पृथ्वीराजमार्गस्थित धादिङको गल्छी गाउँपालिका वडा नं ६ बैरेनीबजारमा आज बिहान भएको दुर्घटनामा एक जनाको निधन भएको छ भने ४० घाइते भएका छन् ।
नुवाकोटको बाँसगडीबाट अमलेखगञ्जतर्फ जाँदै गरेको बा२ख ६२६८ नंको जन्ती बोकेको बस सडकको खाल्डो छल्न लाग्दा दुर्घटना भएको थियो ।
दुर्घटनामा घाइते भएका ४० जनामध्ये १७ जनाको अवस्था गम्भीर भएकाले थप उपचारका लागि काठमाडौँ ट्रमा सेन्टर पठाइएको छ भने २३ जनाको बैरेनी र गल्छीमा रहेको स्वास्थ्य केन्द्रहरुमा उपचार भइरहेको छ ।
त्यस्तै भरतपुर महानगरपालिका–२९ दासढुङ्गामा आज बिहान ट्रककोे ठक्करबाट एक जनाको निधन भएको छ । निधन हुनेमा नाम, थर र ठेगाना नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाका अनुसार मुग्लिनबाट हेटौँडातर्फ जान आउँदै गरेको ना६ख १८९६ नंको ट्रकले ती पुरुषलाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते उनको उपचारका क्रममा भरतपुर अस्पतालमा बिहान ६ः२५ बजे निधन भएको हो । पुरुषलाई ठक्कर दिने ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेको छ । दुर्घटना बिहान ५ः५४ बजे भएको हो ।
त्यस्तै बाँकेको कोहलपुरमा शनिबार भएको मोटरसाइकल दुर्घटनामा एक युवकको निधन भएको छ । कोहलपुर नगरपालिका–११ चौराहास्थित सडकमा भे८प ९६७८ नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका अर्जुन खत्रीको शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा निधन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पबिन्द्र बमले जानकारी दिनुभयो ।
उहाँका अनुसार, मृतक २६ वर्षीय खत्री कोहलपुरका स्थानीयबासिन्दा हुन् । दुर्घटनामा मोटरसाइकलमा सवार कोहलपुर नगरपालिका–११ बस्ने १८ वर्षीय निराजन खत्री घाइते हुनुभएका छन् । उनको शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ ।