विराटनगर, असार ११ गते, गएरातिदेखि परेको अविरल वर्षाका कारण विराटनगरको जनजीवन प्रभावित बनेको छ । निर्माणको चरणमा रहेको विराटनगर महानगरपालिकामा नाला र ढल निर्माणको काम सम्पन्न नहुँदा विराटनगर यसपटक पनि डुबानमा परेको हो ।
बाढीका कारण व्यापार, व्यवसाय, यातायात, कलकारखाना, सरकारी कार्यालयका कामसमेत प्रभावित भएको छ । विराटनगरको बखरी, बुधनगर, तीन टोलिया, रानी, बर्मेली टोल, इक्राहीलगायतमा सडकमा पानी जमेको छ । विराटनगर महानगरपालिका वडा नं. ३, ४, ५, ६, ११, १२, १४, १५, १६, १७, १८ र १९ मा भारी वर्षाका कारण डुबानमा परेको छ । अधिकांश वडाहरुमा घरभित्र पानी पसेको छ ।