विराटचोकः सीमा क्षेत्रमा बस्ने मानिसले पनि राजमार्ग उत्तरमा रहेको वनको उपभोग गर्न पाउनुपर्छ भन्ने अवधारणाले साझेदारी वनको विकास भएको र सो अवधारणा सफल हुँदै गएको उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजयकुमार विश्वासले बताएका छन् ।
लाटीझोडा साझेदारी वन व्यवस्थापन समूहको ५ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले नेपाल भारत सीमा नाकामा बस्ने व्यक्तिले पनि राजमार्ग उत्तरको वनको हेरचाह गर्न सक्ने अवधारणा साझेदारी वनको रहेको बताए ।
बुधबार सुन्दरपुर साना किसान कृषि सहकारी संस्थाको सभाहलमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रदेशमा ल्याब नभएका कारण टिस्यु कल्चर प्रविधिबाट बिरुवा उत्पादन गर्न चाहे पनि गर्न नसकिएको बताए ।
फरक प्रसङ्गमा बोल्दै उनले प्रदेश सरकारले मुख्यमन्त्री ग्रामीण सडक योजनाअन्तर्गत ८६ ओटा सडक बनाइरहेको बताए । २८ करोडदेखि ८० करोडसम्म बजेट छुट्याइएका ती योजना निर्माण भइसकेपछि देशवासीले सङ्घीयतामा भएको विकासको अनुभव गर्न पाउने बताए ।
एउटा निर्वाचन क्षेत्रमा एउटा पक्की पुल र एउटा झोलुङ्गे पुल बनाउने योजनाअनुसार काम भइरहेको र कुनैकुनै निर्वाचन क्षेत्रमा २÷२ ओटा पुल पनि बनिरहेको उनको भनाइ थियो । स्थानीय र प्रदेश सरकारले एउटै योजनालाई महत्व दिई बजेट छुट्याउँदा मात्रै प्रभावकारी ढङ्गले काम हुने हुनाले त्यसै अनुसार काम गर्न थालिएको उनको भनाइ थियो ।
प्रदेशको नाम यही अधिवेशनबाट टुङ्गो लाग्ने पनि उनको भनाइ थियो । प्रदेश राजधानीका लागि कम्तीमा पनि ५० बिघा जग्गा चाहिने र त्यसको खोजी भइरहेको उनले बताए । कोरोनाको भाइरस नेपालमा नभित्रियोस् भन्ने उद्देश्यले सबै विमानस्थलमा हेल्थ डेस्कको व्यवस्था गरिएको पनि उनले बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै बुढीगंगा गाउँपालिकाका अध्यक्ष बालचन्द माझीले साझेदारी वनलाई स्थानीय तहले गर्नुपर्ने सहयोग गर्न आफू तयार रहेको बताए । शीतलहरको समयमा साझेदारी तथा सामुदायिक वनले दाउरा दिएर सहयोग गरेको उनले बताए ।
साझेदारी वन व्यवस्थापन समूहका प्रदेश संयोजक प्रकाश पौडेलले साझेदारी वन व्यवस्थापनको क्रममा धेरै चुनौती आएको बताए । साझेदारी वनको बारेमा रहेको भ्रम चिर्न लाटीझोडा साझेदारी वन व्यवस्थापनले महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ थियो ।
डिभिजन वन कार्यालय मोरङका डिभिजनल वन अधिकृत विशाल घिमिरेले वनको व्यवस्थापन नगरी वनबाट आम्दानी लिन नसकिने बताउँदै साझेदारी वन व्यवस्थापनको बारेमा जनमानसले भर्खर बुझ्न थालेको बताए । बारा जिल्लाबाट शुरु भएको साझेदारी वन व्यवस्थापन हाल प्रदेश नम्बर १ मा मोरङमा रहेको उनले जानकारी दिए ।
सिर्जना सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष भक्तिप्रसाद सिटौलाले लगाइएका बिरुवाको संरक्षणमा विशेष ध्यान दिनुपर्ने बताएका थिए । कार्यक्रममा वन व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्ने कर्मचारी तथा अन्य व्यक्तिलाई सम्मान गरिएको थियो ।
रेञ्जर ओम अधिकारीले लाटीझोडा साझेदारी वन व्यवस्थापन समूहले गरेको प्रगति विवरण प्रस्तुत गरेका थिए । समूहका संयोजक रुद्रप्रसाद पोखरेलले वार्षिक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा मीरा ढकालले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् । कार्यक्रम शंकर देवानले सञ्चालन गरेका थिए ।