झापा । चारआली–चन्द्रगढी सडकखण्डमा शुक्रबार कार दुर्घटनामा परी एमाले नेता ज्ञानुराम प्रसाईको निधन भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका बिर्तामोड नगरपालिका–१ का प्रसाईको मेची अञ्चल अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उहाँ बिर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतराका पति हुनुहुन्छ ।
चन्द्रगढीतर्फ जाँदै गरेका प्रसाई सवार बा. १६च ८१८२ नम्बरको कार भद्रपुर–९ देवकोटा चोकमा अनियन्त्रित भई सालिक राखिएको कम्पाउन्डमा ठोक्किएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । उहाँ व्यवसायीसमेत हुनुहुन्छ ।
गम्भीर घाइते उहाँलाई मेची अञ्चलअस्पताल लगिएकोमा केही बेरमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।