिँ मुनाफा कमाउने अनि नामका लागि खुलेका संस्थाहरु पनि छ्यासछ्यास्ती छन् नि !?
– अरु संस्थाको कुरा गर्दिनँ । तर यो पहिलो पाइला नेपाल विशुद्ध रुपमा समाजको सेवामा दत्तचित्त भएर लाग्ने संस्था हो । दुःखी पीडितलाई सहयोग गर्नका लागि पहिलो पाइला बनेर हामी पुगेका छौं ।
कहिलेदेखि संस्थाको नेतृत्वमा हुनुहुन्छ ?
– लगभग ८ महिना भएको छ ।
यो समाजसेवामा लाग्ने प्रेरणा चाहिँ कहाँबाट पाउनुभयो ?
– मलाई पहिलेदेखि नै दीनदुःखीहरुको सेवा गर्न अभिरुचि थियो । मैले सीएमए पढाई सकाएपछि जलथलमा क्लिनिक सञ्चालन गर्न सुरु गरेँ । त्यहाँ आउने गरिब, अशक्तहरुलाई नाफा नराखी औषधि दिने गर्दथेँ । कसैको दुःख देख्न सक्दिन थिएँ । माग्ने, अशक्त कोही देखिएमा केही सहयोग गरौं–गरौंजस्तो लाग्थ्यो । कहिलेकाहिँ त आफूसँग खल्तीमा भएको पैसा समेत सकिएको छ । तर आफू भोकै बसेर अरु भोको पेटलाई सहयोग गर्न पाउँदा मलाई सन्तुष्टि हुन्थ्यो । मलाई साथीभाइहरुले पनि यस्ता कामहरुमा अभिप्रेरित गर्नुहुन्थ्यो ।
क्लिनिक सञ्चालन गर्दागर्दै किन यतातिर लाग्नुभयो त ?
– त्यसपछि मैले आर्मीमा पनि जागिर खाएँ । करिब अढाई वर्ष जागिर खाएपछि त्यहाँभित्रका भेदभावलाई मैले सहन सकिनँ । जागिर छाडेर विदेश गए । साउदीमा ४ वर्ष चार महिना मेल नर्सको रुपमा काम गरेँ । त्यसपछि स्वदेशमा आएँ । फेरि पाँच महिनापछि अफगानिस्तानमा बसेँ । जता गए पनि आफ्नै स्वदेशको मायाले डो¥यायो । यहाँ आएर समाजसेवा क्षेत्रमा काम गर्दा आनन्दको अनुभूति भएको छ ।
कस्ता कस्ता क्षेत्रमा तपाईंको संस्थाले काम गर्छ ?
– समाजका हरेक क्षेत्रमा यसले काम गर्छ । कोरोनाकालमा माक्स, सेनिटाइजर वितरण, खाद्यान्न सहयोगदेखि जनचेतनामूलक कार्यक्रम, वातावरण, सरसफाई, शिक्षा, सुरक्षा, स्वास्थ्य सबै क्षेत्रमा संस्थाले काम गर्छ ।
अहिले कति सदस्य हुनुहुन्छ ?
– अहिले दमकमा हामी करिब ४५ जना छौं ।
संस्थाले आर्थिक सहयोग पनि गर्दै आएको छ । यसको स्रोत चाहिँ के हो ? खुलाउन मिल्छ ?
– हामी सदस्यहरु नै मिलेर मासिक दुई–तीन सय उठाउँछौं । सदस्य साथीहरु आ–आफ्नो पहुँच भएको ठाउँमा कन्भिन्स गरेर स्रोत जुटाउँछौं । अख्ति भर्खरै मात्र मैले मेरो आफ्नै भाई दमक ३ गोलाटार घर भई अमेरिकाको न्यूयोर्कमा बस्दै आएका राजन खड्का (रामकुमार) लाई भनेर एक लाख रुपैयाँ मगाएँ । त्यसमध्येको ५० हजार रुपैयाँ उर्लावारीका मृगौला पीडित टीका श्रेष्ठलाई, त्यसैगरी सुन्दर हरैंचाकी अशक्त विमारी आँशु राजवंशीलाई २५ हजार रुपैयाँ हस्तान्तरण गरेका छौं ।
तपाईंको कार्यकालमा के कस्ता कामहरु सम्पन्न गर्नुभएको छ ?
– विद्यालयमा पढ्ने गरिब असाहाय बालबालिकालाई भाग्य बोक्ने झोला वितरण गरेका छौं । केही समय अगाडि शिवसताक्षीको सरकारी स्कुलका १०३ बालबालिकाहरुलाई झोला वितरण गरियो । त्यसैगरी इलामको रोङ गाउँपालिकामा ४५ बालबालिकालाई यस्ता झोला वितरण गरिएको छ । त्यसका अलावा आर्थिक अभावका कारण उपचारबाट बञ्चित रहेकाहरुलाई सानै मात्रामा भए पनि रकम उपलब्ध गराएका छौं । जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेका छौं । सदस्यहरु मिलेर नगर सरसफाई गरेका छौं । माक्स वितरण, सेनिटाइजर वितरण गरेका छौं ।
पहिलो पाइला नेपालको सदस्य लिनका लागि के कस्तो प्रावधान छ ?
– १८ वर्ष उमेर पूरा भई ४० वर्ष ननाघेको व्यक्ति हुनुपर्छ । अरु त खासै त्यस्तो केही छैन ।
समाजसेवाबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
– सन्तुष्ट छु ।
आगामी दिनको योजना के छ ?
– संस्थालाई चुस्त र गतिशिल बनाउनका लागि सामूहिक रुपमा कटिवद्ध भएर लागेका छौं । नाम अनुसार नै समाजमा पहिलो पाइला भएर अगाडि बढेर सुख, दुःखमा एकापसमा सहयोग गर्नका लागि लाग्ने छौं ।

सम्बन्धित

ताजा

लोकप्रिय

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com

Contact

Radio Jhapa 100.7 MHz.
Phone: 023-586063
E-mail: [email protected]
Address: Damak -11 Jhapa
Website: https://www.radiojhapa.com