दमक / दाताहरुले विपन्न परिवारका लागि बाढ्न दिएको चामल खाडलमा गाडेको विषयमा आवाज उठाउँदै आएको झापाको गौरादह नगरपालिकाका युवाहरुको समूह, परिवर्तनका लागि युवा अभियानले चामकल खाडलमा गाडेको विषयको बास्ताविकता बाहिर ल्याउन माग गर्दै सर्बदलिय निष्पक्ष छानविन समिति गठन गर्न माग गरेको छ ।
हिजो नगरपालिकाका प्रतिनिधी तथा शिक्षा शाखाका प्रमूख टेकनाथ रेग्मीलाई सो समूहका सचिव अशोक कार्कीले आफ्ना ४ बुँदे मागसहित ज्ञापन पत्र बुझाउनु भएको छ । सो समूहले नगरपालिकाले नगरको हाताभित्र खाडलमा गाडेको भनेको ३ हजार एक सय २१ केजी चामल खाडलमा गाड्दाको कानुनी प्रक्रियाको बारेमा समेत प्रश्न उठाएको छ । साथै उसले दोशीमाथी कार्बाहिको माग समेत गरेको छ । सो समूहले आफ्नो चित्त नबुझे अझ ससक्त रुपमा प्रस्तुत हुने बताउँदै आएको छ ।
नगर प्रमुख रोहित कुमार शाहलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम भएपनि शाहको अनुपस्थितिमा नगरका प्रतिनिधीका रुपमा रेग्मीलाई ज्ञापन पत्र बुझाएको थियो । ज्ञापनपत्र बुझ्दै रेग्मीले यस विषयमा नगर कार्यपालिकाको आगामी बैठकमा छलफल हुने प्रतिक्रिया दिनुभयो । सो समूहले हिजो ज्ञापनपत्र बुझाउने जानकारी पाएपछि विहानैदेखि नगरपरिसरमा ठूलै संख्यामा प्रहरी परिचालन गरिएको थियो ।