दमक । कोरोना संक्रमणका कारण झापा गौरादहका दुई दाजुभाइको एकैदिन ज्यान गएको छ ।
साविक जुरोपानी ८ र हाल गौरादह ७ घर भई भारतको लखनउ र काठमाडौंमा बस्दै आएका स्व.अशोक राईका छोराहरू जेठो करीब ५५ वर्षिय लक्ष्मी राई र माइला ५० वर्षिय भाइराजा राईको एकैदिन कोरोनाबाट ज्यान गएको हो । भारतीय सैनिकको जागिरबाट सेवा निवृत भई जेठो लक्ष्मी सपरिवार लखनउमा बस्दै आउनु भएको थियो । उहाँको आज बिहान निधन भएको हो भने काठमाडौंमा रहनु भएका अधिवक्ता भाइराजाको आज दिउँसो निधन भएको छ । लक्ष्मी राईको श्रीमतीको स्वास्थ्य अबस्था पनि गंभीर रहेको बताइएको छ ।
त्यस्तै कोरोनाले मोरङको उर्लाबारीमा पाँच दिनभित्र एकै परिवारका दुई जनाको मृत्यु भएको छ । उर्लाबारी–२ मा पाँच दिनको अन्तरमा बाबु–छोराको मृत्यु भएको हो । बुबा कुमार धिमालको जेठ १२ गते मृत्यु भएकोमा छोरा तेजबहादुर धिमालको आज निधन भएको हो ।
कोरोना संक्रमणका कारण तेजबहादुर जेठ ३ गतेदेखि झापाको बिएन्डसी हस्पिटलमा उपचाररत हुनुहुन्थ्यो । उहाँको आज दिउँसो १२ ः ४० मा मृत्यु भएको वडाअध्यक्ष राजन कँडेलले बताउनु भएको हो । कुमार धिमाल तत्कालिन उर्लाबारी गाविसका पूर्व उपाध्यक्ष हुनुहुन्थ्यो । योसँगै उर्लाबारीमा कोरोनाको दोस्रो चरणमा मृत्यु हुनेको संख्या १८ पुगेको जनाइएको छ ।