राष्ट्रपति रनिङसिल तथा अन्तर विद्यालय खेलकुद प्रतियोगिता
विराटनगर । जिल्ला खेलकुद विकास समितिको आयोजना र बेलबारी नगरपालिकाको संयोजनमा आयोजित राष्ट्रपति रनिङसिल तथा अन्तर विद्यालय खेलकुद प्रतियोगिताको प्रदेश नं. १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गर्नु भएको छ ।
मोरङ जिल्लाका १७ वटा स्थानीय तहका कक्षा ९ देखि कक्षा १२ सम्म अध्ययन गर्ने विद्यार्थीहरु सहभागी रहेको यो प्रतियोगिताका विजेता राष्ट्रपति रनिङसिल प्रदेश नं. १ को प्रतिस्पर्धाका लागि योग्य हुने आयोजक कमिटिको भनाई छ । प्रदेश नं. १ का चौधैवटा जिल्लाबाट छनौट भइ आएपछि प्रदेश नं. १ को प्रतिनिधित्वका लागि पुन प्रदेश स्तरमा प्रतिस्पर्धा गर्नुपर्ने प्रावधान छ ।
एथ्लेटिक्स, फुटबल, भलिवल, टेबुलटेनिस, कवडी, जुरो, कराँते, दौड आदि प्रतिस्पर्धाका मौदानमा उत्रिएका खेलाडीहरुको मनोबललाई उच्च बनाउँन शुभकामना मन्त्ब्य दिदै प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले खेलमा कि जित्छु कि सिक्छु तर हार्दिन भन्ने उच्च भावनाका साथ खेल्नु पर्छ भनी हौसला प्रदान गर्नु भएको थियो । मानव जीवनलाई सफल बनाउने र विश्वमा देशको नाम स्थापित गराउने माध्यम खेललाई बनाउनु पर्ने कुरामा जोड दिनुभयो ।
बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा उप प्रमुख ढाका कुमारी पराजुलीले स्वागत मन्तब्य राख्नुभएको थियो भने मोरङ जिल्लाका सबैजसो स्थानीय तहका प्रमुख, उप–प्रमुख तथा प्रमुख जिल्ला अधिकारी कोशहरि निरोैलाको उपस्थिति रहेको थियो । कार्यक्रममा स्काउट र विभिन्न विद्यालयका विद्यार्थीहरुले मार्चपास समेत गरेका थिए ।