दाङ : राष्ट्रिय सभा सदस्यका लागि भएको उप निर्वाचनमा लुम्बिनी प्रदेशबाट दृगनारायण पाण्डे निर्वाचित भएका छन्।
पाण्डेले ५ सय ४६ मत भार अन्तरले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार चन्द्र बहादुर खड्कालाई पराजित गरेका हुन्। पाण्डेले स्थानीय तहतर्फ २ हजार १ सय २४ र प्रदेशसभा तर्फ २ हजार १६ गरी कूल ४ हजार १ सय ४० मत भार प्राप्त गरे।
खड्काले स्थानीय तहतर्फ १ हजार ६ सय ७४ र प्रदेश सभातर्फ १ हजार ९ सय २० गरी कूल ३ हजार ५ सय ९४ मत भार प्राप्त गरे। प्रदेश सभा सदस्यको एक मतको ४८ र स्थानीय तहका प्रमुख र उपप्रमुखको १८ मत भार गणना हुन्छ । पाण्डेलाई स्थानीय तहका प्रमुख–उपप्रमुख १ सय १८ र प्रदेशसभा सदस्य ४२ जनाले मतदान गरे।
कडा सुरक्षाबीच मतगणना गरिँदै ।
खड्कालाई स्थानीय तहका प्रमुख–उपप्रमुख ९३ र प्रदेश सभा सदस्य ४० जनाले मतदान गरेका हुन्। पाण्डे हालै एमाले छाडेर कांग्रेस प्रवेश गरेका हुन्। खड्का पनि माओवादी छाडेर एमाले प्रवेश गरेपछि राष्ट्रियसभा सदस्यको पद रिक्त भएको थियो।
कांग्रेस उम्मेदवार पाण्डेलाई माओवादी केन्द्र, जसपा उपेन्द्र यादव समूह, राष्ट्रिय जनमोर्चा र एमाले माधव नेपाल समूहको समर्थन रहेको थियो । खड्कालाई जसपाका महन्थ ठाकुर–राजेन्द्र महतो पक्षले भोट दिएको थियो।
तीन सय मतदाता रहेकोमा प्रदेशतर्फ ८३ र स्थानीय तहतर्फ २१४ गरी २९७ मत खसेको थियो। निर्वाचन अधिकृत रितेन्द्र थापाका अनुसार नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा.धवल शम्शेर राणा,गुल्मी दरबार गाउँपालिकाका अध्यक्ष अशोक कुमार थापा र बाँकेको नरैनापुरका अध्यक्ष इस्तियाक अहमद साह अनुपस्थित रहे।
दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा बिहान ९ बजे दिउँसो ३ बजेसम्म मतदान भएको थियो।