दमक/ झापाको दमक नगरपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । दमक नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १ अर्व ६३ करोड ४० लाख ४० हजार रुपैँयाको बजेट नगरसभामा पेष गरेको छ । बजेट तर्जुमा समिती संयोजक तथा उप – प्रमुख रेगिना भट्टराईले सभामा बजेट पेश गर्नु भएको छ । यसमा ८३ करोड ३३ लाख ६० हजार अर्थात कुल बजेटको ५१ प्रतिशित बजेट चालु खर्चमा छुट्ट्याइएको छ भने ८० करोड ६ लाख ७९ हजार रुपैँया अर्थात कुल बजेटको ४९ प्रतिशत पँुजिगत खर्चकालागि छुट्ट्याइएको छ ।
उहाँले पेष गरेका बजेटका श्रोतका आधारमा नेपाल सरकारबाट प्राप्त हुने वित्तिय समानीकरण अनुदात मार्फत २१ करोड ९२ लाख, राजस्व बाँडफाँडबाट १२ करोड ७२ लाख ६१ हजार, प्रदेश सरकारको वित्तिय समानीकरण अनुदानबाट १ करोड २३ लाख ३५ हजार रुपैँँया, प्रदेश सरकारको सवारी साधन कर बाँडफाडबाट ७० लाख ९९ हजार रुपैँया, मालपोत रजिस्ट्रेसन शुल्कबाट १८ करोड, आन्तरिक श्रोतबाट २६ करोड ३७ लाख २२ हजार र जनसहभागीताबाट ५ करोड प्राप्त हुने अनुमान सहितको बजेट उप प्रमुख भट्टराईले नगरसभामा प्रस्तुत गर्नु भयो
घोषित निति तथा कार्यक्रमको पहिलो बुदामा दमकका भूमिहिन तथा सुकुम्बासीका बारेमा उल्लेख गरिएको छ । ‘दमक नगरभित्र स्थायी बसोबास भएका भूमीहीन तथा विपन्न परिवारलाई संरक्षण गर्ने उद्देश्य अनुरुप आर्थिक वर्ष ०७८/७९ सम्ममा दमक वडा नं. १ र ७ मा ३८ वटा विपन्न नमुना घर निर्माण गरी बसोबास गराई सकिएको छ साथै विपन्न आवास कार्यक्रम अन्तर्गत दमक वडा नं. ३ मा ३३ विपन्न परिवारलाई संघीय र प्रदेश सरकार तथा दमक नगरपालिकाको साझेदारीमा व्यवस्थित घर निर्माण गरी बसोबास गराई सकिएको छ ।
आगामी आर्थिक बर्ष ०७९/८० मा पनि सो कार्यक्रमलाई निरन्तरता दिइनेछ साथै खाली रहेका नमुना बस्तीका घरमा विपन्न परिवार पहिचान गरी बसोबासको व्यवस्था मिलाइनेछ ।’ कार्यक्रममा उल्लेख गरिएको छ ।
साथै कार्यक्रमले एक वर्षमा १ हजार विप्पन्न नागरिकलाई निशुल्क स्वास्थ्य बिमा गराउने गरिको कार्यक्रम पनि सार्वजनिक गरेको छ । ‘‘अति विपन्न नागरिकको स्वास्थ्य बीमा गर्नका लागि ‘‘तपाईंको स्वास्थ्य हाम्रो जिम्मेवारी’’कार्यक्रम सञ्चालन गरिने निति तथा कार्यक्रम सार्वजनिक गर्दै नगरकी उप प्रमुख रेगिना भट्टराईले जानकारी गराउनु भयो ।
विप्पन्नताका लागि आर्थिक बर्ष ०७९/८० मा गरिबी न्युनिकरणका लागि विपन्नता पहिचान कार्यविधिका आधारमा सहुलियत कार्ड उपलब्ध गराइने पनि कार्यक्रममा समेटिएको छ ।
कार्ड मार्फत शिक्षा,स्वास्थ्य र खाद्यान्नमा सहुलियत प्रदान गरिने कार्यक्रमलाई निरन्तरता दिइने छ । जस अन्तर्गत क्रमशःसबै अति विपन्न परिवारहरु समेटिने लक्ष लिइएको छ ।
नगरपाकिलाले विप्पन्नताकालागि सहुलियत पसलको व्यवस्था पनि गर्ने निति लिएको छ । ‘कम्तीमा ३०० अति विपन्न परिवार छनौट गरी परिवार संख्याको आधारमा तोकिएको मापदण्ड बमोजिम दैनिक उपभोग्य वस्तु चामल/पिठो,दाल,नुन र तेलमा सहुलियत दिनका लागि नगरपालिकाले तोकिएको पसलबाटसञ्चालन गर्ने व्यवस्था मिलाइने छ । ’ निति तथा कार्यक्रम प्रस्तुत गर्दै उप प्रमुख भट्टराईले बताउनु भयो ।
बजेटले नगरपालिकाको शुसाषन, आर्थिक समृद्धि, लैङ्गीक समानता , समावेशिकरण , न्यायपूर्ण , सन्तुलित र दिगो पूर्वाधार विकासलाई समेत जोड दिने बताइएको छ । प्रस्तुत गरिएको नीति तथा कार्यक्रम एवं बजेटका सम्बन्धमा नगरसभाका सदस्यहरुलाई असार २० गते सम्ममा नगर प्रमुखलाई सुझाव पेश गरिसक्न अनुरोध गरिएको छ । त्यसपछि एघारौ नगरसभाको दोस्रो बैठक असार २७ गते बस्ने नगर प्रमुख राम कुमार थापाले जानकारी दिनुभयो ।
निती तथा कार्यक्रमको पुर्ण अंश
आ.व. २०७९/८०कोवार्षिकनीतितथाकार्यक्रम
सामाजिक विकास
दमक नगरभित्र स्थायी बसोबास भएका भूमीहीन तथा विपन्न परिवारलाई संरक्षण गर्ने उद्देश्य अनुरुप आर्थिक वर्ष ०७८।७९ सम्ममा दमक वडा नं. १ र ७ मा ३८ वटा विपन्न नमुना घर निर्माण गरी बसोबास गराई सकिएको छ साथै विपन्न आवास कार्यक्रम अन्तर्गत दमक वडा नं. ३ मा ३३ विपन्न परिवारलाई संघीय र प्रदेश सरकार तथा दमक नगरपालिकाको साझेदारीमा व्यवस्थित घर निर्माण गरी बसोबास गराई सकिएको छ । आगामी आर्थिक बर्ष ०७९।८० मा पनि सो कार्यक्रमलाई निरन्तरता दिइनेछ साथै खाली रहेका नमुना बस्तीका घरमा विपन्न परिवार पहिचान गरी बसोबासको व्यवस्था मिलाइनेछ ।
जनमुखी कार्यक्रमको रुपमा रहेको सुरक्षित आवास कार्यक्रम अन्तर्गत संघीय सरकारको सहयोगमा ६१६ वटा फुसको छाना भएको घरमा जस्तापाता लगाउने कार्यक्रम चालु आ.व.०७८/७९ सम्ममा सम्पन्न भैसकेको हुँदा यस आ.व. ०७९/८० मा पनि संघीय,प्रदेश तथा नगरपालिकाको साझेदारीमा उक्त कार्यक्रमलाई निरन्तरता दिइनेछ । सो को लागि संघीय सरकार तथा प्रदेश सरकारसँग आवश्यक बजेट माग गरिनेछ ।
सामाजिक विकृति, विसंगति, कुरीति, अन्धविश्वास, कमजोर आत्मबल विरुद्ध नगरपालिकाद्वारा सञ्चालित सचेतना कार्यक्रमका साथै सामाजिक मनोपरामर्श सेवालाई समेत समुदाय स्तरसम्म पुर्याउने कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
नगरपालिका क्षेत्रभित्र रहेका सहकारी, वित्तीय संस्था तथा गैरसरकारी संघसंस्थाहरुको लगानीलाई नगरपालिकाको प्राथमिकता अनुसारका कार्यक्रममा लगानी तथा सहकार्य गर्न अभिप्रेरित गरिनेछ ।
दमक नगरपालिकालाई बालमैत्री नगर घोषणा गर्ने गरी आवश्यक योजना बनाई विद्यालय तथा वडा स्तरमा बालक्लव गठन, बालमैत्री स्थानीय शासन समुदाय स्तरको समिति, वडास्तरीय समिति गठनको कार्य भइरहेको हुँदा आगामी २ बर्षभित्र दमक नगरपालिकालाई बालमैत्री नगर घोषणा गरिनेछ ।
नगरको समृद्धि र विकासका क्षेत्रमा उत्कृष्ट योगदान गर्ने व्यक्तित्वलाई सम्मान र पुरस्कृत गर्ने नीतिलाई निरन्तरता दिइनेछ ।
समुदाय परिचालनका लागि नगरपालिकामा दर्ता भई क्रियाशील रहेका टोल विकास संस्थाहरुको क्षमता अभिवृद्धि गरी वडाको सहयोगी एकाइको रुपमा परिचालन गरिनेछ ।
अति विपन्न नागरिकको स्वास्थ्य बीमा गर्नका लागि “तपाईंको स्वास्थ्य हाम्रो जिम्मेवारी” कार्यक्रम सञ्चालन गरिनेछ ।
नगरका अति विपन्न वर्गको पहिचान गरी खाना, नाना र छानाको सुनिश्चितताका लागि “विपन्न वर्गमा नगरपालिका” कार्यक्रम सञ्चालन गरिनेछ ।
आर्थिक बर्ष ०७९/८० मा गरिबी न्युनिकरणका लागि विपन्नता पहिचान कार्यविधिका आधारमा दमक नगरपालिकाभित्र स्थायी बसोबास गरेका अति विपन्न परिवारलाई नगर सहुलियत कार्ड मार्फत शिक्षा, स्वास्थ्य र खाद्यान्नमा सहुलियत प्रदान गरिने कार्यक्रमलाई निरन्तरता दिइने छ । जस अन्तर्गत क्रमशः सबै अति विपन्न परिवारहरु समेटिनेछन् ।
एकल महिला, अपाङ्गता, द्वन्द्वपीडित, जेष्ठ नागरिक, असहाय, जोखिममा रहेका विपन्न १००० परिवारको निःशुल्क स्वास्थ्य बीमा गर्ने व्यवस्था मिलाइने छ । निःशुल्क स्वास्थ्य बीमाका लागि वडा स्तर कार्यक्रमवाट ३०० परिवार र नगर स्तर कार्यक्रमबाट ७०० परिवार लाभान्वित हुनेछन् ।
कम्तीमा ३०० अति विपन्न परिवार छनौट गरी परिवार संख्याको आधारमा तोकिएको मापदण्ड बमोजिम दैनिक उपभोग्य वस्तु चामल/पिठो, दाल, नुन र तेलमा सहुलियत दिनका लागि नगरपालिकाले तोकिएको पसलबाट सञ्चालन गर्ने व्यवस्था मिलाइनेछ,
विपन्न पहिचान कार्यविधि बमोजिम छनौट भएका अति विपन्न ३०० परिवारलाई नगरपालिका तथा वडाबाट प्रदान हुने सिफारिस निःशुल्क गरिनेछ । साथै सीप, क्षमता विकास र रोजगारसँग सम्बन्धित कार्यक्रमहरुमा प्राथमिकता दिइनेछ,
विपन्न, दलित, एकल महिला, अपाङ्गता भएका र यौनिक अल्पसंख्यकहरुलाई आत्मनिर्भर बनाउन कम्तीमा ५ वटा समुहलाई तालिम, औजार उपकरण, बीउबिजन र मल उपलब्ध गराएर स्वरोजगार हुन प्रोत्साहन गरिनेछ,
असंगठित क्षेत्रमा काम गर्ने मजदुरलाई बचत गर्ने बानीको विकास गर्न मजदुरहरुको अभिलेख संकलन गरी छुट्टै कार्यविधि मार्फत नगरपालिकाले कोषको स्थापना गरी मासिक बचत गर्ने व्यवस्था मिलाइने छ ।
अति विपन्न, अनाथ एवं असहाय महिला, बालबालिका वा आपतविपतमा परेका र अन्य विविध कारणले मानसिक तनाब लिई बाँच्न बाध्य नागरिकको जीवनरक्षा र आत्म सम्मानका लागि तत्काल राहत, उद्धार, औषधीउपचार र पुनर्स्थापनाका लागि “सबैका लागि सबै, कोहि एक्लो छैन” कार्यक्रम अन्तर्गत तत्काल आवश्यक व्यवस्था मिलाइने छ । यसका लागि विपन्न उत्थान कार्यक्रम, जनता आवास र नगर प्रमुख/उपप्रमुख विशेष कोषमा बजेटको व्यवस्था गरिनेछ ।
महिला तथा अपाङ्गता भएका समुहद्वारा सञ्चालित र उद्यम विकास कार्यक्रम अन्तर्गत गठित उद्यमी समुहहरुलाई व्यावसायिक बनाउन कर छुट दिने नीति लागू गरिनेछ ।
सामाजिक संघसंस्थाहरुको संस्थागत विकास तथा क्षमता अभिवृद्धि सम्बन्धी कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
दमक नगरपालिका क्षेत्रभित्रका ६८ बर्ष भन्दा माथिका जेष्ठ नागरिक र पूर्ण अपाङ्गता भएका लाभग्राहीहरुलाई मनमोहन अधिकारी स्मृति सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत नगरपालिकाको आन्तरिक स्रोतबाट बार्षिक रु. २०००।- का दरले चाडपर्व खर्च उपलव्ध गराउने कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
न्याय क्षेत्रको कामलाई थप व्यवस्थित र छिटो छरितो बनाउन मेलमिलाप समितिलाई समसामयिक तालिम र क्षमता अभिवृद्धि सम्बन्धी कार्यक्रमहरुलाई निरन्तरता दिइनेछ ।
“सडक मानव रहित शहर, दमक नगर” कार्यान्वयन गर्न उपयुक्त कार्यक्रमको व्यवस्था गरिने छ । साथै छिमेकी पालिकाहरुसँग सहकार्य र समन्वय गरी असहाय संरक्षण केन्द्रको स्थापना गर्न पहल गरिनेछ । संरक्षण केन्द्र स्थापना नभएसम्म निजी क्षेत्रद्वारा सञ्चालित संघसंस्थाहरुसँग समन्वय गरी संरक्षणका लागि आवश्यक व्यवस्था मिलाइनेछ ।
दमक नगरपालिकाभित्र रहेका जेष्ठ नागरिकहरुलाई निःशुल्क मोतिविन्दु तथा प्रोस्टेटको उपचारका लागि स्वास्थ्य संस्थाहरुसँग सहकार्य गरिनेछ साथै अशक्त जेष्ठ नागरिकहरुलाई घरदैलोमै प्राथमिक स्वास्थ्य सेवा उपलव्ध गराउने व्यवस्था गरिनेछ ।
भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीहरुका लागि बसोबासको व्यवस्था गर्न नेपाल सरकारद्वारा उच्चस्तरीय समिति गठन भई नगरपालिकाको समन्वयमा कार्यक्रम सञ्चालन भइरहेको छ । नेपाल सरकारले गठन गरेको राष्ट्रिय भूमि आयोगले नगरपालिकाभित्र कार्यालय स्थापना गरी कार्य गरिरहेको छ । उक्त आयोगले विवरण अध्यावधिक गरी आर्थिक वर्ष ०७९/८० मा धनीपूर्जा वितरण गर्ने गरी कार्यक्रमलाई तीव्रता दिइनेछ ।
दमकमा जिल्लास्तरीय एक सुविधा सम्पन्न लागूऔषध पुनर्स्थापना केन्द्र स्थापना गर्न पहल गरिने छ र सो स्थापना नहुन्जेल निजी तथा सामुदायिक क्षेत्रबाट दमक नगरमा नै सञ्चालित लागूऔषध पुनर्स्थापना केन्द्रसँग सहकार्य गरिनेछ ।
बेरोजगार युवा तथा महिलाहरुलाई स्वरोजगार कार्यक्रमका लागि नगरपालिकाको पहलमा बैंक तथा वित्तीय संस्थामार्फत सहुलियत ऋण सुविधा उपलव्ध गराउन सहजीकरण गरिनेछ ।
अपाङ्गता भएका, असहाय, अशक्त, दलित, अल्पसंख्यक, पिछडा वर्ग एवम् विकास र समृद्धिबाट हालसम्म पछि पारिएका वर्गको उत्थानका लागि विशेष कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
प्रथम नागरिक धिमाल जातिको उत्थान र विकासका लागि आवश्यक कार्यक्रम र बजेटको व्यवस्था गरिने छ । यसका लागि प्रदेश र संघीय सरकारसँग समेत पहल गरिनेछ ।
दमक नगरमा रहेका विभिन्न सांस्कृतिक संघसंस्था तथा समुहहरुलाई दमक प्रज्ञा प्रतिष्ठान मार्फत संरक्षण, सम्वर्द्धन र प्रोत्साहन गरिनेछ ।
दमक ५ स्थित दिपिनी आ.वि. को सटरमा रहेको साझा सिलाई केन्द्रको सञ्चालन गरी सामुदायिक विद्यालयका कक्षा १ सम्मका बालबालिकाहरुलाई निःशुल्क विद्यालय पोसाकको व्यवस्था गरिने छ । साझा सिलाई केन्द्र सञ्चालन तथा व्यवस्थापनका लागि विशेष बजेटको व्यवस्था गरिनेछ ।
नगर क्षेत्रभित्र रहेका आदिवासी, जनजातिहरुको उत्थानका लागि विशेष कार्यक्रम सञ्चालन गरिनेछ ।
गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम सञ्चालनलाई निरन्तरता दिइनेछ । उक्त कार्यक्रमलाई आ.व. ०७९।८० मा थप २ वटा वडामा विस्तार गरी नयाँ १०० उद्यमी सृजना गरी उद्यममा प्रोत्साहित गरिनेछ ।
समुदायमा रहेको अस्तव्यस्त रोगग्रस्त जीवनशैलीलाई व्यवस्थापन गर्न रोग लाग्नु अगावै रोग लाग्न नदिन तथा दीर्घ रोगलाई योग साधनाको माध्यमबाट निर्मुल र नियन्त्रण गर्न वडावडामा योग शिविर सञ्चालन गरिने छ । साथै जनप्रतिनिधि र कर्मचारीहरुका लागि क्षमता विकास कार्यक्रम सञ्चालन गरिनेछ ।
दमक नगरपालिकामा सञ्चालन भईरहेको अष्ट्रेलियन सरकार तथा द एसिया फाउण्डेसनको स्थानीय सरकार सबलीकरण कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
सुरक्षित आप्रवासन (SAMI) परियोजना कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
दमक नगरपालिका क्षेत्रभित्र रहेका अनाथ बाल वृद्धाश्रम दमक-९, रत्ना वृद्धाश्रम दमक-४, हाम्रो बाल आश्रम दमक-२ को सञ्चालन तथा व्यवस्थापनका लागि आवश्यक सहयोग तथा समन्वय गरिनेछ ।
मुस्लिम समुदायका बालबालिकाहरुलाई विद्यालय जान प्रोत्साहन गरिनेछ । साथै मुस्लिम महिलाहरुको उत्थान तथा जिविकोपार्जनका लागि विशेष कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
“दमकका नारी विकासमा बराबरी” भन्ने मुल नाराका साथ महिलाहरुको क्षमता तथा आर्थिक विकास साथै महिलाहरुलाई रोजगार बनाउने उद्देश्यले विभिन्न किसिमका रोजगारमुलक कार्यक्रम सञ्चालन गरिनेछ ।
विभिन्न जातजाति, भाषाभाषी, भेषभुषा, संस्कार, संस्कृति, असल परम्पराको सम्वर्द्धन तथा प्रवर्द्धनका लागि विशेष कार्यक्रम सञ्चालन गरिनेछ ।
दमकका वडाहरुमा विगत वर्षदेखि सञ्चालनमा रहेका नागरिक सचेतना केन्द्रका ५० विपन्न परिवारलाई “एक देउ एक लेउ” कार्यक्रम अन्तर्गत पशुधन वितरण गरिनेछ । यो कार्यक्रमलाई क्रमशः अन्य परिवारमा विस्तार गर्दै लगिनेछ ।
विभिन्न विषयक्षेत्रमा आधारभूत सीप हासिल गरी बसिरहेका कम्तीमा ५० जनालाई उत्पादनसँग जोड्न सि.टि.इ.भि.टि. को तह १ परिक्षामा सहभागी गराइनेछ ।
दमक नगरपालिकासँग यातायातको माध्यमबाट पहुँच अभिवृद्धि भएका छिमेकी पालिकाहरुसँग यातायत लाई उत्पादनको माध्यमबाट जिविकोपार्जन तथा आयआर्जनसँग जोड्न गाउँ-नगर अन्तर सम्वन्धको विकास गरिनेछ ।
मावा र रतुवा खोलाधारमा रहेको खाली जमिनमा बगरखेतीको सम्भाव्यता अध्ययन गरी विपन्न परिवारलाई सामुहिक बगरखेतीको लागि प्रोत्साहन गरिनेछ ।
दलितहरुको परम्परागत सीपलाई समय सापेक्ष बनाउँदै लैजान थप सीप र आधुनिक प्रविधि उपलब्ध गराउँदै लगिनेछ । जसबाट आयआर्जनमा थप वृद्धि हुने र पुस्तामा सीप हस्तान्तरण हुँदै जानेछ ।
एक घर एक धारा ट्युववेल, एक शौचालयको शुनिश्चितता गरिनेछ ।
कोहि एक्लो छैन, हामी सबै साथमा छौ भन्ने प्रत्याभूति दिन आम नगरवासी र संघ-संस्थासँग साझेदारी गरी अभियान सञ्चालन गरिनेछ ।
१० वर्ष मुनिका बालबालिकाहरुलाई व्यावहारिक र नैतिक शिक्षा प्रदान गर्न प्रत्येक हप्ताको एक दिन सामुदायिक सिकाई केन्द्रबाट एक एक वटा अनौपचारिक कक्षा सञ्चालन गरिनेछ ।
नगरपालिका क्षेत्रभित्र रहेका सबै धार्मिक, शैक्षिक, सार्वजनिक स्थल तथा पूर्वाधारहरुको लगत अद्यावधिक गरिनेछ ।
प्लटिङ गरी खाली तथा बाँझो रहेका जग्गाहरुमा जग्गाधनीसँग समन्वय गरी भूमिहिनहरु मार्फत कृषि खेतीपातीका लागि प्रोत्साहन गरिनेछ ।
दमकका मुख्य चौक क्षेत्र, बढी आवतजावत हुने सडक, व्यावसायिक क्षेत्रमा सि. सि.टि.भि. क्यामेरा तथा सडक बत्ती जडान गरी यस्ता क्षेत्रहरुमा नागरिक सुरक्षाको व्यवस्था मिलाइनेछ ।
साहित्य, कला, भाषा, धर्म र संस्कृतिको प्रवर्द्धन लागि सरोकार निकायसँग आवश्यक सहयोग र समन्वय गरिनेछ ।
उपयुक्त स्थानको पहिचान गरी पितृ कार्यका लागि एक किरीया घर निर्माण गर्न धार्मिक/सामाजिक संघसंस्थाहरुसँग आवश्यक समन्वय गरिनेछ ।
दमक क्षेत्रभित्रका विपन्न परिवारलाई निःशुल्क शववाहनको व्यवस्था गरिनेछ ।
75 वर्षभन्दा माथिका जेष्ठ नागरिकहरुलाई घरघरमै प्राथमिक स्वास्थ्य सेवा उपलब्ध गराइनेछ ।
दमक नगरपालिकाभित्र रहेका विद्यार्थी, यूवा र महिलाहरुलाई उत्पादन, व्यवसाय र रोजगारमा आबद्ध गर्नका लागि आवश्यक कार्यक्रम तर्जुमा गरी लागू गरिनेछ ।
आर्थिक विकास
“दमकका महिला, उद्यम गरौँ पहिला” भन्ने मूल नाराका साथ महिलाहरूलाई रोजगार बनाउने उद्देश्यले सञ्चालित लघु उद्यमलाई आर्थिक वर्ष ०७९/80 मा स्तरवृद्धि गरी उद्योगको रूपमा विकास गरिनेछ ।
विकास र समृद्धिको मूलधारबाट विभिन्न कारणले पछाडि पारिएका महिला, आदिवासी, जनजाति, दलित, अपाङ्गता भएका व्यक्तिहरु, मधेशी, मुस्लिम र पिछडा वर्ग साथै यौनिक अल्पसंख्यक समुदायको सशक्तीकरणका लागि प्राथमिकताका साथ कार्यक्रम सञ्चालन गरिनेछ । यसका लागि वडा र नगर स्तरमा विभिन्न कार्यक्रम सञ्चालन गरिनेछ ।
लक्षित वर्ग तथा समुदायको सीप तथा क्षमता अभिवृद्धिका लागि विभिन्न सरकारी तथा गैर सरकारी निकाय र संघ संस्थाहरूसँग सहकार्य गर्ने नीतिलाई निरन्तरता दिइनेछ ।
सहकारी
सहकारी संस्था सञ्चालनका लागि तालिम / अन्तरक्रिया / गोष्ठी जस्ता कार्यक्रम सञ्चालन गरी संस्था सञ्चालक र कर्मचारीहरुको क्षमता अभिबृद्धि गरिनेछ ।
प्रत्येक सहकारी संस्थाहरुलाई सहकारी विभागद्वारा विकास गरिएको सहकारी तथा गरिबी सम्बन्धी व्यवस्थापन सुचना प्रणाली (COPOMIS) मा जोड्दै लगिनेछ र सहकारी संस्थाहरुलाई प्रविधिमैत्री बनाईनेछ ।
सहकारी संस्थाहरुलाई संस्थाको उदेश्य वमोजिमका कार्यहरु गर्न संस्थाले गर्ने लगानीलाई उत्पादनसँग जोड्न प्रेरीत गरिनेछ । उदेश्य वमोजिमका कार्य गर्ने सहकारी संस्थाहरुलाई पुरस्कृत गर्ने, सहकारी कानूनमा उल्लेख भए वमोजिम जरिवाना हुने कार्य गरेमा जरिवाना गरिनेछ साथै कसुर जन्य कार्य गर्नेलाई अनुसन्धानको लागि सम्बन्धित निकायमा लेखी पठाईनेछ ।
प्रचलित सहकारी कानून वमोजिम सञ्चालन भई संस्थाको उदेश्य वमोजिम व्यवसायीक उत्पादनमा सफल सहकारी संस्थाहरुलाई बिउ पूँजी अनुदानको व्यवस्था गरिनेछ ।
देशका बिभिन्न स्थानमा सञ्चालनमा रहेका बिभिन्न प्रकृतिका र उदेश्य वमोजिमका कार्य गरेका सफल सहकारी संस्थाहरुको अवलोकन भ्रमण गराई त्यस्ता सहकारी संस्थाहरुले गरेको प्रगती, संस्थाका सदस्यहरुको आर्थिक उन्तिका बारेमा जानकारी लिने र त्यस्ता उपाय/तौर/ तरिकाहरुको अवलम्वन गर्न प्रेरित गरिनेछ ।
दमक नगरपालिका नगर कार्यपालिकाको आर्थिक विकास तथा सहकारी शाखाले आफ्नो नियमन क्षेत्राधिकार भित्रका सहकारी संस्थाको नियमनका लागि आवश्यक नियमावली, कार्यविधि, मापदण्ड, निर्देशिका लगायतका कानूनहरु निर्माण गरिनेछ ।
सहकारी संस्थाहरुको प्रभावकारी नियमन द्वारा संस्थाका सदस्यहरु र समग्र संस्थाको प्रवर्द्धनका लागि प्रचलित सहकारी ऐन,नियम,निर्देशिका,मापदण्ड वमोजिम अवलम्वन गर्नुपर्ने नीतिहरु दमक नगरपालिका नगर कार्यपालिकाको कार्यालय, आर्थिक विकास तथा सहकारी शाखाको नीति हुनेछ ।
पूर्वाधार विकास
बजार क्षेत्रका मूख्य सडकहरूमा क्रमशः वृक्षरोपण र रेलिङ सहितको फुटपाथ निर्माण गरी सौन्दर्यकरण गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।
मावा र रतुवा नदीमा स्थायी तटबन्धको आवश्यक व्यवस्थाका लागि संघीय सरकार र प्रदेश सरकार तथा दातृ निकायहरूसँग समन्वय गरी नदी नियन्त्रणका लागि भइरहेको कार्यमा अझ तीव्रता ल्याउन पहल गरी आगामी ५ वर्षभित्र तटबन्ध निर्माणको कार्य सम्पन्न गर्ने लक्ष्य राखिनेछ ।
दमक बजारको पुरानो सुनचाँदी लाइनमा Underground Parking सहितको आधुनिक व्यापारिक भवन निर्माण गर्न डि.पि.आर. स्वीकृत भई नगर विकास कोषबाट रू. 42 करोड 80 लाख, 3 हजार,आठ सय रुपैयाँ बराबरको ऋण सहयोग प्राप्त भई दमक नगरपालिकासँग सम्झौता भईसकेकोले प्रारम्भिक वातावरणीय अध्ययन प्रतिवेदन तयार गरी आ.व. 079/80 मा निर्माण कार्य अघि बढाइनेछ ।
दमक 2 स्थित हम्सेदुम्से सामुदायिक वनको पूर्व रतुवा नदीमा डि.पि.आर. अनुसारको मुक्तिघाट निर्माण कार्यका लागि रू ५० लाख बराबरको दुई वटा वेदी निर्माणका लागि ठेक्का लागिसकेको र आ.व. 079/80 मा थप संरचना बनाउन प्रकृया अगाडि बढाइनेछ ।
दमक सभाहल, दमक भ्यू टावर, नेपाल चाइना इण्डष्ट्रियल फ्रेण्डसिप पार्कजस्ता राष्ट्रिय गौरवका आयोजनाहरू निर्माण सम्बन्धी प्रक्रिया अघि बढिरहेको छ । यी आयोजनाहरूको निर्माण कार्य समयमै सम्पन्न गर्न आवश्यक समन्वय, सहजीकरण र पहल गरिनेछ । दमक सभागृहको निर्माण कार्य सम्पन्न हुने अवस्थामा रहेकोले सो सभागृह सञ्चालनको आवश्यक प्रबन्ध गरिनेछ ।
दमक बसपार्कको क्षेत्र साँघुरिदै गएकोले सो बसपार्कलाई Multi Layer City Park को रूपमा निर्माण गर्न शहरी विकास मन्त्रालयबाट डि.पि.आर. तयार भइसकेको छ । आ.व. 079/80 मा संघीय सरकारको समन्वयमा निर्माण प्रक्रिया अघि बढाइनेछ । साथै फाल्गुनन्द बसपार्कको डिपिआर तयार गरी आ.व. 079/80 मा संघीय सरकारको समन्वयमा निर्माण प्रक्रिया अघि बढाइनेछ ।
दमक – रवि – चिसापानी सडकको चुरे फेदीदेखि रतुवा किनार हुँदै दमक बसपार्क खण्ड विस्तारका लागि डिपिआर तयार भइसकेकोले आ.व. 079/80 मा सोही क्षेत्रबाट सडक विस्तार गर्न संघीय सरकारसँग आवश्यक पहल गरिनेछ ।
दमक नगरमा राष्ट्रिय विभूति तथा श्रष्टाहरूको स्मारक निर्माण गर्ने कार्यलाई निश्चित स्थानको पहिचान गरी संस्कृति तथा काव्य वाटिकाको रूपमा विकास गर्न सम्भाव्यता अध्ययन गरी निर्माण थालनी गरिने छ । यसका लागि प्रदेश तथा संघीय सरकारसँग समेत आवश्यक समन्वय गरिनेछ ।
नगरभित्र स्वच्छ खानेपानीको व्यवस्थाका लागि खानेपानी उपभोक्ता संस्था, दमक मार्फत खानेपानी व्यवस्थापनको कार्य भइरहेको छ । साथै वडा नं. २, ३, र ४ मा संघीय सरकार र नगरपालिकाको सहकार्यमा तथा वडा नं. १० मा प्रदेश सरकारबाट आयोजना निर्माण कार्य प्रारम्भ भएकोले उक्त आयोजनाहरू समयमा नै सम्पन्न गर्न समन्वय र सहजीकरण गरिनेछ तथा खानेपानी नपुगेको अन्य क्षेत्रमा खानेपानीको व्यवस्था गर्न आवश्यक पहल गरिनेछ ।
नगरपालिकाबाट स ञ्चालित अधुरा तथा क्रमागत आयोजनाहरूलाई उच्च प्राथमिकता दिई आर्थिक वर्ष ०७९/८० मा सम्पन्न गरिनेछ ।
दमक नगर क्षेत्रका सम्पूर्ण सडक तथा चोकहरूको नामाकरण, स्तर र मापदण्ड तोकी व्यवस्थित गरिनेछ । साथै टोल बस्ती भएका र मुख्य सडक सञ्जालसँग जोडिने सबै कच्ची सडकहरूलाई आर्थिक वर्ष ०७९/८० मा स्तरोन्नति गर्दै लगिनेछ ।
नगर क्षेत्रभित्रका सडकहरूको विकास, विस्तार र स्तरोन्नतिका लागि तयार भएको नगरस्तरीय यातायात व्यवस्थापन योजना (MTMP) लाई अध्यावधिक गर्दै नगर वृहत योजना, २०७७ अनुसार योजना तथा कार्यक्रम सञ्चालन गरिनेछ ।
नगर क्षेत्रभित्र प्रवेशद्वार निर्माण गर्नुपरेमा निर्धारित मापदण्डका आधारमा मात्र निर्माण स्वीकृती दिने नीति अवलम्बन गरिनेछ ।
नगरभित्र सञ्चालन हुने भौतिक पूर्वाधार विकासका कार्यक्रमहरूमा जनसहभागिता अभिवृद्धि गर्न, गुणस्तर कायम गर्न र अपनत्वको भावनाको विकास गर्न शहरी क्षेत्रमा ४० प्रतिशतसम्म र ग्रामीण क्षेत्रमा २० प्रतिशत सम्म जनसहभागिता जुटाउने नीतिलाई प्राथमिकता दिइनेछ । अति विपन्न, विकास र समृद्धिको मूलधारबाट हालसम्म पछाडी पारिएका वर्गको बसोबास भएको क्षेत्र तथा गौरवको रूपमा नगरपालिका आफैले निर्माण गर्ने पूर्वाधारहरूको हकमा न्यून जनसहभागिता वा जनसहभागिताको रकम समावेश नगरी आयोजना र कार्यक्रम सञ्चालन गर्न सकिनेछ ।
निर्माण सम्पन्न भएका ठूला पक्की संरचनाहरूमा निर्माण भएको साल अंकित गरिनेछ ।
नगरको पश्चिम सीमानास्थित लोकमार्गमा दमक प्रवेशद्वार निर्माणका लागि डिपिआर तयार भइसकेको र मदन भण्डारी राजमार्गको पश्चिम प्रवेशद्वारमा डिपिआर तयार गरी आर्थिक वर्ष ०७९/८० मा सार्वजनिक निजी साझेदारी मोडलबाट निर्माण प्रकृया अघि बढाइनेछ।
प्रत्येक आयोजनाको निर्माण कार्य सम्पन्न भएपश्चात् अनिवार्य मर्मत संभार कोष स्थापना गरी उपभोक्ता समितिमार्फत नियमित मर्मत सम्भार गर्ने व्यवस्था गरिनेछ ।
शहरी क्षेत्रका सबै सडकहरु र ग्रामीण क्षेत्रका पक्की र ठूला ग्राभेल सडकहरुको नियमित सरसफाई गर्न सम्बन्धित उपभोक्ताहरुलाई जिम्मेवार बनाउँदै निश्चित क्षेत्रभित्र पर्ने सडकहरु सरसफाई गर्ने जनशक्ति (हेरालु) को व्यवस्था गरिनेछ ।
दमक ७ को पञ्चमुखी टोलस्थित दमक नगरपालिकाको जग्गामा सार्वजनिक निजी साझेदारी मोडलबाट बजेट व्यवस्थापन हुने गरी आ.व. 079/80 मा व्यावसायिक पसल कवल निर्माणको प्रक्रिया अगाडि बढाइनेछ ।
नाला निर्माण गर्दा पानी निकास अनिवार्य हुनुपर्नेछ, साथै ढक्कन बिनाको नाला निर्माण गरिने छैन । पुराना नालाहरु प्रायः पानी नबग्ने र ढक्कन बिनाको भएकोले आगामी दिनमा नालाको बेड लेभल पानी बग्ने गरी पुननिर्माण गरी ढक्कन हाल्ने कार्यलाई प्राथमिकतामा राखिनेछ ।
दमक क्षेत्रका सबै होली खोल्सीहरुको न्यूनतम अधिकार क्षेत्र २०‘ फिट भन्दा कम नहुने गरी कायम गरी सरसफाई र सौन्दर्यकरण कार्यलाई प्राथमिकता दिइनेछ । साथै घर, गोठ, फार्म, शौचालयबाट दिशा पिशाब, मलमूत्र लगायत कुनैपनि प्रकारका दूषित पदार्थ होली खोल्सीमा बगाउने कार्य पूर्ण रुपमा निषेध गरिनेछ ।
तीव्र शहरीकरणसँगै सडक दायाँबायाँ गाडिएका विद्युत, टेलिफोन, केबुल आदिको पोलहरु प्रायः जोखिमपूर्ण र अव्यवस्थित भएको तथा पोलमा हजारौं तारहरु गुजुल्टो परी शहरलाई अत्यन्त कुरुप बनाएको, जनधनको क्षति हुने जोखिम बढिरहेको साथै अधिकांश पोलहरु लड्ने अवस्थामा रहेको हुनाले सोको समयमै मर्मतसम्भार र व्यवस्थापन गरी सुन्दर र सुरक्षित शहर बनाउन सम्बन्धित निकायसँग समन्वय र सहकार्य गरिनेछ ।
सडक ग्राभेल कार्यको गुणस्तर कायम गर्न रतुवा खोलाको मिक्स गिट्टी पुर्ने कार्यका लागि बाहेक प्रयोग गर्नु परेमा अनिवार्य रुपमा प्रयोगशाला परीक्षण गरेर मात्र प्रयोग गरिनेछ । मावाखोलाको ताराबारी डिपु पश्चिमदेखि उत्तरको मिक्स गिट्टी आवश्यक परेमा प्रयोगशाला परिक्षण गरी प्रयोग गरिनेछ ।
भित्री साना सडक र हलुका सवारी साधन मात्र चल्ने सबै बाटोहरुमा कालोपत्रेको सट्टा इन्टरलक टाइल्स हालिनेछ तर पक्की नाला वा कम्तीमा protection wall अनिवार्य निर्माण भएको हुनुपर्नेछ ।
ठूला सडकहरुमा कालोपत्रे गर्नुपर्दा न्यूनतम ४० मि.मि. मोटाइको आस्फाल्ट कंक्रिट गरिनेछ, साथै सबै सडकहरुमा हम्स (speed breaker) निर्माण गर्न निषेध गरिनेछ, बनाउनै पर्ने स्थानमा नगरपालिकाबाट स्वीकृति लिई मापदण्ड अनुसारको निर्माण गर्न सकिने व्यवस्था मिलाइनेछ ।सडक दुर्घटना हुने जोखिम क्षेत्रमा ट्राफिक सूचना पाटी अनिवार्य राख्ने व्यवस्था गरिनेछ ।
नगरपालिकामा सञ्चालन हुने आयोजनाहरुको गुणस्तर परीक्षण तथा नियन्त्रण गर्नका लागि स्थापना भएको इन्जिनियरिङ प्रयोगशालालाई थप व्यवस्थित र आधुनिक बनाई योजनाहरुको गुणस्तर परीक्षण गरिनेछ । सो को लागि पर्याप्त जनशक्ति तथा उपकरणको व्यवस्था गरी बजारमा उपलब्ध भएका निर्माण सामग्रीहरुको कम्तीमा वर्षमा १ पटक परीक्षण गर्ने व्यवस्था मिलाइनेछ ।
सिमेन्ट मसला प्रयोग गरी निर्माण हुने आयोजनाहरुमा मापदण्ड अनुसार पर्याप्त पानी हाल्ने कार्य (Curing) लाई अनिवार्य गर्न सम्बन्धित उपभोक्ता समिति वा निर्माण व्यवसायीलाई जिम्मेवार बनाइनेछ । सम्बन्धित उपभोक्ता वा निर्माण व्यवसायीले उक्त कार्य नगरेमा नगरपालिका आफैले पानी हाल्ने कार्य गराई सो कार्यमा लागेको रकम कट्टा गरी भुक्तानी दिइनेछ ।
आगामी बर्ष दमक नगरपालिका क्षेत्रमा भू-उपयोग नीति कार्यान्वयनमा ल्याइनेछ।
हेभी सवारी साधनहरुलाई वैकल्पिक रुटको व्यवस्था गरी रुट (सडक र समय) कायम गर्ने व्यवस्था मिलाइनेछ।
सामुदायिक भवन निर्माण गर्दा पर्याप्त घामपानी छेक्ने गरी छज्जी राख्नुपर्ने साथै भुईंमा वरिपरि पेटी (एप्रोन) र नाला समेत निर्माण गर्ने व्यवस्था लागू गरिनेछ ।
सबै सरकारी वा निजी भवन निर्माण गर्दा कुर्सी लेभल (Plinth Height) समान उचाईमा हुने गरी कायम गर्ने व्यवस्था मिलाइनेछ ।
सबै संरचनाहरु निर्माण गर्दा बहुमैत्री (अपाङ्गता, ज्येष्ठ नागरिक, महिला, बालबालिका, यौनिक अल्पसंख्यक आदि) को पूर्ण कार्यान्वयन गरी पूर्वाधार निर्माण गर्ने व्यवस्था मिलाइनेछ।
प्रत्येक बाटो निर्माण गर्दा रेलिङ्ग सहितको फुटपाथको डिजाइन अनिवार्य गर्नुपर्ने व्यवस्था मिलाइनेछ । ठूला बाटोहरुको हकमा साइकल लेनको समेत व्यवस्था गर्दै लगिनेछ।
दमक नगरपालिकाको समग्र भूगोलको आधारमा पानी निकासको गुरुयोजना बनाइनेछ । साथै स्थलगत सर्भे गरी पुरानो नालाको पुनः निर्माणको समेत गुरुयोजना बनाई कार्यान्वयनमा ल्याउने व्यवस्था मिलाइनेछ ।
ठेक्का सम्झौता गर्दा निर्माण व्यवसायीलाई आयोजना निर्माणको Specification अनिवार्य बुझाइने नीतिलाई कार्यान्वयन गर्दै निर्माण व्यवसायीले कार्यतालिका (work Schedule) अनिवार्य पेश गर्नुपर्ने व्यवस्था गरिनेछ ।
भवन, कल्भर्ट आदिको निर्माण कार्यमा आर.सि.सि. ढलाई गर्दा निर्माण व्यवसायी वा उपभोक्ताले अनिवार्य फलामको टेका र वाटर प्रुफ प्लाइउडको फर्मा प्रयोग गर्नुपर्ने मापदण्ड कडाईका साथ कार्यान्वयन गराइनेछ।
कुनैपनि आयोजनाको निर्माण कार्यमा सिमेन्ट मसला बनाउँदा मान्छेले हातले बनाउने कार्यलाई पूर्ण निरुत्साहित गर्दै मिक्चर मेशिन, आर.एम.सी. को प्रयोगलाई अनिवार्य गरिनेछ ।
प्रत्येक आयोजनाको ठेक्का सूचना प्रकाशन हुनुभन्दा अगावै डि.पि.आर. माथि विष्तृत छलफल पछि डिजाइन, ड्रइङ्ग, इस्टिमेट स्वीकृत गरी सो अनुसारको ठेक्का सूचना प्रकाशन गर्ने प्रकृयालाई पूर्ण कार्यान्वयनमा ल्याइनेछ ।
आयोजनाको डि.पि.आर. तयार गर्दा सम्बन्धित वडाको वडाध्यक्ष र वडा प्राविधिक, नगरपालिकाको इन्जिनियरिङ प्राविधिक तथा सम्बन्धित सरोकारवालाहरुलाई सहभागी तथा जानकारी गराई विष्तृत छलफल गरेर मात्रै फाइनल गर्नुपर्नेछ । साथै सम्पूर्ण Softcopy तथा Hardcopy लगायतका कागजात पेश गरेपछि मात्र भुक्तानीको लागि सिफारिस गरिनेछ ।
सडकमा निर्माण सामग्रीहरु अव्यवस्थित रुपले थुपारेर राख्न पाइने छैन । पक्की सडकमा त्रिपाल ओछ्याएर मात्र निर्माण सामग्री अनलोड गरी 24 घण्टाभित्र सडक क्षेत्रबाहिर आफ्नो घर कम्पाउण्डभित्र लानुपर्नेछ, साथै सडकको फुटपाथमा व्यापार व्यवसाय गर्न नपाइने नीति कडाईका साथ कार्यान्वयन गरिनेछ ।
कुनैपनि आयोजना सम्पन्न भएपश्चात् अनुगमन गर्दा सम्बन्धित वडाका वडाध्यक्ष तथा साइट तोकिएका इन्जिनियर अनिवार्य रुपमा उपस्थित गराउने पद्दतिलाई कार्यान्वयन गरिनेछ ।
रु. ३ लाखभन्दा कम लागतका आयोजनाहरुको कार्यसम्पन्न भएपछि सम्बन्धित वडा समितिले नै अनुगमन तथा निर्णय गरी सिफारिस गरेमा फरफारक गर्न सकिनेछ ।
योजना शुरु हुनुपूर्वको अवस्था, सुरुवाती चरण र योजना सम्पन्न भएपछिको उपलब्धिलाई अभिलेखीकरण गरिनेछ ।
आर्थिक वर्ष ०७९/८० मा मुख्य मुख्य निर्माण कार्यका लागि देहाय अनुसारको लक्ष्य निर्धारण गरी पूरा गरिनेछ ।
पुल/कल्भर्ट निर्माण वटा
विद्यालय तथा क्याम्पस भवन वटा
विालयमा शौचालय तथा खानेपानी व्यवस्था तथा भवन मर्मत सुधार वटा
पक्की नाला निर्माण कि.मि.
सडक ग्राभेल कि.मि.
ग्राभेल मर्मत कि.मि.
पक्की सडक कि.मी.
कालोपत्रे मर्मत कि.मी.
शैक्षिक विकास कार्यक्रम
शिक्षालाई जीवन उपयोगी र व्यावहारिक बनाइनेछ ।
स्थानीय, राष्ट्रिय तथा अन्तराष्ट्रिय बजार मागलाई मध्यनजर गरी प्राविधिक जनशक्ति उत्पादनलाई प्राथमिकता दिइनेछ ।
शिक्षकले विद्यालयमा बिताउने समयमा अधिक वृद्धि गर्नका लागि सूचना तथा सञ्चार प्रविधिको प्रयोग गरी शिक्षक तथा कर्मचारीको विद्युतीय हाजिरी प्रणाली विकास गरिनेछ ।
“बालबालिकालाई विद्यालयमा ल्याऔँ, टिकाऔँ र सिकाऔँ” कार्यक्रमलाई सफलीभूत पार्न सहयोगापेक्षी र टुहुरा बालबालिकाको शैक्षिक अभिभावकत्व नगरपालिकाबाट लिइने व्यवस्था मिलाइनेछ ।
विशेष आवश्यकता भएका र कमजोर आर्थिक अवस्था भएका परिवारका बालबालिकाको शिक्षामा सहज पहुँच र सहभागिता सुनिश्चित गर्न निश्चित मापदण्डका आधारमा छात्रवृत्तिको व्यवस्था गरिनेछ ।
नगरपालिकाभित्र सञ्चालित सामुदायिक क्याम्पसको स्तरोन्नतिमा सहयोग गरिनेछ ।
“शिक्षा हाम्रो मौलिक अधिकार, दमक नगरको उन्नति र समृद्धिको आधार” कार्यक्रम सञ्चालन गरी विद्यालयबाहिर रहेका बालबालिकाहरुलाई विद्यालय भर्ना गर्ने र विद्यालयमा उनीहरुको उपस्थितिलाई निरन्तरता दिँदै शैक्षिक उपलब्धि वृद्धि गर्न आधारभूत तहको शिक्षालाई निःशुल्क तथा अनिवार्य गराउने कार्यलाई तीव्रता दिइनेछ ।
सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि प्रत्येक वडाभित्र शैक्षिक सुधार अभियान चलाइनेछ ।
माध्यमिक तथा आधारभूत तहको नतिजा एवं समग्र विद्यालयको कार्यसम्पादन मूल्याङ्कनका आधारमा उत्कृष्ट विद्यालय, व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक र विद्यार्थी छनौट गरी पुरस्कृत गरिनेछ ।
खेलकूदका माध्यमबाट सिर्जनात्मक सिकाईलाई जोड दिने व्यवस्था मिलाइनेछ ।
कम विद्यार्थी संख्या भएका विद्यालयहरुको छनौट गरी सरोकारवालाहरुको सहमतिमा विद्यालय समायोजन कार्यलाई अघि बढाइनेछ ।
नगरपालिकाभित्र सञ्चालनमा रहेका सबै विद्यालयहरुमा विद्यालय व्यवस्थापन समिति गठन गरिनेछ ।
नेपाल सरकारबाट प्राप्त अनुदानबाट १० वर्षभन्दा माथि उमेरका सामुदायिक विद्यालयमा अध्ययनरत सबै छात्राहरुलाई निःशुल्क स्यानिटरी प्याड उपलब्ध गराइनेछ ।
संघीय सरकारको बजेटबाट सबै सामुदायिक विद्यालयका बालविकास कक्षादेखि आधारभूत तहको कक्षा ६ सम्मका बालबालिकालाई पोषणयुक्त दिवाखाजा कार्यक्रम सञ्चालन गरिनेछ ।
विद्यालयमा निर्माणाधीन अवस्थामा रहेका भौतिक संरचनाहरु विद्यालय भवन, खानेपानी, शौचालय लगायतको निर्माण कार्य सम्पन्न गरिनेछ ।
विद्यार्थीको सर्वाङ्गीण विकास गर्ने किसिमका कार्यक्रमहरु (जस्तैः नेपाल स्काउट, राष्ट्रिय सेवा दल) लगायतका कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
युवा तथा खेलकूद
नगर क्षेत्रका युवाहरुलाई लक्षित गरी स्वरोजगार, आत्मनिर्भर, स्वावलम्बी र चरित्रवान् बनाउन युवा उद्यमी प्रोत्साहन कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
“स्वास्थ्यका लागि खेलकूद”, “मर्यादित र अनुशासित समाजका लागि खेलकूद” जस्ता कार्यक्रम मार्फत समुदायको स्वास्थ्य र सामाजिक विकृति, विसंगतिजस्ता समस्यालाई समाधान गर्ने लक्ष्य लिइनेछ ।
नगरका युवाहरुलाई उत्प्रेरित गरी सामाजिक तथा उद्यमशीलताको क्षेत्रमा आकर्षण गर्न हरेक वर्ष अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा १० जना युवाहरुलाई नगर आदर्श युवा पुरस्कार दिई सम्मान गरिनेछ ।
समाजको विकराल समस्याको रूपमा रहेको लागूऔषध दुर्व्यसनी विरूद्ध अभियान सञ्चालन गरिनेछ । त्यसका लागि परामर्श, पुर्नस्थापना तथा अभिभावक सचेतना कार्यक्रम सञ्चालनको व्यवस्था मिलाइनेछ ।
खेलकूद पूर्वाधार अन्तर्गत वडा नं. ३ मा राष्ट्रिय स्तरको मदन भण्डारी रंगशाला निर्माण कार्यलाई संघ तथा प्रदेश सरकारसँगको समन्वयमा अगाडि बढाइनेछ ।
नगरपालिका स्तरीय खेलकूद विकास समितिको संस्थागत विकास गरी समग्र खेलकूद विकासको जिम्मेवारी प्रदान गरिनेछ । उक्त समिति मार्फत खेलकूद सम्बन्धी योजना तर्जुमा गरी खेलकूद प्रशिक्षक नियुक्तिको प्रकृया अगाडि बढाइनेछ । विभिन्न स्तरको फुटबल तथा अन्य खेलकूद प्रतियोगिता आयोजना गरिनेछ ।
सार्वजनिक पार्क स्थापना, संरक्षण र सञ्चालन गर्ने कार्यलाई बढावा दिई नगरपालिका भित्र व्यायाम केन्द्र तथा योग ध्यान साधना केन्द्र निर्माण गरिनेछ ।
राष्ट्रिय युवा परिषद्सँगको सहकार्य र समन्वयमा नमुना युवा सांसद सम्बन्धी कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
नगरपालिकाको चिनारीको रुपमा रहेको दमक गोल्ड कप फुटबल प्रतियोगिता नियमित गरिनेछ ।
नगरपालिकाको वडा नं. 2 र १० मा रहेका क्रिकेट खेलमैदानहरुको स्तरोन्नतिका लागि संघ तथा प्रदेश सरकारसँग पहल गरिनेछ ।
वातावरण तथा विपद् व्यवस्थापन
वातावरण तर्फ
स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने नागरिकको मौलिक हकको रुपमा प्रत्याभूत गराउन स्वच्छ, सफा र हराभरा दमक अभियान कार्यक्रम अगाडि बढाइनेछ ।
सहरी सौन्दर्य तथा हरियाली प्रवर्द्धन कार्यक्रम अन्तर्गत सडकपेटीको दुवै किनारमा विभिन्न प्रजातिका बिरुवाहरु वृक्षरोपण गरिनेछ ।
नगर सौन्दर्यकरणको लागि एक घर – दुई फलफूलको बिरुवा वा बिरुवा रोप्ने ठाउँ अभाव भएमा एक घर – दश गमलामा फूल रोप्ने नीति अवलम्बन गर्न घरनक्सा पास गर्दा नै कबुलियत गराइनेछ ।
वातावरण-मैत्री विद्यालयको रुपमा विकास गर्न सरकारी विद्यालयहरुमा विद्यालय-वातावरण प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिनेछ । साथै, उत्कृष्ट विद्यालयलाई सम्मान गरिनेछ ।
नगरको ग्रामीण क्षेत्रहरुमा टोल, गाउँ छनौट गरी क्लाइमेट स्मार्ट गाउँ (Climate Smart Village) कार्यक्रम सञ्चालन गरिनेछ ।
दमक क्षेत्रभित्रमा जल, वायु, माटो, ध्वनि तथा दृष्टिगत प्रदुषण नियन्त्रण तथा न्युनिकरण गर्न सहरी/औद्योगिक प्रदुषण नियन्त्रण तथा न्युनिकरण कार्यविधि तयार गरी प्रदुषण नियन्त्रण कार्यक्रम अगाडि बढाइनेछ ।
नगरलाई वातावरणमैत्री नगरको रुपमा रुपान्तरण गर्न वातावरणमैत्री स्थानीय शासन प्रारुप, २०७८ नगरमा पूर्ण रुपले लागू गरिनेछ । सोही अनुरुप कार्यक्रमहरु सञ्चालन गर्दै वातावरणमैत्री सडक, टोल, वडा, विद्यालय क्रमशः घोषणा गर्दै दमक नगरलाई नै वातावरणमैत्री नगर घोषणा गरिनेछ ।
नगरको शहरी क्षेत्रमा रहेका चोक पेटीमा ब्युटिफिकेशन गरी पार्कको रुपमा विकास गरिनेछ ।
रतुवा/मावा खोलामा संरक्षणको लागि निर्माण गरिएको ड्यामलाई सौन्दर्य तथा रमणीय स्थलको रुपमा विकास गर्न सो क्षेत्रको DPR/Master Plan तयारी गरी विभिन्न निकाय, संघसंस्थाहरुसँगको समन्वयमा हरित पेटिका (Green Belt) पार्क निर्माण गरिनेछ ।
दमक ७ मा रहेको रोज गार्डेन, वडा नं. ८ को रातेहोली, वडा नं. ९ को चन्द्रमा पार्क, वडा नं. ३ को पशुपति सिमसार र वडा नं. १० मा रहेको इन्द्रेणी ताललाई संरक्षणका लागि थप कार्यक्रम सञ्चालन गरिनेछ ।
वडा नं. २ स्थित हम्सेदुम्से सामुदायिक वन क्षेत्रमा निर्माणाधीन शहिद वन वाटिका पार्क निर्माण कार्यक्रमलाई निरन्तरता दिई मनोरञ्जनात्मक स्थलको रुपमा सञ्चालनमा ल्याइनेछ ।
वडा नं. ३ मा सञ्चालनमा रहेको बिरुवा उत्पादन नर्सरीबाट उत्पादित बिरुवाहरु सबै वडामा निःशुल्क वितरण गरी वातावरण र विकासका बीच सन्तुलन कायम गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।
सार्वजनिक खोला खोल्सी, नदी नालाहरुमा शौचालयको ढल मिसाउने तथा सेफ्टि ट्याङ्कीको फोहोर जथाभावी फाल्ने कार्यलाई कडाईका साथ रोक लगाई कारबाही गरिनेछ । सो कार्य गरेको पाइएमा नियमानुसार दण्ड जरिवाना गरिनेछ ।
नदी तथा भू-क्षय नियन्त्रणका लागि बायो-इन्जिनियरिङ्ग जस्ता तटबन्धनका उपायहरु अवलम्बन गरिनेछ ।
वैकल्पिक उर्जा प्रवर्द्धन कार्यक्रम अन्तर्गत सुधारिएको चुल्हो, बायोग्याँस जडान, सौर्य-उर्जा कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
दिपिनी, खरखरे, बेतनी, रातेहोली, भुत्रे लगायतका खोला-खोल्सीहरुको मापदण्ड तोकी संरक्षण, संवर्द्धन तथा सौन्दर्यकरणको कार्यक्रम अगाडि बढाइनेछ । यसका लागि संघ, प्रदेश तथा विभिन्न निकायहरुसँग समन्वय गरिनेछ ।
मावा र रतुवा खोलालाई श्रोतको रुपमा उपयोग गर्दा वातावरणीय पक्षलाई असर नपर्ने गरी उपयोग गर्न कार्ययोजना बनाइनेछ ।
३० माइक्रोन भन्दा मुनिको प्लास्टिकजन्य झोलाहरु प्रयोगमा रोक लगाइनेछ । यसका लागि वैकल्पिक झोला जस्तै जुट, कपडा, कागज आदिको झोला प्रयोग गर्न उत्प्रेरित गरिने छ । साथै नगरक्षेत्रमा प्लाष्टिक, रबरजन्य फोहोर जलाउन पूर्ण रुपले रोक लगाइनेछ ।
ध्वनि प्रदुषण हुने गरी विभिन्न धार्मिक, विवाह व्रतबन्ध तथा प्रचारप्रसारका लागि प्रयोग गरिने माइकिङ्ग वा ठुलो आवाजमा बजाउन, प्रयोग गर्न रोक लगाइनेछ ।
मुख्य बजार क्षेत्रभित्रका सडकमा हेभी सवारी जस्तै: ट्रिपर, लोडर, ट्रयाक्टर आदि सञ्चालनमा रोक लगाइनेछ ।
जलवायु परिवर्तनको कारण हुने वा भइरहेको क्षतिको सामना गर्न जलवायु स्मार्ट विकासको अवधारणा लागू गरिनेछ ।
सडक पेटी र सार्वजनिक स्थानलाई अवरोध हुने गरी वा फोहोरमैला हुने गरी मालसामान राख्न वा विक्री वितरण गर्न रोक लगाइनेछ ।
छतको पानी सडक किनारमा नखसाली भूमिगत जल भण्डारण हुने गरि आ-आफ्नो कम्पाउण्ड परिसरमा मात्र खसाल्न उत्प्रेरित गर्नका लागि कार्यक्रम सञ्चालन गरिनेछ ।
घरपालुवा जनावरहरुलाई सडक किनार तथा सार्वजनिक स्थानहरुमा दिशापिसाब गराउने कार्य रोक लगाइनेछ ।
दमक नगरको समग्र वातावरणीय विकासको लागि दमक नगरपालिकाको प्राकृतिक श्रोत तथा वातावरण संरक्षण ऐन, २०७६ पूर्ण रुपले कार्यान्वयनमा ल्याइनेछ ।
नदी नियन्त्रण कार्यलाई प्रभावकारी बनाउन खोलाधार क्षेत्रमा वृक्षरोपण गरी चरिचराउ र खेती गर्ने कार्यलाई पूर्ण रुपमा रोक लगाइनेछ ।
दमक नगर क्षेत्रमा जोखिम नक्साङ्कन गरी कार्यान्वयनमा ल्याइनेछ ।
दमक नगरपालिका क्षेत्रमा खुल्ला क्षेत्र पहिचान गरी प्रत्येक वडामा कम्तीमा एउटा खुल्ला क्षेत्र तोक्ने व्यवस्था मिलाइनेछ ।
होली, पैनी, पोखरी, झिल, खोला आदि स्थानमा विद्युतीय करेन्ट अथवा विषादी हाली माछा मार्ने कार्यलाई पूर्ण रुपमा प्रतिबन्ध लगाइनेछ ।
फोहोरमैला व्यवस्थापन तर्फ
दमक नगरपालिका क्षेत्रबाट दैनिक उत्पादन हुने सबै किसिमको फोहोरलाई श्रोतको रुपमा उपयोग गरिनेछ ।
सार्वजनिक निजी साझेदारीको अवधारणा अनुसार दमक नगरपालिका क्षेत्रको दैनिक उत्पादित फोहोरमैला व्यवस्थापन गर्न निजी क्षेत्र (सेवा प्रदायक संस्था) सँग भएको सम्झौता र सहकार्यलाई निरन्तरता दिंदै थप साधन स्रोतको प्रबन्ध गरिनेछ ।
दमक नगरपालिका, वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र र लगानीकर्ताका बीच नगर क्षेत्रको फोहोरबाट उर्जा उत्पादन तथा कम्पोष्ट मल उत्पादन सम्वन्धी Waste to Energy कार्यक्रम सञ्चालनका लागि भएको त्रि-पक्षीय सम्झौता र त्यसको अधीनमा रही भएका अन्य निर्णयहरुलाई निरन्तरता दिंदै एकीकृत फोहोरमैला व्यवस्थापनसँग सम्बन्धित थप कार्यक्रम अघि बढाइनेछ ।
फोहोरमैलालाई श्रोतको रुपमा परिचालन गर्न कुहिने र नकुहिने दुवै प्रकृतिका फोहोर व्यवस्थापनका लागि स्थानीय सेवाग्राही, सेवा प्रदायक संस्था तथा नगरपालिकाको समेत सहभागितामा डस्टबिन वितरणको प्रबन्ध गरिनेछ । नगरको मुख्य मुख्य सार्वजनिक स्थल चौक तथा तरकारी वजारमा ठूला साइजका कुहिने र नकुहिने फोहोर व्यवस्थापनका लागि डस्टबिन राखिनेछ ।
सडकपेटी, मठमन्दिर, सार्वजनिक चौक, बसपार्क जस्ता स्थानलाई २४सै घण्टा धुलोमुक्त वनाउनका लागि आवश्यक व्यवस्था गरिनेछ ।
कुहिने फोहोरबाट उर्जा उत्पादन गर्ने सम्बन्धमा कुहिने र नकुहिने फोहोरमैला वर्गीकरणका लागि सेवा प्रदायक संस्था समेतको लागत सहभागितामा फोहोर वर्गीकरण मेशिन खरिद गरी परियोजना स्थलमा जडान गरिनेछ ।
एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्रबाट उत्पादित कम्पोष्ट मल किसानहरुलाई सहुलियत दरमा उपलब्ध गराउनका लागि सेवा प्रदायक संस्थासँग समन्वय एवं सहकार्य गरिनेछ ।
नगर क्षेत्रमा निःशुल्क सार्वजनिक शौचालय सञ्चालन गर्नका लागि निजी क्षेत्रसँग सहकार्य तथा समन्वय गरिनेछ ।
विपद् व्यवस्थापन तर्फ:
नगरमा आइपर्ने विभिन्न किसिमका प्रकोप (रोगब्याधी, महामारी, बाढीपहिरो तथा डुबान, हुरीबतास, असिना, आगलागी, भुकम्प, शीतलहर, जङ्गली हात्ती) रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागि सरकारी तथा गैर सरकारी संघसंस्था, स्थानीय रेडक्रस लगायतका निकायसँग सहकार्य गरिनेछ ।
विपद् व्यवस्थापन कोषलाई प्रभावकारी ढंगले परिचालन गरिनेछ । विपद् सम्बन्धी कार्यक्रमहरु यसै कोषमार्फत सञ्चालन गरिनेछ ।
दमक नगरपालिका वडा नं. १, २ र ३ का उत्तरी क्षेत्रमा जंगली हात्तीको प्रकोप नियन्त्रणका लागि आवश्यक कार्यक्रम सञ्चालन गरिनेछ ।
दमक नगरपालिका क्षेत्रमा हुन सक्ने सबै किसिमका विपद्बाट उद्वारका लागि आवश्यक विपद् व्यवस्थापन सम्बन्धी साधन श्रोतको व्यवस्थापन गरिने छ ।
विपद्-जोखिम न्युनिकरण तथा ब्यवस्थापनका लागि बिपद् जोखिम नक्साङ्कन तयार गरी प्राथमिकताको आधारमा जोखिम न्युनिकरणका कार्यक्रमहरु अगाडि बढाइनेछ ।
नगर बिपद् प्रतिकार्य योजना तयार गरी कार्यान्वयन गरिनेछ ।
विपद् जोखिम न्यूनीकरणका लागि पूर्वानुमान सूचना प्रणाली, मावा र रतुवा खोलामा जडान गर्न विभिन्न निकायहरुसँग समन्वय गरिनेछ ।
नगर स्तरिय बिपद् ब्यवस्थापन समितिको मातहतमा रहने गरि हरेक वडामा वडा स्तरिय बिपद् ब्यवस्थापन समिति गठन गरी क्रियाशील गराइनेछ ।
कृषि क्षेत्र
प्रांङ्गारिक खेति प्रवर्द्धनका लागि प्राङ्गारिक मल तथा जैविक बिषादि उत्पादन र प्रयोगमा प्रोत्साहन गरिनेछ ।
हालको खेति प्रणालीलाई ब्यवसायिक खेति प्रणालिमा परिणत गर्न प्रोत्साहन गरिनेछ ।
बैदेशिक रोजगारबाट फर्केका र स्वदेशमै कृषि क्षेत्रमा संलग्न हुन इच्छुक युवाहरुको लागि प्रोत्साहन स्वरुप नगरबाट जमिन र अन्य खेति पद्धतिमा सहयोग गरिनेछ ।
अधियाँ, ठेक्का र भाडामा जग्गा लिएर खेति गर्ने कृषक पहिचान गरि सहुलियत रुपमा सिजन अनुसार उन्नत बीउ, सिंचाई सुबिधा र बिधुत महसुलमा समुचित छुट गरिनेछ ।
एक समुह एक उत्पादन (OGOP)कार्यक्रमलाई लाई शुरुवात गरी त्यसलाई प्रोत्साहन गरिने छ ।
रोग किरा नियन्त्रणको लागि जैविक बिषादि र सुरक्षित रासायनिक बिषादी निशुल्क उपलब्ध गराइने छ ।
बढी उत्पादन दिने स्थानीय तथा स्वदेशी बिउ प्रयोगमा प्रोत्साहन र प्रविधि प्रवर्द्धन गरी कृषकलाई बिश्वस्त गराइनेछ ।
कृषि बिमा कार्यक्रमलाई प्रभावकारी रुपमा प्रयोग गर्न प्रोत्साहन गरिनेछ ।
आयातित बिउको समस्या न्युनिकरणको लागि सहकारी तथा समुहलाई मुल-बिउ उपलब्ध गराएर उन्नत बिउ उत्पादन गरी बीउमा आत्मनिर्भर बनाउन सुरुवात गरिनेछ ।
प्रांङ्गारिक तथा जैविक खेतिको महत्व को बारेमा र रसायनिक बिषादि प्रयोग मानव स्वास्थ्य र जिवहरुमा यसको प्रभाव बारे स्कुल, कृषक-समुह, निजि फर्म हरुलाई अभियानको रुपमा सचेतना कार्यक्रम सञ्चालन गरिनेछ।
Good Agriculture Practices लाई प्रभावकारी रुपमा पालना गर्न प्राविधिक तथा अन्य सेवा उपलब्ध गराइनेछ ।
पशुपन्छी विकास
पशुआहारा आपूर्तिका लागि साझेदारीमा घाँसको बीउ वितरण गरिनेछ ।
आन्तरिक तथा बाह्य परजिवी र महामारी रोग नियन्त्रणका लागि कार्यक्रम सञ्चालन गरिने छ ।
पशुपालन सम्बन्धी तालिमहरु सञ्चालन गरिनेछ ।
माछापालन व्यवसायलाई प्रोत्साहन गर्न साझेदारीमा माछाको भुरा वितरण गरिनेछ ।
विशेषज्ञद्वारा पशु औषधी पसल, दाना पसल र डेरी पसलहरुको अनुगमन तथा नियमन नियमित रुपले गर्ने व्यवस्था गरिनेछ ।
पशुपन्छीको रोग निदानका लागि प्रयोगशाला सञ्चालनका लागि आवश्यक पहल गरिनेछ।
सामुदायिक कुकुरहरुको बन्ध्याकरण तथा व्यवस्थापन गर्ने नीतिलाई निरन्तरता दिइनेछ ।
स्वास्थ्य-क्षेत्र
विभिन्न महामारी संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रकोप व्यवस्थापन कोषमा आवश्यक बजेटको व्यवस्था गरिनेछ साथै स्वास्थ्य जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ ।
महामारी रोकथाम तथा नियन्त्रणको कार्यमा अग्रपंक्तिमा रही कार्य गर्ने स्वास्थ्यकर्मी तथा कर्मचारीहरूको प्रोत्साहनका लागि आवश्यक बजेटको व्यवस्था गरिनेछ ।
विभिन्न महामारी रोकथाम र नियन्त्रणका लागि आधारभुत स्वास्थ्य केन्द्र, नगर स्वास्थ्य केन्द्रलाई थप व्यवस्थित गर्नको लागि उपयुक्त स्थान तोकी ल्याब सेवा सञ्चालन गरिनेछ ।
महामारी रोगविरूद्ध सचेतना अभिवृद्धि गर्न टोल वस्ती स्तरमा सञ्चालन हुने लक्षित वर्ग लगायतका सचेतना सम्बन्धी कार्यक्रमहरूलाई एकीकृत र प्रभावकारी बनाइनेछ ।
आर्थिक वर्ष ०७९/८० मा दमक अस्पतालको सुविधा सम्पन्न भवन निर्माण गरी सम्पन्न गरिनेछ साथै दमक अस्पताललाई यसै आर्थिक वर्ष देखि ५० बेड क्षमताको अस्पतालको रूपमा स्तरोन्नति गर्न सार्थक पहल गरिने छ ।
स्वास्थ्य क्षेत्र सुदृढीकरणका लागि दमक नगरमा रहेका स्वास्थ्य संस्था तथा अन्य सरोकारवाला संस्थाहरूसँग समन्वय गर्ने कार्यलाई अझ प्रभावकारी बनाइनेछ ।
आर्थिक वर्ष ०७९/८० को पहिलो चौमासिक भित्र सबै वडाहरूमा आधारभूत स्वास्थ्य केन्द्र आफ्नै भवनमा व्यवस्था गरी सञ्चालनमा ल्याइनेछ।
टि.बि. एचआइभी एड्स संक्रमित विरामीहरूलाई आवश्यक बजेट विनियोजन गरी टि.बि. एचआइभी एड्स विरूद्ध जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिनेछ ।
घरमै सुत्केरी गराउने कार्य शून्य (Zero Home Delivery) कार्यक्रमलाई प्रभावकारी बनाउन दमक नगर भित्रका गर्भवती तथा सुत्केरी, असक्त र असहायहरूका लागि दमक क्षेत्र भित्र निःशुल्क एम्बुलेन्स सेवालाई निरन्तरता दिइनेछ साथै दमक नगर क्षेत्रभित्रका विपन्न सुत्केरी आमाहरूलाई पोषिलो खाना उपलब्ध गराइनेछ ।
नगर भित्रका अति विपन्न, दलित, आदिवासी, जनजाति तथा विपन्न वर्गका मुटु, मृगौला र क्यान्सरका बिरामीहरूका लागि आर्थिक सहायता दिने नीतिलाई निरन्तरता दिइनेछ ।
दमक नगरलाई पूर्ण खोपनगर तथा खुल्ला दिसामुक्त नगर घोषणा गरी सकिएको छ, यसलाई प्रभावकारी रूपमा निरन्तरता दिइनेछ ।
लैङ्गिक हिंसा पीडित तथा प्रभावितहरूलाई एकीकृत सेवा दिने उद्देश्यले दमक अस्पतालमा सञ्चालित एकद्वार संकट व्यवस्थापन केन्द्र (OCMC) को प्रभावकारिताका लागि स्थानीय संघ संस्थाहरूसँग सहकार्य गरिनेछ ।
सबै आधारभूत तथा नगर स्वास्थ्य केन्द्रमा कम्तीमा प्रत्येक महिना को १ दिन चिकित्सक सेवा प्रदान गरिनेछ ।
अशक्त र बृद्धबृद्धाहरूका लागि घरघरमा आधारभूत स्वास्थ्य परीक्षण तथा उपचार सेवा पुर्याइनेछ साथै आँखा र दाँतको निःशुल्क शिविर सञ्चालन गरिनेछ ।
गर्भवती तथा सुत्केरी महिलाहरूका लागि निःशुल्क रूपमा आइरन, क्याल्सीयम तथा फोलिक एसिड वितरण कार्यक्रमलाई निरन्तरता दिइने छ ।
महिलाहरूका स्वास्थ्य समस्यामा बिशेष गरेर स्तन क्यान्सर, पाठेघरको क्यान्सर लगायतका समस्याहरू पहिचान गरी समाधान गर्नका लागि दमक अस्पतालमा नि:शुल्क परीक्षण गर्ने कार्य भै रहेको छ । यसका लागि महिला स्वास्थ्य स्वयम् सेविका र आधारभूत स्वास्थ्य केन्द्र, स्वास्थ्य शाखा तथा दमक अस्पताललाई अझ बढी क्रियाशील बनाउँदै लगिनेछ साथै विषयगत निःशुल्क स्वास्थ्य शिविरहरू वडा स्तरमै सञ्चालन गरी जनचेतना अभिवृद्धि एवम् उपचार सेवाको विस्तार गरिनेछ ।
दमक नगर क्षेत्रभित्र रहेका निजी अस्पताल, स्वास्थ्य क्लिनिकहरू, होमियो तथा आयुर्वेदिक क्लिनिकहरूबाट परिचय-पत्र प्राप्त जेष्ठ नागरिकहरूको निःशुल्क स्वास्थ्य परीक्षण गर्न आवश्यक समन्वय गरिनेछ ।साथै आमा सुरक्षा कार्यक्रम सुदृढिकरणका लागि बजेटको व्यवस्था गरिनेछ ।
महिला स्वास्थ्य शिक्षा तथा आमा सुरक्षा सम्बन्धी सचेतना कार्यक्रमको प्रभावकारिताका लागि आवश्यक समन्वय गरिने छ ।
दमक-७ स्थित रेडक्रस सोसाइटी परिसरमा सञ्चालन हुन लागेको बाल अस्पतालमा बालबालिकाहरुका लागि सम्भावित महामारीको रोकथाम, नियन्त्रण र उपचारको व्यवस्था गर्न प्रदेश सरकार, संघीय सरकार, संघ-संस्थाहरुसँग आवश्यक समन्वय र सहयोग गरिनेछ ।
“स्वस्थ शहर, कुपोषण रहित दमक नगर” को अभियानलाई सार्थक बनाउन ५ वर्ष मुनिका बालबालिकाको लागि पोषण कार्यक्रम सञ्चालन गरिनेछ ।
आर्थिक वर्ष 079/80 भित्रमा सवै दमक नगरवासीहरूलाई कोरोना भाइरस (कोभिड-१९) विरूद्धको बुस्टर डोजको व्यवस्थापन गरिनेछ ।
क्षयरोग तथा कुष्ठरोग न्यूनीकरणका लागि स्वास्थ्य शाखा, आधारभूत स्वास्थ्य केन्द्र र दमक अस्पतालको समन्वयमा प्रतिकारात्मक, निदानात्मक तथा उपचारात्मक सेवा प्रदान गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।
दमक अस्पतालमा सञ्चालित टि.बि. तथा ART Center लाई थप व्यवस्थित बनाइनेछ ।
महिला स्वास्थ्य स्वयम् सेविकाहरूलाई कार्यक्रममा फिल्ड खटेको दिन खाजा खर्च र मासिक यातायात खर्च उपलब्ध गराइने छ ।
महिला स्वास्थ्य स्वयम् सेविकाहरूलाई कोष वृद्धि र अध्ययन भ्रमण खर्चका लागि बजेट व्यवस्थापन गरिनेछ ।
महिला स्वास्थ्य स्वयंसेविकाको रूपमा नगरपालिकामा ६० वर्ष उमेरसम्म सेवा गरी सेवा निबृत्त हुने र १० बर्ष सेवा अवधि पुरा गरि काम गर्न असक्षम भएमा स्वयंसेविकाहरूलाई दिइने एकमुष्ट रकम रु. 80 हजार र सम्मानजनक बिदाई कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
महिला स्वास्थ्य स्वयंसेविकाहरू अन्य कुनै सरकारी लाभको पदमा कार्यरत रहेको भए दुई मध्ये कुनै एक पदमा मात्र कार्यरत हुन पाउने व्यवस्था लागू गरिनेछ। महिला स्वास्थ्य स्वंयम सेविककाबाट अवकास हुन चाहेमा सेवा-निवृत्त सुविधा बराबरको रकम उपलब्ध गराइनेछ ।
रिक्त भएको र आवश्यकता भएका स्थानमा महिला स्वास्थ्य स्वयंसेविकाको उचित व्यवस्थापन गरिनेछ ।
महिला स्वास्थ्य स्वयंम् सेविकाहरूलाई नगरको पूर्ण खोप, पोषण, स्वास्थ्य, सरसफाई, खुल्ला दिसामुक्त अभियान बालमैत्री लगायत अन्य अभियानहरूमा समेत परिचालन गरिनेछ ।
महिला स्वास्थ्य स्वयंसेविका सम्बन्धी कार्यविधि निर्माण गरिनेछ ।
विपन्न तथा गरिब परिवारलाई दमक नगरपालिका अन्तर्गत रहेका अस्पतालमा उपचार नपाएको कारणले मृत्यु हुन नदिन आवश्यक बजेटको व्यवस्था गरिनेछ ।
महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई स्वास्थ्य बिमा निशुल्क रुपमा उपलब्ध गराइनेछ ।
दमक अस्पतालमा CT Scan र डाइलासिस सेवा विस्तारका लागि सम्बन्धित निकायमा आवश्यक पहल र समन्वय गरिनेछ ।
दमक नगरभित्रका सुत्केरी, ५ वर्षमुनिका बालबालिकाहरु र नियमित रगत चढाउनु परेमा ल्याब परीक्षण गरेबापत लाग्ने रकमलाई शोधभर्ना गरी निशुल्क गरिनेछ ।
नमुनाको रुपमा हिमालय माध्यमिक विद्यालयमा सेनिटरी प्याड डिस्पोज गर्न आवश्यक व्यवस्थापन गरिनेछ ।
दमक नगरपालिका, दमक रेडक्रस र दमक अस्पतालबीच आवश्यक समन्वय र सहकार्यमा KHDC कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
महिला, बालबालिका तथा जेष्ठ नागरिक
हिंसापीडित र प्रभावित महिला बालबालिका तथा जेष्ठ नागरिकलाई संरक्षण गरी पुनर्स्थापना गराइनेछ ।
दमक नगरपालिका क्षेत्रमा फेला परेका मानसिक रुपमा विक्षिप्त भएका र बेवारिसे सडक मानवहरुलाई पुनर्स्थापित गरिदै आएको कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
ग्रामीण महिलाहरुको जीवनस्तरमा सुधार ल्याउन समुहमा आबद्ध गराइएका महिलाहरुलाइ नियमित बचत गर्ने बानीको विकासलाई निरन्तरता दिई दर्ता प्रकृयामा लगिनेछ ।
लैंगिक हिंसा न्युनिकरणका लागि लैंगिक हिंसा निवारण कोषलाई निरन्तरता दिइनेछ ।
नगरपालिकालाई बालमैत्री नगरको रुपमा विकास गर्नका लागि वडाहरुलाई बालमैत्री बनाउँदै लैजाने नीति अवलम्बन गरिनेछ ।
बालश्रम, बालविवाह विरुद्ध अभियान चलाइनेछ ।
बालमैत्री नगर अभियानमा बालबालिकाको सहभागिता सुनिश्चित गरी बाल उद्यानको व्यवस्था गरिनेछ ।
कुलतमा परेका, सडकमा रहेका, विपन्न, संरक्षणको आवश्यकता भएका बालबालिकालाई संरक्षणको व्यवस्था गरिनेछ ।
अपाङ्गता भएका व्यक्तिहरुको जीवनशैली सहज बनाउन विपन्नता र मागलाई मध्यनजर गरी सीप विकास तथा आवश्यक आयआर्जन तथा संरक्षणको व्यवस्थापन गरिनेछ ।
बौद्धिक अपाङ्गता र अटिजमको समस्या दिनदिनै बढ्दै गएकोले रोकथामका लागि सचेतना अभिवृद्धि गरिनेछ ।
अटिजम भएका बालबालिकाको श्रोत केन्द्र सञ्चालनलाई निरन्तरता दिइनेछ ।
अपाङ्गता भएका व्यक्तिहरुको तथ्यांकलाई निरन्तर अद्यावधिक गरी क्षमता विकास तथा पुनर्स्थापनाका लागि रोजगारमूलक कार्यक्रम सञ्चालन गरिनेछ ।
अपाङ्गता भएका ग र घ वर्गको कार्ड प्राप्त गरेका सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिका, विपन्न बालबालिका, हिंसा प्रभावित बालबालिकालाई शैक्षिक सामग्री, पोसाक, सहयोगी सामग्री आदिको व्यवस्थापन गरिनेछ ।
विकास, समृद्धि र चेतनाबाट पछाडि पारिएका महिला, आदिवासी, जनजाति, दलित, अपाङ्गता भएका व्यक्तिहरु, मधेशी, मुस्लिम र पिछडा वर्ग साथै यौनिक अल्पसंख्यकको सशक्तीकरणका लागि प्राथमिकताका साथ कार्यक्रम सञ्चालन गरिनेछ ।
नगरका विकास निर्माण र सेवा प्रबाहका क्षेत्रमा लैंगिक समानता, समावेशीता लगायतका सवाललाई कार्यान्वयन गरिनेछ ।
निर्माण भएका र हुन बाँकी संरचनाहरुलाई बहुमैत्री बनाउन पहल गरिनेछ ।
लक्षित वर्ग र समूदायका लागि सीप तथा क्षमता अभिवृद्धिका लागि विभिन्न सरकारी र गैरसरकारी निकायसँग समन्वय गरिनेछ ।
मानव बेचबिखन विरुद्धको दिवस, राष्ट्रिय बाल दिवस, महिला अधिकार दिवस, अन्तर्राष्ट्रिय महिला दिवस, १६ दिने अभियान, जेष्ठ नागरिक दिवस आदि विशेष महत्वका दिवसहरु मनाउने कार्यलाई निरन्तरता दिइनेछ ।
सुरक्षित आवास गृहको स्थायी भवन निर्माण प्रक्रिया अगाडि बढाइनेछ ।
जेष्ठ नागरिकहरुको अनुभव हस्तान्तरणका लागि अन्तर-पुस्ता सीप हस्तान्तरण कार्यक्रम सञ्चालन गरिनेछ ।
जेष्ठ नागरिकसँग सम्बन्धित कार्यक्रम सञ्चालन गरिनेछ ।
सुस्त श्रवणहरुको सहजताका लागि दोभाषे तालिमलाई निरन्तरता दिइनेछ ।
सुशासन तथा पारदर्शीता
सुशासन तथा स्थानीय सेवा व्यवस्थापन तर्फ
नगरपालिकाबाट कार्यसम्पादन गर्दा पारदर्शी, जवाफदेही र सहभागितामूलक प्रक्रिया अवलम्बन गर्न आवश्यकता अनुसार सार्वजनिक सुनुवाई, खर्च सार्वजनिकीकरण, सामाजिक लेखापरीक्षण लगायतका कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
जनप्रतिनिधि र कर्मचारीहरुको आचारसंहिता पालनालाई पूर्ण प्रभावकारी बनाउन समीक्षा गर्दै आवश्यक परिमार्जन गरिनेछ ।
नागरिक वडापत्र मार्फत सेवाग्राहीलाई जानकारी गराउने नीतिलाई व्यावहारिक बनाइनेछ ।
नगरपालिकाको सेवाप्रवाह तथा कामकारबाहीलाई छिटो, छरितो चुस्तदुरुस्त र व्यवस्थित गर्न कर्मचारीका लागि आवश्यक प्रोत्साहन तथा उत्प्रेरणाका क्रियाकलापलाई निरन्तरता दिइनेछ ।
नगरपालिकाको स्वीकृत दरबन्दीमा कार्यरत करार, ज्यालादारी, सामाजिक परिचालकका रुपमा कार्यरत कर्मचारीलाई प्रदान गर्दै आएको सेवा सुविधाहरुलाई निरन्तरता दिइनेछ ।
आयोजना र कार्यक्रमको तर्जुमा, अनुगमन तथा मूल्याङ्कन गर्ने कार्यमा तथ्याङ्क, भौगोलिक सूचना प्रणाली, स्रोत नक्सा तथा गरिबी नक्शाङ्कनको प्रयोगलाई अझ प्रभावकारी रुपले लागू गरिनेछ ।
जग्गा प्राप्त भएका वडाहरुको कार्यालय भवन निर्माण गर्ने कार्य सम्पन्न भई सकेको छ । वडा कार्यालयहरुलाई वडा सेवा केन्द्रको रुपमा विकास गरिनेछ । सेवा केन्द्रमा सुरक्षा, स्वास्थ्य, सभाहल, मिनी कवर्ड हल तथा नगरपालिका भित्र रहेका सबै विषयगत कार्यालयलाई सेवा प्रवाह गर्ने थलो बनाउन पहल गरिनेछ ।
जनप्रतिनिधि र कर्मचारीहरुको क्षमता विकास योजना, २०७९ अनुसार आवश्यक कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
नगरपालिका र वडा कार्यालयबाट प्रदान हुने सेवालाई चुस्तदुरुस्त बनाउन आवश्यक समन्वय र सहकार्य गरिनेछ ।
अन्तर शाखा समन्वयका लागि विशेष कार्ययोजना बनाई लागू गरिनेछ ।
नगर क्षेत्रभित्र सञ्चालित योजना तथा कार्यक्रमहरुको अनुगमन गरिनेछ ।
कार्यालयमा आर्थिक अनुशासन कार्यमा सहयोग पुर्याउने विभिन्न Slogan हरुको व्यवस्था गरिनेछ ।
नगर प्रहरी र विपद्को समयमा खटिने कर्मचारीहरुलाई तालिम दिई आफ्नो कार्यक्षेत्रको काममा खटिन प्रोत्साहित गरिनेछ ।
नगरपालिका अन्तरगतका सबै वडा कार्यालयहरुमा कामको चापलाई मध्यनजर गरी कर्मचारीको उचित व्यवस्थापन गरिनेछ ।
दमक नगरभित्र रहेका विषयविज्ञहरु पहिचान गरी अभिलेखीकरण गरिनेछ । साथै त्यस्ता विज्ञहरुको विज्ञतालाई नगरको विकासका लागि उपयोग गरिनेछ ।
आन्तरिक नियन्त्रण प्रणाली
नेपालको प्रचलित कानुनले तोकेबमोजिम आन्तरिक लेखापरीक्षण र सम्परीक्षण गर्ने कार्यलाई निरन्तरता दिइने छ ।
नगरपालिकाको क्षेत्राधिकार अन्तर्गतका निकायहरु, वडा कार्यालय, विद्यालय र आधारभूत एवम् शहरी स्वास्थ्य संस्थाहरुलाई समेत लेखापालन र जिन्सी व्यवस्थापन सम्बन्धी तालिम प्रदान गरी बेरुजु नियन्त्रणका लागि सक्षम बनाइने छ ।
राजस्वका दरहरुको जानकारी साथै आर्थिक वर्षमा हुने राजस्वका दायरा वृद्धिका लागि वडा कार्यालय र सम्बन्धित निकायसँग अन्तरकृया कार्यक्रम सञ्चालन गरिनेछ ।
दमक नगरपालिकाको बेरुजु नियन्त्रणका लागि उपभोक्ता समिति, सम्बन्धित शाखा र विभागहरुलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिनेछ ।
महालेखा परीक्षकको कार्यालयले बेरुजु कायम गरी लामो समय सम्म फर्छ्यौट हुन नसकेका बेरुजुको एकिकृत लगत कायम गरी फर्च्योटका लागि आवश्यक पहल गरिनेछ।
आन्तरिक नियन्त्रण प्रणाली र आन्तरिक अनुगमन कार्यविधि कानुन तर्जुमा गरी स्वमुल्याङ्कन र वित्तिय जोखिम मुल्याङ्कन सुचकहरुमा सुधार ल्याउनुका साथै बेरुजु नियन्त्रण गरिनेछ।
राजश्व परिचालन
तोकिएको समयमै कर बुझाउने उत्कृष्ट करदातालाई छनौट गरी सम्मान गरिनेछ ।
राजश्व संकलन कार्यलाई प्रभावकारी बनाउन दमक उद्योग वाणिज्य संघ, आन्तरिक राजश्व कार्यालय र अन्य सरोकारवाला संस्थाहरूसँग समन्वय र सहकार्य गरिनेछ ।
आ.व. ०७९/८० देखि राजश्व भुक्तानीका लागि इ-पेमेन्ट प्रणाली लागू गरिनेछ ।
नगरपालिकाले लिने सबै किसिमका राजश्वहरू क्रमशः सफ्टवेयर प्रणालीमा आवद्ध गरिनेछ ।
नेपाल चाइना इण्डष्ट्रियल मैत्री पार्क सञ्चालनमा आएको १० बर्षसम्म स्थानीय कर छुट गरिनेछ ।
वैदेशिक अध्ययनमा जाने विद्यार्थीहरूलाई सम्पत्ति मूल्यांकन दस्तुरमा ७५ प्रतिशत छुट दिइनेछ ।
लामो समय देखि वक्यौताको रूपमा रहेको व्यवसाय करलाई करको दायरामा ल्याउन त्यस्ता बक्यौता रहेका करदाताले कर २०७९ पौष मसान्त भित्र बुझाउन आएमा पछिल्लो ३ आर्थिक बर्षको व्यवसाय कर लिई सो मा लाग्ने जरिवाना र बाँकी अवधिको वक्यौता रहेको व्यवसाय कर छुट गरिने छ ।
महिला उद्यमी समुह दर्ता गर्दा लाग्ने व्यवसाय कर मिनाहा गरिनेछ ।
शहरी विकास तथा भवन निर्माण
दमक-3 स्थित भ्यू टावर आसपास पहिलो चरणमा करिब 50 विगाहा जग्गा land pooling मार्फत आधुनिक बजार सहितको व्यवस्थित बसोबासको रुपमा विकाश गरीनेछ ।
वस्ती विकास, शहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत निर्माण मापदण्ड २०७२ लाई पूर्ण रुपमा पालना गर्दै भूकम्पबाट हुने क्षतिलाई न्यूनिकरण गर्न घर नक्सा पासलाई अझ व्यवस्थित गर्दै लगिनेछ ।
यसै आ.व. बाट घर नक्सापास प्रक्रियाका लागि Digital Permit System लागू गरिनेछ ।
घर बनाउने निर्माणकर्मीको सुरक्षाका लागि मजदुर भलाई तथा सुरक्षाकोष स्थापना गरिनेछ । उक्त कोषमा निर्माण व्यवसायी र घरधनीले समेत लागत व्यहोर्ने गरी निर्देशिका बनाई लागू गरिने छ ।
मुख्य शहरी क्षेत्रमा निजी तथा सामुदायिक भवन निर्माण गर्दा अण्डरग्राउण्ड पार्किङको प्रावधान राखी नक्सा पेश गरेमा सो मा लाग्ने दस्तुरमा २५ प्रतिशत छुट गरिने छ ।
दमक बजारको सौन्दर्यकरणका लागि नगरमा रहेका होर्डिङ बोर्ड र विज्ञापन पोष्टरहरुको उचित व्यवस्थापन गरिनेछ ।
बजार क्षेत्रमा रहेका खाली जमिनलाई भाडामा लिई सार्वजनिक निजी साझेदारी (PPP) मोडलबाट सशुल्क पार्किङको व्यवस्था गरिनेछ ।
उज्यालो दमक निर्माणका लागि नगर क्षेत्रभित्र रहेका सडक बत्तीहरुको पोल नम्बरिङ गरी सम्बन्धित वडा समिति मार्फत टोल क्षेत्रमा पर्ने सडक बत्तीको संरक्षण र मर्मतका लागि टोलसँग साझेदारी गरी व्यवस्थापन गरिने छ ।
विद्युत विस्तार हुन बाँकी रहेका टोल बस्तीहरुमा विद्युत प्राधिकरणसँगको सहकार्यमा आ.व. 079/80 मा विद्युतीकरण गरिने छ ।
विद्युत भोल्टेजको सुधार गर्ने कार्यका लागि प्रदेश तथा संघीय सरकारसँग पहल गरिनेछ ।
नगर क्षेत्रभित्र रहेका खोलाखोल्सीहरुको मापदण्ड तोकी कार्यान्वयन गरिने छ ।
नगर क्षेत्रभित्र रहेका सडक बत्तीहरुको दिगो सञ्चालनका लागि उपभोक्तालाई जिम्मेवार बनाइनेछ ।
आ.व. 079/80 मा दमक नगरपालिका क्षेत्रको रतुवा खोलाबाट मावा खोलासम्म राजमार्गमा सडक बत्ती जडान कार्यलाई पूर्णता दिइनेछ ।
दमक-६ मा नमूना बजार निर्माण सम्पन्न भई सञ्चालनमा आएको र यसलाई सन्ध्याकालीन तथा सुन्दर शान्त बजारको रुपमा सञ्चालन गर्न सरोकारवालाहरुसँग समन्वय गरि आवश्यक प्रक्रिया अगाडी बढाइनेछ ।
दमक ७ स्थित पंचमुखी टोल र पशु हाटमा रहेको दमक नगरपालिकाको जमिनमा विस्तृत परियोजना प्रस्ताव तयार गरी व्यवस्थित बजार निर्माण गरी सञ्चालन गरिनेछ ।
दमक १० स्थित सेतुमारी बजारको निर्माण कार्य शुरुवात भइसकेकोले बाँकी कार्यहरुलाई आ.व. 079/80 मा निरन्तरता दिइनेछ ।
दमक नगरपालिकाबाट नगर बस सञ्चालनका लागि यातायात व्यवसायीहरुसँग सहकार्य गरी सञ्चालन गर्ने व्यवस्था मिलाइने छ ।
नगरपालिकाको स्वामित्व र भोगाधिकार कायम भएका एवम् सरकारी ऐलानी पर्ती जग्गामा भएको अतिक्रमण नगरपालिकाले हटाउने छ । नगरपालिकाको नाउँमा रहेका एवम् सरकारी ऐलानी पर्ती जग्गाको अतिक्रमण हटाउँदा भूमिहीन, सुकुम्बासीहरुलाई नगरपालिकाले उपयुक्त स्थानमा घर निर्माण गरी बसोवासको व्यवस्था मिलाइनेछ ।
नगर क्षेत्रभित्र सवारी यातायात र पार्किङ व्यवस्थापनका लागि यातायात तथा ट्राफिक व्यवस्थापन कार्यविधि, २०७६ लाई समसामयिक बनाई कार्यान्वयन गर्न आवश्यक बजेटको व्यवस्था गरिनेछ ।
घरनक्सा पास गर्दा घरको अगाडि मापदण्ड अनुसारको पक्की नाला वा कम्तीमा Protection Wall निर्माण गर्ने नीति लागू गरिनेछ ।
नगर क्षेत्रभित्र निर्माण भइसकेका तथा नयाँ निर्माण हुने सबै किसिमका निजी तथा सार्वजनिक भवनहरुको नक्सापास अनिवार्य रुपमा गर्नुपर्ने नीति लागू गरिनेछ ।
सञ्चार तथा सूचना प्रविधि
सूचना प्रविधि
दमक नगरपालिका कार्यालय र मातहतका सबै वडा कार्यालय, स्वास्थ्य चौकी, आधारभुत स्वास्थ्य चौकीमा सिसिटिभी क्यामेरा जडान गरी नियमित अनुगमन गर्ने प्रणालीको विकास गरिनेछ ।
दमक नगरपालिका र मातहतका सबै कार्यालय, दमक अस्पताल तथा बसपार्क लगायत सार्वजनिक स्थलमा निशुल्क वाइफाइको सेवा उपलब्ध गराइनेछ ।
पालिकाको कार्यालय र मातहतका सबै कार्यालयहरुमा साझा र एकीकृत प्रणाली, Office Automation को प्रयोगलाई निरन्तरता दिइनेछ ।
दमक नगरपालिका, वडा कार्यालय, स्वास्थ्य चौकी, विद्यालयहरुमा इ-हाजिरीलाई निरन्तरता तथा नभएका स्थानहरुमा थप गरि अनुगमन गर्ने व्यवस्था मिलाइनेछ ।
सेवा प्रवाहलाई प्रविधिमैत्री बनाई Paperless Governance को अवधारणा विकास गरिनेछ ।
आ॰ व॰ ०७९/८० देखि घरनक्सा पासका लागि E-Building Permission System लागू गरिनेछ।
GPS प्रणालीमा आधारित House Numbering तथा Street Addressing गरि प्लेट टाँस गरिनेछ । नगरपालिकाको GIS based Infrastructure Mapping, Resource Mapping गरी Open Data Portal विकास गरिनेछ ।
सुशासन तथा शाखागत रिपोर्टिङको लागि प्रणाली विकास गरिनेछ ।
सबै सामुदायिक विद्यालयहरुमा कम्तीमा १ वटा कम्प्युटर ल्याव सहितको अनलाईनबाट समेत शिक्षण सिकाई क्रियाकलाप गर्न सकिने व्यवस्था मिलाइने छ।
दमकको स्वास्थ्य चौकि तथा आधारभुत स्वास्थ्य चौकिवाट क्रमश Tele Medicine, Online Reporting सेवा प्रवाह सुरु गरिनेछ ।
गुनासो व्यवस्थापन केन्द्र, Call Center, सूचना केन्द्रको सुरुवात गरिने छ।
दमक नगरपालिका तथा सबै वडा कार्यालयहरुमा, विभिन्न चोकहरुमा डिजिटल सूचना पाटीको व्यवस्था गर्दै लगिनेछ।
पौष मसान्तअघि सम्पुर्ण करदाताहरुलाई कर बुझाउन Bulk SMS मार्फत जानकारी गराउने प्रणालिको विकास गरिने छ।
युवाहरुलाई रोजगारीको सुनिश्चितता तथा सिप विकासको लागि Networking, Graphics, Software Developement, App Development आदिको Incubation Program लागू गरिने छ।
नगरका बजार क्षेत्र तथा अन्य ठाउँहरुमा दमक उद्योग वाणिज्य संघ तथा अन्य विभिन्न संघ संस्था हरुसँगको सहकार्यमा CCTV जडान गरिने छ।
नगरपालिकाको वेवसाईटलाई अध्यावधिक राखी महत्वपूर्ण निर्णय, जानकारी र सूचनाहरुलाई वेवसाईटमा राख्ने कार्यलाई प्रभावकारी बनाइनेछ।
दमक अस्पतालमा Queue Management System, Free Wifi, IT Friendly Waiting room को व्यवस्था मिलाइने छ।
दमक नगरपालिकाको डाटा सेन्टरलाई थप व्यवस्थित गरिने छ ।
सञ्चार
व्यावसायिक पत्रकारितालाई प्रवर्धन गर्दै नगरपालिका भित्र दर्ता तथा सूचिकृत भई दमकलाई कार्यक्षेत्र बनाएर संचालन भएका संचार माध्यमहरुलाई आवश्यक सहयोग गरिने छ ।
नगरपालिकाका गतिविधिहरुका बारे आम नगरवासी समक्ष सुसूचित गर्न समय समयमा पत्रकार सम्मेलन मार्फत जानकारी गराईनेछ।
नगरपालिकाका समग्र गतिविधिहरुलाई चौमासिक बुलेटिन प्रकाशन गरी सार्वजनिक गरिने छ।
दमक नगरभित्र स्थापना भई संचालनमा रहेका एफ॰ एम॰ रेडियो, टेलिभिजन, पत्रपत्रिका, अनलाईन खबर तथा संचार माध्यमहरुसँग सहकार्य गर्ने नीतिलाई निरन्तरता दिईनेछ ।
संस्कृति र पर्यटन प्रवर्द्धन
विराट बुद्ध पार्क निर्माण कार्यको विस्तृत परियोजना प्रतिवेदन बमोजिम घेराबारा निर्माण गर्ने कार्य भइरहेको छ । आर्थिक वर्ष 079/80 मा वातावरणीय प्रभाव मूल्यांकनको कार्य सम्पन्न गरी डि.पि.आर. बमोजिम थप निर्माण कार्य अघि वढाउन संघीय सरकारसँग पहल गरिनेछ ।
दमक नगरको पर्यटन प्रवर्द्धन तथा विकासका लागि नगरस्तरीय पर्यटन प्रवर्द्धन समिति बनाई पर्यटन पूर्वाधार विकास तथा पर्यटन प्रवर्द्धन योजना तयार गरिनेछ ।
दमकस्थित भुटानी शरणार्थीहरूको शिविर रहेको स्थानलाई भुटानीहरूको साँस्कृतिक पहिचान सहितको शरणार्थी संग्रहालय निर्माण गरी आकर्षक पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न शिविरमा लामो समयदेखि बसोबास गरी तेस्रो मुलुकमा पुनर्वास गएका र शिविरमा रहेका भुटानी शरणार्थी, दातृ निकायहरू, नेपाल सरकार र प्रादेशिक सरकारसँग समेत उक्त परियोजना सञ्चालन गर्न साझेदारी गरिनेछ ।
दमक वडा नं. ८ मा बहुजातीय संग्रहालय निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन तयार गरिनेछ ।
दमक नगरपालिका क्षेत्रभित्रका ग्रामथान (महाराजथान) को जग्गालाई विष्तृत योजना निर्माण गरी साँस्कृतिक र मनोरञ्जनात्मक पार्कको रूपमा विकास गरिनेछ ।
दमक नगरपालिका वडा नं. १० स्थित सिंहदेवी मा.वि. को जग्गामा विज्ञान पार्क (Science Park) निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन निर्माण गर्न नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानसँग सहकार्य गरी निर्माण कार्यलाई अघि वढाइनेछ । दमक ८ को सरस्वती माविको जग्गालाई व्यवस्थापन गरिनेछ ।
दमक नगरपालिका वडा नं. ९ मा रहेको गुम्बा निर्माण कार्यलाई पूरा गर्न साझेदार संस्थाहरूसँग समेत सहकार्य गरिनेछ ।
पर्यटकहरूलाई आकर्षित गर्न दमक नगर गौरवका आयोजनाहरू छिटो र प्रभावकारी कार्यान्वयनका लागि पहल गरिने छ ।
दमक स्थित होटलहरूलाई पर्यटनमैत्री बनाउन आतिथ्यता सम्वन्धी तालिम सञ्चालन गर्ने व्यवस्था गरिने छ ।
व्यापारिक, पर्यटकीय तथा खाद्य मेला र महोत्सवहरूलाई व्यवस्थित बनाउन सहयोग गरिने छ ।
दमक वडा नं. २ मा रहेको शहिद वन वाटिकालाई “दमक पर्यटन पार्क” को रूपमा विकास गर्न विस्तृत परियोजना प्रतिवेदन तयार भैसकेको छ । सो निर्माण कार्यलाई आर्थिक वर्ष ०७९/80 मा संघीय र प्रदेश सरकार तथा नगरपालिकाको संयुक्त लगानीबाट पूरा गर्न तीव्रता दिइनेछ ।
दमक वडा नं. ३ स्थित भुटानी शरणार्थी शिविर उत्तरको चौरीमा सिमसार क्षेत्र निर्माणका लागि संभाव्यता देखिएकोले उक्त स्थानमा विशाल पोखरी निर्माण गर्ने कार्यलाई पूर्णता दिइनेछ ।
आर्थिक वर्ष ०७9/80 मा दमक ७ स्थित दमक रेडक्रस पश्चिम रोज गार्डेन निर्माण कार्य सम्पन्न गरिनेछ ।
संस्कृति संरक्षण र पर्यटन प्रवर्द्धनका लागि प्रथम नागरिक धिमाल जाति एवम् अन्य जनजातिहरूका कला र संस्कृति प्रवर्द्धन सम्वन्धी विशेष कार्यक्रमहरू सञ्चालन गर्नका लागि वजेट व्यवस्था गरिनेछ ।
साहित्य कला, संस्कृति, भाषाको अध्ययन र अनुसन्धानका लागि दमक प्रज्ञा प्रतिष्ठान मार्फत कार्यक्रम सञ्चालन गरिनेछ साथै दमक प्रज्ञा प्रतिष्ठान मार्फत भाषा, साहित्य, कला तथा संस्कृतिको संरक्षण, प्रवर्द्धन र विकासका त्रियाकलापहरू सञ्चालन गर्ने र भाषा, साहित्य, कला तथा संस्कृतिमा योगदान पुर्याउने व्यक्तित्वलाई नगर साहित्य पुरस्कार प्रदान गर्ने कार्यक्रमलाई निरन्तरता दिइने छ ।
प्रदेश स्तरीय प्रज्ञा प्रतिष्ठान स्थापना गर्न संघीय र प्रदेश सरकारसँग सार्थक पहल गरिनेछ ।
वडा नं. ७ र ८ मा रतुवा खोलाको बाँधमा शुरू गरिएको वृक्षरोपण योजनालाई वाकिङ्ग स्ट्रिट (Walking Street) को रूपमा विकास गर्न आवश्यक पहल गरिनेछ ।
संघीय सरकार र प्रदेश सरकारसँगको सहयोग र समन्वयमा सडक सुन्दरता कार्यक्रम सञ्चालन गरिने छ ।
दमकस्थित विभिन्न सार्वजनिक स्थलहरूमा पार्क तथा पर्यटकीय क्षेत्र विकासका लागि निजी क्षेत्रको लगानी आर्कषित गर्ने नीति लिइनेछ ।
दमक नगरपालिकाका पर्यटकीय गन्तव्यहरूमा फ्रि वाइफाइको व्यवस्थाका लागि सम्बन्धित सेवा प्रदायक संस्थासँग समन्वय गरी इन्टरनेट जडान कार्य अघि बढाइनेछ ।
नगर क्षेत्रभित्र रहेका धार्मिक, साँस्कृतिक, पुरातात्विक स्थानहरू मठमन्दिर, गुम्बा, ग्रामथान तथा महाराजथान, माङ्गहिम, मदरसा, चर्च आदिको संरक्षण गरिने छ र आर्थिक वर्ष 079/80 मा त्यस्ता स्थानहरूको छुट्टै प्रोफाइल तयार गर्ने कार्यलाई पूर्णता दिइनेछ ।
दमक ३ मा रहेको ऐतिहासिक भूकम्प दरार रहेको क्षेत्र संरक्षण र सम्वर्द्धन गरी पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न विस्तृत परियोजना प्रतिवेदन तयार गरिनेछ ।
दमक स्थित होटल तथा लजहरूको अनुगमन तथा मूल्यांकन गरी मापदण्ड अनुसार सञ्चालन भएकाहरूलाई सम्मान गरिनेछ ।
दमक नगरपालिका वडा नं. १० मा रहेको इन्द्रेणी तालको विस्तृत परियोजना प्रतिवेदन तयार भई बहुवर्षीय निर्माण कार्य प्रारम्भ भइसकेको छ । एक किलोमिटर भन्दा लामो सो तालको संरक्षण र विकास गरी आकर्षक पर्यटकीय क्षेत्रको रूपमा विकास गर्दै लगिनेछ, साथै दमक नगरमा रहेका पशुपति सिमसार, लाजेको बाँध लगायत अन्य सबै ताल र सिमसार क्षेत्रको संरक्षण र विकासलाई निरन्तरता दिइनेछ ।
दमक नगरपालिका वडा नं. ७ र ८ मा रहेको रातेहोलीको विस्तृत परियोजना प्रतिवेदन तयार गरी आकर्षक पैदल मार्गको रूपमा विकास गरिने छ ।
कला, संस्कृतिको प्रवर्द्धन गर्नका लागि दमक ९ स्थित कदम थिएटरलाई थप व्यवस्थित गर्नका लागि संघ तथा प्रदेश सरकारसँग समन्वय गरिनेछ ।
सार्वजनिक निजी साझेदारी र गैरसरकारी संस्था
नगरपालिकाको सिमित साधन र स्रोतबाट अधिकतम उपलब्धि हासिल गर्न निजी क्षेत्र आकर्षित हुने खालका ठूला तथा आयमूलक आयोजना र कार्यक्रमहरू निर्माण तथा सञ्चालन गर्दा सार्वजनिक निजी साझेदारीको अवधारणा अनुसार अघि वढाउने नीति लिइनेछ ।
द एसिया फाउण्डेशन अन्तर्गत स्थानीय सरकार सबलिकरण (CEO) कार्यक्रमबाट दमक नगरपालिकामा सञ्चालित कार्यक्रमलाई निरन्तरता दिई नगरको विकास र सेवा प्रवाहको क्षेत्रमा थप सहयोगका लागि समन्वय र पहल गरिने छ ।
दमक नगर क्षेत्रमा रहेका चिस्यान गृह (Cold Storage) मा कृषकहरूको पहुच वृद्धि गर्न नगरपालिकाले आवश्यक सहयोग, समन्वय र सहजिकरण गर्ने छ ।
इलम प्रशिक्षण केन्द्रको जग्गालाई आयमूलक ढंगले व्यवस्थापन गर्न दमक उद्योग वाणिज्य संघसँग समन्वय गरी विस्तृत परियोजना प्रतिवेदन तयार गरिनेछ ।
सडक सुरक्षा र व्यवस्थापन, पार्किङ तथा मेला, महोत्सव लगायतका कार्यहरूमा दमक उद्योग वाणिज्य संघ, होटल व्यवसायी संघ र सामाजिक संघसंस्थाहरू सँग साझेदारी गरिनेछ ।
जनचेतना, तालिम, अभिमुखीकरण, सशक्तिकरण जस्ता कार्यक्रमहरूमा सामाजिक संघसंस्था र गैर सरकारी संघ संस्थाहरूसँग सहकार्य तथा साझेदारी गरिनेछ ।
दमक उद्योग वाणिज्य संघको सहकार्यमा कार्यक्रम गर्ने गरी बजेट व्यवस्था गर्ने कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
गैर सरकारी संस्थाहरूले कार्यक्रम सञ्चालन गर्दा नगरपालिकासँग समन्वय गरी नगरपालिकाले तोकेको क्षेत्रमा गर्नु पर्नेछ । साथै कार्यक्रमको वार्षिक प्रगति विवरण नगरपालिकामा पेश गर्नुपर्नेछ । यसरी पेश भएको कार्यक्रम नगरपालिकाको बुलेटिनमा प्रकाशन गरिने छ ।
बजार अनुगमन तथा उपभोक्ता हित संरक्षण
खाद्य प्रयोगशाला पूर्ण रुपमा सञ्चालनमा ल्याइने छ ।
खाद्य प्रयोगशालाको कार्य अझै प्रवाभकारी बनाउन आवस्यकता अनुसार क्यालिब्रेसन (calibration), मर्मत र सामग्रीहरु खरिद गरिने छ ।
एकाधिकारयुक्त, निषेधित र अनुचित व्यापारिक क्रियाकलापबाट उपभोक्तामाथि हुने क्षति कम गर्न नियमित रुपमा बजार अनुगमन गरिने छ । अनुगमनका क्रममा कुनै खाद्य पदार्थमा समस्या देखिए वा खाद्य पदार्थको गुणस्तर सम्बन्धि गुनासो आएमा बजार अनुगमन कार्यविधि अनुसार खाद्य पदार्थको नमुना लिई खाद्य परिक्षण प्रयोगशालामा सो नमुनाको परिक्षण गरिने छ ।
होटल/ रेस्टुरेन्ट/ क्यान्टिन आदिमा खाद्य स्वच्छतालाई केहि सहज ढंगबाट बुझाउन र लागू गर्नका निम्ति होटल/ रेस्टुरेन्ट/ क्यान्टिन ब्यवसाय सञ्चालन गर्ने सञ्चालकका लागि खाद्य स्वच्छता तालिम आयोजना गरिनेछ ।
दमक नगर छेत्र भित्र रही सञ्चालन गरिदै आएका स्ट्रिट फुड विक्रेताहरुलाई खाद्य स्वच्छता र जी.एच.पी तालिम प्रदान गरिनेछ ।
दमक नगरभित्र रहेर सञ्चालन भईरहेका विभिन्न खाद्य पदार्थ उत्पादक र व्यवसायीहरुलाई खाद्य स्वच्छता (जी.एम.पी /HACCP) तालिम कार्यक्रमको आयोजना गरिने छ ।
दमक नगरभित्र रहेर दुध तथा दुग्धजन्य पदार्थ र मासु तथा मासुजन्य पदार्थ उत्पादक र व्यवसायीहरुका व्यवसायी लागि खाद्य सुरक्षा GMP/HACCP तालिम प्रदान गरिनेछ ।
शिक्षक, विद्यार्थी लगायत विभिन्न वर्ग र समुहहरुमा खाद्य स्वच्छता तथा पोषण तालिम आवश्यकता अनुरुप सञ्चालन गरिनेछ ।
उपभोक्ता हित अधिकार सम्बन्धमा परिचय र कानुनी व्यवस्था बारे अभिमुखिकरण कार्यक्रम गरि उपभोक्ता भेला प्रचार कार्यक्रम गरिने छ।
उपभोक्ता हित संरक्षण सम्बन्धमा पम्प्लेट/ब्यानर छपाई र संचार मध्यमहरुबाट प्रचार प्रसार गरिनेछ ।
स्थानीय रुपमा उपलब्ध हुने कच्चा पदार्थबाट उत्पादन गर्न सकिने अचार, सुकुटी, खुवा जस्ता प्रसोधित खाद्य प्रशोधन सम्बन्धि प्राविधिक ज्ञान सहितको आधारभूत तालिम प्रदान गरिने छ ।
रोजगार
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत हाल प्रचलनमा रहेका कानुन बमोजिमका कार्यक्रमहरु व्यवस्थित र प्रभावकारी रुपमा सञ्चालन गरिनेछ ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को प्रावधान बमोजिम आफ्नो क्षेत्रभित्रका बेरोजगार व्यक्तिहरुको तथा रोजगारदाताहरुको तथ्याक संकलन र अद्यावधिक गरिनेछ ।
रोजगारी सिर्जनाका लागि स्थानीय तहका निजी तथा गैरसरकारी संस्थाहरुसँग आवश्यक समन्वय, सहयोग र सहकार्य गरिनेछ ।
मन्त्रालय र व्यवसायिक तथा सीप विकास तालिम प्रतिष्ठानसँगको समन्वयमा बजारको माग अनुरुपको व्यवसायिक तथा सीपमूलक तालिम कार्यक्रम सञ्चालन गरिनेछ ।
दमक नगर युवा स्वरोजगार कोष सञ्चालन कार्यविधि, २०७६ बमोजिम उक्त कोष सञ्चालन गरिनेछ ।
प्रत्येक वडामा युवा स्वरोजगार समूह गठन गरी क्षमता अभिवृद्धि गरिनेछ ।
विविध
समपुरक अनुदानको आयोजनाको सञ्चालनका लागि आवश्यक बजेटको व्यवस्था गरिनेछ ।
प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनका लागि नगरपालिकामा रोजगार सेवा केन्द्र स्थापना भैसकेको छ । यस नगरपालिकाबाट सञ्चालन हुने आयोजना कार्यक्रमहरूबाट वढी भन्दा वढी स्थानीय रोजगार सृजना हुने गरी कार्यक्रमको आधारमा रोजगारीका अवसरहरू सिर्जना गरी “नजाऊँ विदेशमा, सम्भव छ आफ्नै ठाँउमा” भन्ने अभियानका साथ आयोजना र कार्यक्रम सञ्चालन गरिने छ ।
नगरको विकासका लागि स्थानीय बुद्धिजीवी, समाजसेवी, बिषय बिज्ञ, देश भित्र तथा बाहिर बसोवास गरेका दमकेलीहरूसँग दमकको सर्वाङ्गीण विकासमा सहकार्य गर्न आव्हान गरिनेछ ।