चन्द्रदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड
असोज ८, कमल/ झापा । चन्द्रदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आज आफ्नो ९ औं वार्षिक साधारणसभा विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष बालकृष्ण गौतमको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेश ढकालको प्रमुख आतिथ्यता रहेको थियो ।
झापाको कमल गाउँपालिका ५ पाडाजुँगीस्थित रहेको साकोसले आफ्नो बार्षिक साधारणसभाको अवसरमा विभिन्न व्यक्तित्वहरुलाई सम्मान तथा पुरस्कृत समेत गरेको छ । संस्थाले स्थानीय रोडस्टार पार्टी प्यालेसमा आयोजना गरेको कार्यक्रममा “चन्द्रदर्शन सहकारी जागरण पुरस्कार”बाट समदर्शी मासिक पत्रिकाका पत्रकार सुसन राईलाई नगद तथा प्रमाण पत्रले सम्मान गर्दे पुरस्कृत गरेको छ । त्यसैगरी साकोसले सामुदायिक विद्यालयबाट र निजि विद्यालयबाट उत्कृष्ट नतिजा ल्याएर एस.ई.ई. मा उतृण हुने दुई छात्र र दुई छात्रालाई नगद १० हजारका दरले प्रदान गर्दे सम्मान गरेको छ । साथै कार्यक्रममा साकोसले उत्कृष्ट बाल बचतकर्ताहरुलाई स्कूल ब्याग र अन्य विभिन्न किसिमका बचतकर्ताहरुलाई प्रमाण पत्रले सम्मान गरेको संस्थाका व्यवस्थापक राजु थापाले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहनुभएका जिल्ला सहकारी संघ झापाको अध्यक्ष गणेश ढकालले नयाँ सहकारी ऐन अनुसार एक व्यक्ति एक सहकारीको नीति अवलम्बन गर्नु परेमा कमल गाउँपालिका क्षेत्रमा यस चन्द्रदर्शन साकोसलाइ रोज्न सकिने बताउनुभयो । साथै शेयर सदस्यहरूले समेत सहकारी नीति सम्बन्धि जानकारी लिन र अध्ययन गर्न आवश्यक रहेको बताउनु भयो । त्यसैगरी कार्यक्रमका बिशिष्ट अतिथि कमल गाउँपाालिका वडा नं. ५ का वडाअध्यक्ष डम्बर निरौलाले सहकारीमा शेयर सदस्य बनेर मात्र नहुने भन्दै सबै शेयर सदस्यहरू व्यवसायीक बन्नु पर्नेमा जोड दिनुभयो ।