मोरङको सुनवर्सी नगरपालिका ४ गान्धी आश्रममा छोराले ढुंगा प्रहार गरी आफ्नै बाबुको हत्या गरेका छन् । शनिबार घरायसी विवादमा बाबु ६८ वर्षीय तीनताल ताजपुरियालाई ढुंगाले हानेर छोरा ४० वर्षीय कचालु ताजपुरियाले हत्या गरेको जनाइएको छ ।
छोराले मादक पदार्थ सेवन गरी घरमा आएर बाबुलाई ढुंगा प्रहार गरी घाइते बनाएकोमा उपचारका लागि विराटनगरस्थित कोशि अस्पताल लगिएको थियो । कोशि अस्पतालले थप उपचारका लागि सिलिगुढी रेफर गरेकोमा उपचार गर्न नसक्ने आर्थिक अवस्थाका कारण घरैमा फिर्ता ल्याइएको थियो । ढुंगाको प्रहारबाट गम्भीर घाइते तीनतालको आइतबार बिहान ज्यान गएको समाचारमा जनाइएको छ ।
तीनतालले कचालुलाई ५–६ महिनाको उमेरमै धर्मपुत्र स्वीकार गरेका थिए । पक्राउ परेका कचालुले ढुंगाले हानेर बाबुको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।
यसैगरी, खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका २ सोल्माका २८ बर्षीय सुबर्ण राईले आफ्नै बुबाको हत्या गरेका छन् । आज बिहान पौने ५ बजे उनले आफ्नै बुबा ७२ बर्षीय चन्द्र बहादुर राईलाई गर्धनमा खुकुरी प्रहार गरी हत्या गरेको सुचना प्राप्त हुन साथ जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी टोली खटि गई सुबर्णलाई सोही वडाको अल्छेढुंगाबाट पक्राउ गरेको छ । घटना सम्बन्धना थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।